राधेश्याम उपाध्याय
भीष्मले पनि भाइ विचित्रविर्यको विवाह गरिदिने विचार गर्दछन् र काँशीराजका तीनवटै छोरी अम्बा, अम्बिका र अम्वालिकालाई युद्धमा जितेर ल्याउँछन् । जेठी अम्बाले मेरो विवाह सल्य राजासँग गर्ने प्रतिज्ञा थियो, तर यो बल जफत युद्धले मेरो सत्य कवोल व्यर्थ जाने भयो भनेर आफूलाई छोडिदिन अनुरोध गरिन् र भीष्मले पनि अम्बाको सत्यवचन सुनेर जाउ भनेर छोडिदिए । बाँकी दुई दिदीबहिनी अम्बिका र अम्बालिकाको विवाह भाइ विचित्रवीर्यसँग गरिदिए । विचित्रवीर्यको पनि अल्पायुमै मृत्यु भयो । हस्तिनापुरका दुवै राजाको मृत्युपछि राजगद्दी शून्य हुने अवस्था भयो । राजमाता सत्यवती र भीष्म चिन्तित भए ।
सत्यवतीले गंगापुत्र भीष्मलाई राजा भई राज्य सञ्चालन गर्न आदेश दिइन, तर भीष्म वचनबद्घ थिए, उनले मानेनन् । त्यसो भए भाइबुहारी अम्बिका र अम्बालिकाहरुसँग सन्तान उत्पादन गर्न भनिन् । त्यो पनि उनले मानेनन् । किनभने उनले ब्रह्माचार्यमा बस्ने प्रण गरेका थिए । अब के गर्ने सत्यवती चिन्तित भइन् । त्यसपछि विकल्पहरु सोच्दै जाँदा भीष्मको सल्लाहमा व्यासलाई बोलाएर सन्तान उत्पादन गर्न लगाउने सल्लाह भयो । सोही वमोजिम आमा सत्यवतीले व्यासको आह्वान गरिन् । व्यास उपस्थित भए । व्यासलाई पनि कूल रक्षाका लागि बुहारीहरुबाट सन्तान पैदा गर्न अनुरोध गरिन् । व्यासले पहिला मानेनन् । तर पनि आमाको अनुरोध र वंश विनाशबाट बचाउनका लागि राजी भए र मौन स्वीकृति दिँदै म रात्रीमा आउँछु भनि केही नबोली गए । यता सवै नीतिहरु सुनाउँदै जेठी बुहारीलाई पनि राजी गराइयो । रात्रीमा आमाको वचन पूरा गर्न व्यास इच्छा हुँदा नहुँदै पनि आए । व्यास कस्ता थिए भने लामो कपाल, कैला दाह्री–जुँगा भएका भयङ्कर स्वरुप मैलो लँगौटी यस्ता डरलाग्दा व्यासलाई देखेर अम्बिका डराएर आँखा चिम्लिन पुगिन् । व्यासजीको आज्ञानुसार गर्भधारण गरिन् । अम्बिकाबाट दस मास पूरा भएपछि जन्मान्ध अन्धा पुत्र धृतराष्ट्र जन्मिए ।
धृतराष्ट्रबाट राज्य सञ्चालन सहज हुने नदेखेपछि फेरि व्यासलाई बोलाएर कान्छी बुहारी अम्बालिकालाई पठाइयो । अम्बालिका पनि मुनिको स्वरुपलाई देखेर डराइन् र स्वेतरुप देखिइन् । यिनीबाट पनि स्वेत स्वरुपका पाण्डु जन्मन गए । पाण्डु पनि उनले (सत्यवती) चाहेको जस्तो नाति भएन । पुनः व्यासलाई बोलाइयो र जेठी अम्बिकालाई पठाइयो तर अम्बिकाले पहिलेको स्वरुप सम्झेर डराइन् र आफ्नी दासीलाई शृंगारपटार (मेकप) गराएर मुनि व्यासकहाँ पठाइन् । दासीले मुनिको राम्रो सेवा गरिन् र सम्पूर्ण गुणले भरिपूर्ण बालक सञ्जयको जन्म भयो । अब पाण्डुलाई राजा बनाएर सम्पूर्ण राजकाज भीष्मले हेर्न लागे । गान्धार राज्यका राजा सुवलकी छोरी गान्धारीसँग धृतराष्ट्रको विवाह भयो । गान्धारीले पनि आफ्ना पतिको अनुशरण गर्दै आँखामा पट्टी लगाइन र खुशी साथ आफ्ना स्वामीसँग रहन लागिन् ।
