Goraksha

National Daily

‘ड्युटी गर्ल’ सङ्गीताप्रति बाबुको टिप्पणी, ‘उनको बफादारिता शब्दमा व्यक्त हुन सक्दैन’

खेमराज रिजाल
दाङ, २५ चैत्र । अनलाइन खबरले यो वर्ष पनि ‘५० प्रभावशाली महिला’को सूची सार्वजनिक ग¥यो । त्यसमा परिन् दाङ घर भएकी प्रहरी हवल्दार सङ्गीता अधिकारी । यो खबरले उनी र उनको परिवार मात्रै होइन, सिङ्गो चैनपुर खुसीले प्रफुल्लित भयो ।

घोराही–९ चैनपुर अर्थात् उनको जन्मस्थल । ‘सङ्गीताको सफलता र पेसाप्रतिको बफादारितालाई मैले अहिले शब्दमा व्यक्त गर्न सकिरहेको छैन’, सङ्गीताका बुबा पदमप्रसाद अधिकारीले गोरक्षसँग भने, ‘छोरीको यो ढङ्गको सम्मानले हामी अभिभावमात्र नभई सिङ्गो गाउँले नै सम्मानित भएको महसुस भइरहेको छ ।’

भदौ २४ को त्यो विध्वंशको क्षणमा पनि आक्रोशित र उत्तेजित भिडबाट घोराहीस्थित जिल्ला अदालतलाई जल्नबाट जोगाएकी सङ्गीता आफैँमा एउटा सफल ‘ड्युटी गर्ल’का रूपमा परिचित छिन् । उनको यो योगदानको प्रशंसा र सम्मानलाई नियालिरहेको अनलाइन खबरले ‘उत्कृष्ट ५० प्रभावशाली महिला’का रूपमा घोषणा ग¥यो ।

‘भदौ २४ को कसैले उच्चारण गर्दा अझै पनि मनमा एक प्रकारको डर जाग्न छाडेको छैन’, बुबा पदमप्रसादले भने, ‘तर प्रभावशाली महिला–२०८२ बाट सम्मानित बनेको खबरले उत्साहित बनायो, छोरीको सम्मान भएको ठानेका छौँ, यो खुसीले परिवारमा उत्साह र उज्यालो भरेको छ ।’

सङ्गीताका बुबा पदमले भनेका छन्, ‘तर पनि प्रहरीलाई हेर्ने र हेप्ने प्रवृत्तिप्रति भने म मनबाटै दुःखी छुँ ।’ सङ्गीताको बफादारितालाई स्नेहदेखि सम्मान गरिरहेको उनको परिवार अहिले खुसीको सागरमा छ । छोरी जन्माउनुको सार्थकतालाई परिवारले महसुस गरिरहेको छ । सङ्गीताकै इच्छा र चाहनाले प्रहरी सेवामा जोडिएकी हुन्, उनी ।

अहिले उनको सफलताले सिङ्गो मुलुकलाई सफलताको बाटोमा अघि बढ्न उत्प्रेरित गरिरहेको छ । ‘छोरी एउटा प्रेरक पात्रको रूपमा उभिँदाको मज्जा बेल्गै हुँदोरहेछ’, पदमको भनाइ छ । भदौ २४ मा उनी साहायक हवल्दार थिइन् । २४ को योगदानपछि उनको एक तह बढुवा भयो र हवल्दार भइन् । यसैगरी जिल्ला अदालत र सर्वोच्च अदालतले पनि उनलाई पुरस्कृत ग¥यो । यी सबै सम्मानले दिँदै आएको परिवारको खुसीमा अनलाइन खबरको यो घोषणाले थप खुसी थपिदिएको हो ।

