कविता : म जस्तो छोरो नजन्माउ आमा

 सीता पौडयाल

मुलुकमाथि घात गर्ने
जनताको पेटमा लात मार्ने
मजस्तो अर्को एउटा छोरो
नजन्माउ आमा अब फेरि
धेरै भए मजस्ता
छोराहरु नेपालमा
जसलाई धान्न गाह्रो पर्नसक्छ
आफ्नो मान्नै अप्ठ्यारो पर्नसक्छ
नेपाल आमालाई
तिमीलाई पो सहने बानी परेको छ
छोरो वेइमान परेको छ
गर्भदेखिको व्यथा
प्रशवको त्यो अन्नत पीडा
नवजात शिशुको रोदनमा
तिमी भुल्ने
नालायक म हरपल छल्ने
तिमीले सहन सक्छौ
नेपाल आमाले सक्ने छैनन्
धेरै जन्मिसके मजस्तारु आवाराहरु
बोटै कुहाउने गवाराहरु
भो अति धेरै भए हरामहरु
म चाहान्नँ आमा
त्यही प्रशव व्यथा सहँदै
छोराहरु हुने आशामा
यस धर्तीमा आउन थप मोराहरु
मजस्तै छोरो जसको
रङ्ग, कदमा भिन्नता त आउला, तर
स्वभाव उही लिइएर आउने
आमालाई बेची पिएर आउने
ठ्याक्कै मेरो जस्तै
मति,
मेरै जस्तो गति
र मेरो जस्तो नियति
त्यसैले म खबर्दार गर्छु आमा तिमीलाई
मजस्तो छोरो फेरि नजन्माउ आमा
रामको आशमा हराम नजन्माउ

याद छ मलाई
स्कूले जीवनमा
साथीहरुभन्दा चञ्चले म
आँट र हिम्मतले भरिएको अञ्चलै म
ठूल्दाइ र साथीहरुको लहलहमै
लागेर
राजनीतिबाट देश सुधार्ने गीत गाएर
बुजुर्वा शिक्षा गरेर बहिष्कार
क्रान्तिकारी विचारको गरेर आविष्कार
आज कहाँबाट कता पुगेछु आमा ?
न रह्यो आस्था
न रह्यो विश्वास ।

निन्द्रा नपरेको रातमा
सम्झन्छु ती बाँडेका
सस्ता भाषण
र रित्ता आश्वासन
आउने गर्छन् झलझली मेरै चित्र
मानसपटलमा
टेरिकटनको सट, पोलिस्टरको पाइन्ट
अनि
हात्ती छाप चप्पल पटपट पड्काउँदै
एकतर्फ झोला भिरेर हिडेका
ती दिनहरु
सामन्त र व्यवस्था फाल्न उर्लिएका
ती भीडहरु
लुक्दै छिप्दै तिमीले दिएको जाउलो
देशका लागि केही गर्ने उखर्माउलो
गरिब किसानका हितका ती कुराहरु
मेटाउने असमानता र गरिबीका ती चिराहरु
समयको हुरिले उडाएर हो या
आफ्नै महत्वाकांक्षाले कता पु¥यायो
नेपालीको अनुहारमा खुशी हेर्ने
देशको मुहार नै फेर्नेसम्मका सपना
बोकेर हिडेका हामी
फेर्ने कुरामा तिम्रो छोरो नि सफल त भयो तर
जनताको दुःखलाई सुखमा होइन आमा
मेरो आफ्नो जीवनस्तरलाई
लुकेर अनि ढुकेर
राजनीतिक गर्दाताकासम्म
म त्यही तिम्रो छोरो थिएँ
तिमीले बन्नु भनेको जस्तै
सोझो र इमानदार
अरुको दुःख सुख बुझ्नसक्ने

एकपछि अर्को सफलता जब
हासिल हुन लागे तब
मभित्र पद, सत्ता र शक्तिको
मोह हाबी हुँदै गएछ, पत्तै पाइन मैले आमा
आज आएर बल्ल गहिरो सपनाबाट
ब्युझँदैछुजस्तो लाग्दै छ मलाई
म त्यही तिम्रो छोरो बन्न चाहन्छु तर
अपसोच
निक्कै टाढा पुगेछु म अब
जहाँबाट न त फर्कन सक्छु
न त तर्कन नै सक्छु
हो आमा म राम नभएर हराम भएको छु
तिमी अब मजस्तो छोरो नजन्माउ आमा