लेखक संघको वार्षिक मुखपत्र ‘प्रवाह’ विमोचन
गोरक्ष समाचारदाता
दाङ, २५ चैत । लेखक संघ दाङको वार्षिक मुखपत्र ‘प्रवाह’ विमोचन गरिएको छ । बुधवार घोराहीमा कार्यक्रमको आयोजना गरेर प्रवाह सार्वजनिक गरिएको हो ।
लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता तथा राप्ती साहित्य परिषदका पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ‘प्रवाह’ को औपचारिक विमोचन गरिएको हो । मुखपत्रमा विभिन्न साहित्यकारका रचना समावेश गरिनुका साथै लेखक संघमा स्थापना भएका पुरस्कार, पुरस्कृत साहित्यकार तथा आजीवन सदस्यको विवरण समेटिएको छ । पुस्तकको समीक्षा साहित्यकार डा. कृष्णराज डिसीले गरेका थिए ।
कार्यक्रममा राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा, नेपाली लेखक संघ दाङका अध्यक्ष डा. हिमलाल पन्थी, साहित्यकार पद्मप्रसाद शर्मालगायतले मन्तव्य व्यक्त गर्दै लेखक संघले साहित्यिक गतिविधि सञ्चालनसँगै पठन संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।
वक्ताहरूले मुखपत्रमा साहित्यिक रचनासँगै संस्थाका गतिविधि समेटेर इतिहासलाई जीवित राख्ने प्रयास गरिएकोमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण संघका जिल्ला उपाध्यक्ष गोविन्द पौडेलले गरेका थिए ।