बुबा पदम पेसाले निवृत्त शिक्षक हुन् । अहिलेको प्रसङ्गमा छोरीको बाल्याकालका विषयमा सोधिएको प्रश्नमा पदमले भनेका छन्, ‘सङ्गीता सानैदेखि हठी स्वभावकी थिई, चाहेको कुरा लिनलाई जेसुकै पनि मेहनेत गर्न उ पछि पर्दैनथी ।’ पदमका अनुसार सङ्गीताको रुचि खासमा खेल क्षेत्रमा थियो । त्यसमा पनि क्रिकेट विधा । सायद एउटै खेल शृङ्खलामा ५० रन बनाएर नयाँ रेकर्ड बनाउने उनै सङ्गीता हुन्, जसले महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा समेत भाग लिइन् ।

खेललाई निरन्तरता दिँदै बाँकी जीवनको पनि निर्वाह गर्न प्रहरी सेवामा प्रवेश गरेर खेल्न पाइने र सहज रूपमा खेललाई अघि बढाउन सकिने आशामा उनको प्रवेश प्रहरी सेवामा भयो । तर, प्रतियोगितामा क्रिकेट समावेश हुने रहेनछ । १२ कक्षा पढ्दापढ्दै प्रहरी सेवामा छिरेकी सङ्गीताको अध्ययन भने १२ कक्षामै ब्रेक लागेको बुबा पदम बताउँछन् । पढ्दापढ्दै प्रहरीको जागिरे, बिहेवारी अनि जन्मेका सन्तानको पालनपोषणले सङ्गीताको उच्च शिक्षामा ब्रेक लाग्यो ।

त्यसो त सङ्गीताले आन्दोलनकारीलाई मत्थर बनाउँदै अदालत जलाउन जोगाएको भिडियो भने बाबु पदमप्रसादले तीन दिनपछि मात्र हेरेका रहेछन् । ‘छोरी अदालतको गेटको ड्युटिमा छे, आन्दोलनमा तोडफोड र आगजनी भइरहेको छ, के कसो हुने हो’ भन्ने अत्यधिक त्रास उनमा थियो तर संयोग सङ्गीता यो समस्याबाट आफ्नै विवेक र बफादारिताले जोगिइन् र सफल ‘ड्युटी गर्ल’को पहिचान बनाइन् ।

पदम स्मरण गर्छन्, ‘जुन दिन कार्यालय जलाइरहेका समाचार मोवाइलमा आइरहन्थे, त्यो दिन छोरी सङ्गीताका दुई छोरीहरू त्यही अदालतमा थिए । सङ्गीताले देशको परिस्थिति बताउँदै अदालतमा पनि तोडफोड हुन सक्ने भएकाले मलाई फोन गरेर छोरीहरूलाई चाँडै लैजान भनेकी थिई ।

मैले घोराहीमा रहेका मित्र कविराम पोख्रे्रेललाई यो आग्रह गरेपछि सर्रासम्म नातिनीहरूलाई ल्याइदिनु भयो, मैले त्यहीँ रिसिभ गरेर घरसम्म ल्याउन सफल भएँ अनि मात्र छोरी सङ्गीतासँग कुराकानी भएको हो’, पदम भन्छन्, ‘भदौ २४ को राति छोरीले फोनमा म कुशल छु भनेर कापिरहेका आवाज सुनाउँदा मात्र म त्रसित भएको थिएँ । धन्न राति सेना परिचालन हुने भएकाले स्थिति केही साम्य भएको थियो ।’

अहिले अनलाइन खबरमा आएको सम्मानको शृङ्खलामा उनको परिवार मात्र खुसी छैन, सिङ्गै चैनपुर गाउँमा सङ्गीताको चर्चा छ । ‘उसको पेसाप्रतिको इमानदारिताले हाम्रो शिर उचो भएको छ,, यी सफलताका शृङ्खलाहरू अघि बढ्दै जाऊन्’, पदमले भनेका छन् । तर सङ्गीताको यो सफलतामाथि सामाजिक सञ्जालमा केही असन्तुष्टिहरू पनि पोखिएका छन्, त्यसले बुबा पदमलाई दुःखी तुल्याएको छ । ‘व्यक्तिको भूमिका नहेरी, नबुझी हल्का टिप्पणी गर्ने प्रवृत्ति राम्रो होइन’, उनले भने ।