‘भ्रष्टाचार रोक्ने बहानामा सञ्चारमाध्यममाथि नियन्त्रणको प्रयास’

दाङ, २९ चैत । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा सञ्चारमाध्यममाथि नियन्त्रण गर्न खोजेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाद्वारा घोराहीमा आयोजना गरेको सत्यापन तथा नयाँ मिडिया ह्यान्डलिङसम्बन्धी तालिमको उद्घाटन कार्यक्रममा उनले सूचना प्रवाहका नाममा सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने प्रयास भइरहेको बताएका हुन । उनले एउटा सिण्डिकेट अन्त्य गर्ने नाममा अर्को सिण्डिकेट लागू गरिएको उल्लेख गर्दै यसप्रति सरोकारवाला सबै पक्ष सचेत हुनुपर्ने धारणा व्यक्त गरेका हुन ।
उनले सरकारको यस्तो प्रवृत्तिले सञ्चारमाध्यमको स्वाभाविक अधिकारमा हस्तक्षेप गर्नुका साथै नागरिकको आफूले रोजेको सञ्चार माध्यम रोज्नपाउने अधिकारमा समेत असर गरेको बताए ।

सञ्चारमाध्यम कमजोर बनाउने कुनै पनि कदमले लोकतान्त्रिक प्रणालीमै असर पार्ने पूर्व अध्यक्ष झाको भनाइ थियो । सञ्चार क्षेत्र उद्योगका रूपमा समेत रहेको भन्दै उनले सरकारको निर्णयले नेपालमा करिव तीन लाख जसंख्याको रोजगारी प्रभावित हुन सक्ने बताए । सरकारी सञ्चारमाध्यममार्फत मात्र सूचना प्रवाह गर्ने अवस्था सिर्जना भएमा सबै नागरिकमा समान पहुँच नहुने भएकाले पनि यो निर्णय व्यवहारिक नभएको बताए ।

फरक पं्रसंगमा उनले पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे चर्चा गर्दै एआईलाई सहायक उपकरणका रूपमा जिम्मेवार र सन्तुलित ढङ्गले प्रयोग गर्नुपर्नेमा जोड दिए । पत्रकारिताको आधारभूत मूल्य, मान्यता र प्रक्रियालाई आत्मसात् गर्दै प्रविधिको प्रयोग गर्नुपर्ने उनको जोड थियो । उनले पत्रकारिता निरन्तर चलिरहने प्रक्रिया भएकाले यसले नागरिकको विश्वास जित्नुपर्नेमा समेत जोड दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले सरकारी विज्ञापन वितरणमा देखिएको सिण्डिकेट अन्त्य गर्नुपर्नेमा जोड दिए । दक्ष जनशक्ति विकासमार्फत सञ्चार क्षेत्रलाई सुदृढ बनाउन सकिने धारणा व्यक्त गर्दै निवर्तमा केन्द्रीय अध्यक्ष पोख्रेलले स्वतन्त्र प्रेसप्रतिको सरकारी दृष्टिकोण स्पष्ट हुनुपर्ने बताउँदै सञ्चारमाध्यममाथि आर्थिक दबाब सिर्जना गर्ने प्रयास उपयुक्त नहुने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले प्रेस स्वतन्त्रताको पक्षमा महासंघ सधैं दृढ रहने बताए । महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष उदय जीएमले एआईको सदुपयोगमार्फत पत्रकारितालाई थप प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए । प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारीले विज्ञापन रोक्ने प्रयास गलत भएको धारणा राखेका थिए ।

उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तव्यवाट सु्रु भएको कार्यक्रमको सहजीकरण सञ्चालन सचिव जेएन सागरले गरेका थिए । तालिमको प्रशिक्षकका रुपमा पत्रकार धर्मेन्द्र झा र अजय शर्मा रहेका छन् ।