यदुवंशमा शुरसेन नाम गरेका राजाले राज्य गर्दथे । तिनकी छोरी गुणवती तथा सिलवती थिइन । उनलाई अर्का राजा कुन्तीभोजले पाल्नका लागि मागे र सुरसेनले छोरी कुन्तिभोज राजालाई दिए । कुन्तिभोजकहाँ अतिथिहरु आइरहन्थे । उनको सेवा सत्कार गर्नु पर्दथ्यो । अतिथिहरुको सेवा सत्कार गर्ने जिम्मा ती बालिकाको थियो । त्यो काममा उनी निपूण पनि थिइन् । कुन्तिभोजकहाँ बढी हुर्केकाले उनको नाम कुन्ती राखिएको थियो । कुनै दिन राजा कुन्तीभोजकहाँ दुर्वासा ऋषि आए । दुर्वासा ऋषिलाई क्रोधित तथा रिसाहा ऋषि भनेर पनि भनिन्छ । ऋषिको सेवा गर्न कुन्ति हाजिर भइन् र सेवाले ऋषिलाई खुशी पारिन । ऋषि खुशी भएर कुन्तिलाई एउटा मन्त्र तथा धेरै–धेरै आशीर्वाद दिए र दुर्वासा ऋषि फर्किए । एक दिन रजश्वला भएको समयमा कुन्ति घाममा बसेकी थिइन् । तातो घामको महशुस भयो । अनायासै ऋषिले दिएको मन्त्र याद आयो र परीक्षण गर्न मन लाग्यो । अञ्जानमै सूर्यनारायणलाई सम्झेर मन्त्र स्मरण गरिन् । श्री सूर्यनारायण हाजिर भए । कुन्ती डराइन् र मबाट अपराध भयो क्षमा गर भन्दै माफी मागिन् । म आएपछि केही न केही दिएर मात्र जान्छु, केही माग भनेर सूर्यले भन्दा कुन्तीले डराएर केही माग्न सकिनन् ।
सूर्य आशक्त भए तिम्रो कौमार्यको रक्षा हुनेछ तिम्रो पुत्र श्रेष्ठ वीर ज्ञानी दानी हुनेछ भनेर ऋतु दान दिएर फर्किए । कुन्तीबाट कवच र कुण्डल सहितका बालक जन्मिए उनी डराइन र बाकसमा राखेर नदीमा बगाइदिइन् । बालकलाई हस्तिनापुर राज्यका भीष्मका सारथी अधिरथ र उनकी पत्नी राधाले भेटाए । उनका सन्तान थिएनन् । उनलाई सन्तान बनाएर पाले । ती बालकले आफ्नो इच्छा र याचकले मागेको दान दिनसक्ने भएकाले पछि उनी दानी कर्ण भनेर प्रख्यात भए ।
पछि कुन्तीको स्वयम्बर भयो । स्वयम्बरमा राजा पाण्डुलाई वरमाला लगाइन र कुन्ती र पाण्डुको विवाह भयो । भद्र नरेशकी छोरी माद्रीसँग पनि पाण्डुको विवाह भयो । पाण्डु दिग्विजयका लागि निस्किए । पृथ्वीका धेरै राजाहरुलाई जितेर असंख्य धनसम्पत्ति राज्यकोषमा जम्मा गरे । यज्ञ यज्ञादि दान धर्म गरे । पृथ्वीमा पाण्डुको यश कीर्ति खुब फैलियो ।
देवककी कन्या मागेर भीष्मले विदुरको विवाह पनि स्नेह साथ गरिदिनुभयो । केही समयपछि राजा पाण्डु आफ्ना दुवै पत्नी लिएर तपस्या गर्न वनतिर लागे । हस्तिनापुर राज्यको राजाको प्रतिनिधिका रुपमा धृतराष्ट्रले काम गर्न लागे । वनमा उनी ठूला शिकारीजस्ता भएर अनेक जीवजन्तु मार्न लागे । त्यही जंगलमा कुनै ऋषिपुत्र मृग बनेर आप्mनी भार्यासँग रतिक्रिडामा लिप्त थिए । त्यही समयमा कुनै विचार नै नगरी रतिक्रिडामा रहेका मृगमृगिणीहरुलाई पाण्डुले अज्ञानबश तिक्ष्ण वाण हाने । वाणको पीडा खप्न नसकेर ऋषिपुत्र चिच्याए । कुनै पनि कामातुर प्राणीलाई मार्न हुँदैन तर तिमीले मलाई माकातुर भएको समयमा मा¥यौ । म तिमीलाई श्राप दिन्छु, जसरी मलाई तिमीले कामातुरका समयमा मा¥यौ त्यसरी नै तिम्रो पनि कामातुर समयमा मृत्यु होस् भन्ने श्राप पाएर पाण्डु खिन्न भए । घर फर्किए र आफ्ना पत्नीहरुलाई ऋषिको श्राप सुनाए । विधिको विधान मानेर मन बुझाए ।
