स्थापना दिवसको अवसरमा वृद्धाश्रममा खुवाइयो खाना
गोरक्ष समाचारदाता
दाङ, २६ चैत । होटल पौवा प्रालि घोराही शाखाले स्थापनाको १० वर्ष पूरा गरेको अवसरमा वृद्धाश्रममा खाना खुवाएको छ । घोराही १६ मा बृद्धाआश्रममा रहेका जेष्ठ नागरिकलाइ खाना खुवाइएको हो ।
नेपाली आतिथ्य क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित स्थापना भएको कम्पनीले वार्षिकोत्सवको अवसर पारेर आफ्ना सम्पूर्ण शाखामा ‘स्वाद उत्सव’ सञ्चालन गर्ने घोषणा समेत गरेको छ । कम्पनीले १० वर्ष अघि चैत २५ गतेबाट औपचारिक रूपमा सेवा सुरु गरेको थियो ।
नेपाली स्वाद, संस्कृति र आतिथ्यलाई स्वदेश तथा विदेशमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यसहित अघि बढेको होटल पौवाले छोटो अवधिमै आतिथ्य क्षेत्रमा उल्लेखनीय उपस्थिति जनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजना गरिने ‘स्वाद उत्सव’ चैत २६, २७ र २८ गते तीन दिनसम्म सबै शाखामा सञ्चालन हुनेछ । होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीका अनुसार उक्त उत्सव देशभर रहेका सबै शाखामा एकसाथ सञ्चालन गरिने छ ।
कार्यक्रममा विशेष अतिथि सत्कार सहित नेपाली रैथाने परिकारको स्वाद चखाउने व्यवस्था गरिएको छ । ग्राहकलाई मौलिक नेपाली खानासँगै सांस्कृतिक अनुभव प्रदान गर्ने लक्ष्यसहित कार्यक्रम तयार गरिएको कम्पनीको भनाइ छ । उत्सवमा सहभागी गराउन देशभर ४० हजारभन्दा बढी निमन्त्रणा पत्र वितरण गरिएको उनले जानकारी दिए ।
रूपन्देहीको सालझुण्डीस्थित सानो घरका ७ कोठाबाट सुरु भएको होटल पौवाको यात्रा भैरहवाबाट विस्तार हुँदै देशका विभिन्न सहरसम्म पुगेको छ । हाल कम्पनीले देशभर २० वटा शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ । नेपाली मौलिकता र आतिथ्यलाई प्राथमिकतामा राख्दै ‘जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित कम्पनीले आफ्नो ब्राण्ड स्थापित गरेको हो ।
होटल पौवा घोराही शाखाका म्यानेजर विनोद रिजालले अनुसार यो लक्ष्य केवल शाखा संख्या विस्तारमा सीमित नभई व्यवस्थापन क्षमता अभिवृद्धि, ब्राण्ड विश्वसनीयता सुदृढीकरण तथा संस्थागत परिपक्वता हासिल गर्ने दिशामा केन्द्रित रहेको छ । वार्षिकोत्सवको अवसरमा आयोजना हुने ‘स्वाद उत्सव’ कार्यक्रममा सहभागी भई नेपाली स्वाद, संस्कृति र आतिथ्य अनुभव गर्न पौवा घोराही शाखाले सम्पूर्ण ग्राहक, सरोकारवाला तथा आम सर्वसाधारणलाई आमन्त्रण गरेको छ ।
बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर यस्ता जानकारी गराएको हो । पत्रकार सम्मेलनमा सञ्चालक पुरुषोत्तम शर्माले पौवाले शुद्ध खानामा सम्झौता नगर्ने बताए । उनले पौवाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले निजी क्षेत्रसँग सहकार्य गर्न सञ्चार क्षेत्र तयार रहेको बताए । कार्यक्रम पौवा गार्डेन प्रालिका अध्यक्ष केशवराज श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण घोराही शाखाका म्यानेजर विनोद रिजालले गरेका थिए ।
