नियात्रा कृति ‘जगन्मुक्ति’ माथि घोराहीमा चर्चा

दाङ,२८ चैत । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाद्वारा लिखित नियात्रा कृति ‘जगन्मुक्ति’माथि दाङमा साहित्यिक चर्चा गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तथा विश्लेषक विनोद पोख्रेलले नियात्रा विधाको महत्वमाथि प्रकाश पार्दै यात्रा स्मरणले लेखकका भोगाइ, स्थान, संस्कृति र मानिसहरूको जीवनलाई जीवन्त रूपमा प्रस्तुत गर्ने बताएका थिए ।

उनले यस्ता कृतिले पाठकलाई पनि यात्रामा सहभागी भएको अनुभूति गराउने उल्लेख गरे । साथै, नियात्राले भौगोलिक, सांस्कृतिक र सामाजिक विविधताबारे जानकारी दिई पाठकको दृष्टिकोण फराकिलो बनाउने र नयाँ ठाउँ घुम्ने प्रेरणा तथा मनोरञ्जन प्रदान गर्ने धारणा राखेका थिए । कृतिकार धर्मेन्द्र झाले ‘जगन्मुक्ति’ लेखनको पृष्ठभूमि, यात्राका अनुभव र समाजसँगको सम्बन्धबारे जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोख्रेल, महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, दाङ शाखाका पूर्व अध्यक्षद्वय केबी मसाल र केएल बुढाथोकी, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारी तथा साहित्यकार लोकराज पराजुलीले कृतिको साहित्यिक महत्व, समाजसँगको सन्देश र लेखकको योगदानबारे विचार राखेका थिए । साथै वक्ताहरूले ‘जगन्मुक्ति’ले यात्रा अनुभूति, ज्ञान र सामाजिक चेतनालाई जोड्दै नेपाली नियात्रा साहित्यलाई समृद्ध बनाउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन टिका बस्नेतले गरेका थिए ।