दाङ,२९ चैत । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सुरु भएपछि सेवा क्रमशः प्रभावकारी बन्दै गएको छ। प्रतिष्ठानका युरोलोजिस्ट सर्जन डा सुशील खनियाँको नेतृत्वमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मीसहितको टोलीले सानादेखि ठूला शल्यक्रिया नियमित रूपमा सञ्चालन गर्दै आएको छ।
प्रतिष्ठानका अनुसार युरोलोजी ओपीडी (बाह्य बिरामी विभाग) मार्फत दैनिक ७० भन्दा बढी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन्। प्रतिष्ठानको तथ्याङक अनुसार गत वैशाख १ देखि चैत २१ गतेसम्म युरोलोजी विभागबाट पाँच हजार ७४ जना बिरामीले सेवा लिएका छन । सोही अवधिमा यूरोलोजीतर्फ ६ सय ४९ वटा शल्यक्रिया भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।
यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई बाहिरका सहर जानुपर्ने बाध्यता थियो। तर, प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहित यो सेवा विस्तार भएपछि उक्त समस्या समाधान भएको छ। युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी रोग, प्रोस्टेट, मिर्गौलाको पत्थरी, पित्तथैलीको पत्थरी, पिसाबको नलीसम्बन्धी समस्या, अण्डकोषमा मासु पलाउने वा सुन्निने, पिसाब पोल्ने वा चुहिने लगायतका रोगहरूको उपचार प्रतिष्ठानमा गर्न सकिने युरोलोजीष्ट डा खनियाले जानकारी दिए। उनका अनुसार युरोलोजी सेवा लिने बिरामीको संख्या दिनदिनै बढ्दो क्रममा छ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्राडा जनार्दन पन्थले युरोलोजी सेवा अत्यन्त प्रभावकारी बनेको बताउँदै, स्थानीय स्तरमै विशेषज्ञ उपचार सेवा प्राप्त गर्न पाउँदा बिरामीहरू खुसी भएको जानकारी दिए। डा। खनियाँ लामो समयदेखि प्रतिष्ठानमा युरोलोजी सेवा प्रदान गर्दै आएका अनुभवी चिकित्सक हुन्। युरोलोजिसहित बिशीष्टिकृत सेवालाई प्रभावकारी बनाउन प्रतिष्ठानले वीर अस्पताल र शिक्षण अस्पताल -टिचिङ लगायतका संस्था संग सहकार्य सुरु गरिएको जनाएको छ ।
सेवा विस्तार भए पनि भौतिक पूर्वाधारको अभाव भने अझै चुनौतीपूर्ण छ । पर्याप्त भवन नहुँदा एमबिबीएस लगायतका शैक्षिक कार्यक्रम अस्थायी संरचना र भाडाका घरमा संचालन भइरहेका छन । प्रस्तावित चार सय शैयाको अस्पताल निर्माणको गुरु योजना हाल अर्थ मन्त्रालयमा सिफारिसको क्रममा रहेको निमित्त उपकुलपति प्रा। श्याम लम्सालले जानकारी दिए। हाल प्रतिष्ठानमा दैनिक करिब एक हजार बिरामी उपचारका लागि आउने गरेको बताइन्छ ।