कुनै दिन मुनि व्यास भोजन गर्दछु भनि धृतराष्ट्रका घरमा आउनुभयो । गान्धारीले आतिथ्य सेवाले व्यास मुनिलाई खुशी पारिन् । खुशी भएर व्यासले वरदान माग भने र गान्धारीले आफ्ना स्वामी समान बलिया सय पुत्र मागिन् । मुनिले तिम्रो इच्छा पूरा हुने छ भने र आफ्ना आश्रमतर्फ लागे । गान्धारीले गर्भधारण गरिन तर चौबीस महिना भयो, पुत्र जन्मेनन् । गान्धारी विचलित भइन् र जवर्जस्ती आघातले फलामजस्तो कडा एउटा डल्लो जन्माइन् । उनी रिसाएर फाल्न लागेकी थिइन व्यास मुनि पुग्नुभयो र रोक्नुभयो । सय गोटा घ्यूका घडा र एउटा पवित्र गंगा जलको घडा मागे । मुनि पिण्डलाई पवित्र गंगाजलमा चोवेर निर्मल शुद्घ पारी आफै टुक्रा पार्दै थिए । गान्धारीले एउटा पुत्रीको पनि चाहना राखिन् । मुनिले पिण्डलाई एक सय एक टुक्रा पारेर प्रत्येक घ्यूको घडामा राख्नुभयो । यति काम गरेर मुनि आफ्नो आश्रममा फर्कनुभयो । चौबीस महिनापछि सय घडाबाट एक सय पुत्र र पछाडिको घडाबाट पुत्रीको जन्म भयो । तिनीहरुको नाम क्रमशः १– दुर्योधन, २–दुःशासन, ३–दुश्शल, ४–दुःसल, ५–जलसन्ध, ६–सम, ७–विवैशति, ८–विंद, ९–अनुविन्द, १०–दुर्धस, ११–सुबाहु, १२–दुष्प्रधर्षण, १३–दुर्मर्षण, १४–दर्मुख, १५–दुष्कर्ण, १६–कर्ण÷विकर्ण, १७–शल, १८–सत्वा, १९–सुलोचन, २०–चित्र, २१–उपचित्र, २२–चित्राक्ष, २३–चारुचित्र, २४–शरासन, २५–दुर्मद, २६–दुर्विगाह, २७–विवित्सु, २८–विकटानन्, २९–ऊर्णनाभ, ३०–सुनाभ, ३१–नन्द, ३२–उपनन्द, ३३–चित्रवर्मा, ३४–शरासन, ३५–सुवर्मा, ३६–दुर्विमोचन, ३७–आयोवाहु, ३८–महावाहु, ३९–चित्राङ्ग, ४०–चित्रकुण्डल, ४१–भीमवेग, ४२–भीमवल, ४३–बालाकी, ४४–बलबर्धन, ४५–उग्रायुध, ४६–सुषेण, ४७–कुण्डधर, ४८–महादर, ४९–चित्रायुध, ५०–निषंगी, ५१–पाशी, ५२–वृन्दारक, ५३–दृढवर्मा, ५४–दृढक्षत्र, ५५–सोमकीर्ति, ५६–अनूदर, ५७–दृढसंध, ५८–जरासंध, ५९–सत्यसंध, ६०–सद्सुवाक, ६१–उग्रश्रवा, ६२–उग्रसेन, ६३–सेनानी, ६४–दुष्पराजय, ६५–अपराजित, ६६–कुण्डशायी, ६७–विशालाक्ष, ६८–दुराधर, ६९–दृढहस्त, ७०–सुहस्त, ७१–वातवेग, ७२–सुवार्चा, ७३–आदित्यकेतु, ७४–बह्वाशी, ७५–नागदत्त, ७६–अग्रयायी, ७७–कवची, ७८–क्रथन, ७९–कुण्डीउग्र, ८०–भीमरथ, ८१–धनुर्भर, ८२–वीरवाहु, ८३–अलोलुप, ८४–अभय, ८५–रौद्रकर्मा, ८६–दृढरथाश्रय, ८७–अनाधृष्य, ८८–कुण्डभेदी, ८९–विरवी, ९०–चित्रकुण्ड, ९१–प्रमध, ९२–अमाप्रमाथि, ९३–दीर्घरोम, ९४–सुवीर्यवान, ९५–दीर्घवाहु, ९६–महावाहु, ९७–कनकध्वज, ९८–कुण्डाशी, ९९–विरज, १००–युयुत्सु र छोरीको नाम दुश्शला रहन गयो ।
दुर्योधन जन्मँदा खुब अपसकुन र उत्पाद हुन थाल्यो । स्वान, स्याल, कुकुरहरु रुन थाले, काग मण्डलाकारमा आकाशमा घुम्न थाले, मेघ गर्जन सहित मुसलधारे पानी वर्षा भयो । यस्तो अपसकुन देखेर भीष्म विदुरहरुले नीतिका कुराहरु सम्झाएर यसले कूललाई पिर्ने भएकाले यो पुत्रलाई त्याग गर्न सल्लाह दिन्छन् । तर धृतराष्ट्रले पुत्रमोहका कारणले त्याग्न सकेनन् र त्यागेनन् । क्रमशः …