Goraksha

National Daily

स्थापना दिवसमा नेविसंघको सहयोग

घोराही, ७ बैशाख । नेपाल विद्यार्थीसंघ दाङले संघको ५७ औँ स्थापना दिवस मनाएको छ । घोराही–१० नारायणपुरमा रहेको मानव सेवा आश्रममा रहेका नागरिकका लागि खाद्यान्न, नगद वितरण गरी संघले स्थापना दिवस मनाएको हो ।

नेविसंघ दाङका कार्यवाहक अध्यक्ष गुरु गौतमको अध्यक्षता तथा नेविसंघका केन्द्रीय सदस्य निरज गिरीको प्रमुख आतिथ्यता एवम् नेविसंघ लुम्बिनी प्रदेशका अध्यक्ष कुलराज पोख्रेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो । त्यस अवसरमा आश्रममा रहेका नागरिकका लागि आठ हजार आठ सय ८० रुपैयाँ नगद, तीन हजार नौ सय रुपैयाँ बराबरको खाद्यान्न तथा दुई हजार तीन सय ८० रुपैयाँ बराबरको सरसफाइका सामग्री हस्तान्तरण गरिएको नेविसंघ दाङका कार्यवाहक अध्यक्ष गौतमले जानकारी दिए ।

नेविसंघ शैक्षिक मुद्दासहित सामाजिक क्षेत्रमा सक्रिय संगठनका रूपमा रहेकाले स्थापना दिवसका अवसरमा सामाजिक काम गरिएको कार्यवाहक अध्यक्ष गौतमले जानकारी दिए । कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य गिरीले नेविसंघ शैक्षिक मुद्दामा केन्द्रित संगठनका रूपमा रहेको भन्दै यसका अलावा संघले आफूलाई विभिन्न समयमा सामाजिक अभियानसँगसमेत आफूलाई जोड्दै आएको बताए ।

यसैगरी विशिष्ट अतिथि प्रदेश अध्यक्ष पोख्रेलले नेविसंघ दाङले सामाजिक सेवा भावका साथ संघको स्थापना दिवस मनाएको भन्दै खुसी व्यक्त गरे । कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति दीपेश डिसी, निवर्तमान सभापति मनोज डाँगी, गणेश विश्वकर्मा, असिम पन्थी, वसन्त कँडेल, जीवन अधिकारीलगायतको सहभागिता रहेको थियो ।