‘वर्तमान सरकारले जनताको चाहना पूरा गर्न सक्दैन’

गोरक्ष समाचारदाता
दाङ, ३० चैत । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले वर्तमान सरकार निश्चित उद्देश्य पूर्तिका लागि गठन गरिएको भन्दै जनताले चाहेको सूशासन, समृद्धि र विकासलगायतका अपेक्षित परिणाम प्राप्त नहुने बताएका छन् । राष्ट्रिय जनमोर्चा दाङले सोमवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव भट्टले सरकार जनमुखी नभई विदेशी स्वार्थ समूहको प्रभावमा सञ्चालन भइरहेको आरोपलगाएका हुन ।

निर्वाचनमा जनताले ठुलो अपेक्षासति राष्टिय स्वतन्त्र पार्टीलाई उम्मेदवारलाई जिताए पनि त्यो पूरा हुन नसक्ने बताए । उनले वर्तमान सरकार संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी प्रणाली लागू गर्ने दिशातर्फ उन्मुख भएको आरोप लगाउँदै यसले मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने खतरा रहेको भन्दै उनले भने,‘अहिलेको शक्ति योजनाबद्ध रूपमा आएको हो । जनताको आधारभूत आवश्यकता, सुशासन र आर्थिक सुधारका विषयमा सुधार गर्नेभन्दा पनि संविधान संशोधनका माध्यमबाट देशलाई अस्थिर बनाउने र अन्तत देश युक्रेनमा जस्तै द्धन्द्धमा फसाउने खतरा रहेको छ ।’

राष्ट्रिय एकता आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै उनले गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिए । जेनजी आन्दोलनका क्रममा दमन गर्ने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र नभएर हिंसात्मक गतिविधिमा उक्साउने वर्तमान गृहमन्त्री सुदन गुरुङलगायतलाई पनि कारवाही हुनुपर्ने बताए ।
पकार सम्मेलनमा भट्टले भने,‘जाँचबुझ आयोगले पूर्वाग्रही रुपमा आन्दोलन दवाउन भूमिका खेल्नेलाई मात्र कारवाही गर्ने भनेको छ, त्यो गलत हो । आन्दोलन दवाउन भूमिका खेल्ने मात्र होइन, हिंसात्मक गतिविधि गर्न उक्साउने वर्तमान गृहमन्त्रीमाथि पनि कारवाही हुनुपर्छ ।’ पत्रकार सम्मेलनको सहजीकरण राष्टिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले गरेका थिए ।