विपन्न परिवारलाई सरसफाइ सामग्री
गोरक्ष समाचारदाता
दंगीशरण, २६ चैत्र । दंगीशरण गाउँपालिकामा कुपोषित तथा निम्न आयस्तर भएका घरपरिवारलाई सरसफाइ सामग्री वितरण गरिएको छ ।
आइडी र हेलन किलर इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोग एवम् बेस संस्थाको सहकार्यमा सञ्चालित ‘पोषणमार्फत् जीवन रूपान्तरण परियोजना’ अन्तर्गत वडा नं. १, २, ३, ४ र ५ का पाँच वर्षमुनिका बालबालिका भएका ६० घरधुरीलाई सामग्री वितरण गरिएको हो । उक्त सामग्री गाउँपालिका अध्यक्ष शम्भु गिरीले सामग्री प्रदान गरेका थिए ।
वितरण गरिएका सामग्रीहरूमा नङ काट्ने (नेलकटर), मञ्जन, ब्रस, हरपिक, शौचालय सफा गर्ने ब्रस, हात धुने साबुन, एक केजी सर्फ, प्याड, केटल म्याट तथा पानी फिल्टर रहेका छन् ।
परियोजनाका अनुसार वडा नं. ६ र ७ मा रहेका कुपोषित तथा कुपोषणको जोखिममा रहेका निम्न आयस्तर भएका परिवारलाई वडा नं. ६ को स्वास्थ्य चौकीमार्फत् सामग्री वितरण गरिने छ । परियोजनाले कार्यक्रम सञ्चालन गर्नुअघि ७ वटै वडामा स्क्रिनिङ गरी आवश्यकता अनुसार लाभग्राही पहिचान गरी माग सङ्कलन गरिएको थियो ।
