कांग्रेसलाई बलियो बनाउन एकजुट हुनुपर्नेमा जोड
गोरक्ष समाचारदाता
दाङ, ७ बैशाख । नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि विगतका तिक्ततालाई बिर्सिएर एकतामा लाग्नुपर्ने कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले ‘जरा’ अभियान अन्तर्गत आइतवार घोराहीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका सहभागीले कांग्रेसलाई बलियो बनाउन एकता, सहकार्य र सक्रियताका साथ अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेकोमो जोड दिएका हुन ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्काको सभापतित्व तथा केन्द्रीय सदस्य पवित्राकुमारी अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका सहभागीले नेपाली कांग्रेसको संगठनलाई अझ बलियो बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् । वक्ताले वर्तमान राजनीतिक सन्दर्भमा पार्टीलाई सुदृढ बनाउन आन्तरिक एकता अपरिहार्य रहेको उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितमा काम गर्नु पर्ने धारणा व्यक्त गरेका थिए । साथै, तल्लो तहसम्म सङ्गठन विस्तार गर्दै पार्टीलाई जनतासँग थप नजिक बनाउने आवश्यकतामा पनि जोड दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसले सुरु गरेको जरा अभियानबारे दाङमा खटिएका केन्द्रीय प्रतिनिधि शंकर तिवारीले जानकारी गराएका थिए । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, कांग्रेस दाङ जिल्ला सभापति शङ्करप्रसाद डाँगी, पूर्व जिल्ला सभापति घनश्याम रेग्मी तथा महासमिति सदस्य किरणकिशोर घिमिरेलगायतका नेताहरुले विगतका तिक्तता बिर्सेर संगठन निर्माणमा केन्द्रित हुन आग्रह गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
