Goraksha

National Daily

किसानको रोजाइमा मुर्राको विर्य : शाखाका प्रमुख डा वली

मुलुक कृषि प्रधान मुलुक भएर पनि कृषिमा आत्मनिर्भर हुन सकेको छैन । तीनै तहका सरकारले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखेको दाबी गरे पनि परिणाममुखी नतिजा देखिएको छैन । पशुपालक किसानको गुनासो सरकारले उनीहरुलाई प्रोत्साहन गर्न सकेको छैन भन्ने छ । दुग्ध व्यवसायी यसको मारमा छन् ।

कहिले दुध अपुग भएर अन्यत्रबाट झिकाउनु पर्ने अवस्था छ भने कहिले सरकारले मिल्क होलिडे मनाउने समेत गरेका अभ्यास छन् । दुधबाट वाइप्रोडक्ट उत्पादन हुन सकेको छैन । यद्धपि पछिल्लो समय कृषि र पशुपालनलाई गुजारामुखी मात्र नबनाएर व्यवसायिकतातर्फ उन्मुख बनाउनेमा किसान उत्साहित देखिन थालेका छन् भने स्थानीय सरकारले पनि क्रमश कृषिलाई व्यवसायीकरण गर्न लागि परेका छन् ।

खासगरी पशुपालन क्षेत्रमा स्थानीय तहमा के कस्ता कार्यक्रम नवप्रवर्तन कार्यक्रमसँग सम्बन्धित रहेर गोरक्षकर्मी खेमराज रिजालले तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाका प्रमुख डा मनोज वलीसँग गरेको कुराकानीको सार सङ्क्षेप ।

— पछिल्लो समयमा तपाईको पालिकामा पशुपालनको अवस्था कस्तो पाउनुभएको छ ?

पछिल्ला केही वर्षयता हेर्ने हो भने पशुपालक किसान गुजारामुखी मात्र नभएर व्यवसायिक बन्दै छन् । पशुपालनलाई व्यवस्थित एवम् व्यवसायीक रूपले अघि बढाउन प्रयत्नरत देखिन्छन् । व्यवसायिक कृषि फर्म जिल्ला घरेलु कार्यालयमा दर्ता हुने भएकाले एकिन रूपमा व्यवसायीक पशुपालक किसानको तथ्याङ्क त हामीसँग अहिले एकिन छैन, तर पनि व्यवसायिक पशुपालक किसानको संख्या दिनदिनै वृद्धि भएको हामीले पाएका छौँ ।

त्यसमा पनि सबैभन्दा बढी उन्नत जातका गाइभैँसी पालन, कुखुरा पालन र माछामासु जन्य व्यवसायमा बढी देखिन्छन् । व्यवसायिक रूपमा उन्नत जातका गाईभैँसी पाल्न थालिएपछि उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि पशुहरूमा कृतिम गर्भाधान समेत निःशुल्क गरेको छ । यसले पनि व्यवसायिक पशुपालक किसानलाई केही राहतको अनुभूति भएको हामीले पाएका छौँ ।

हामीले मात्र नभएर जिल्लामा रहेको भेटनरी अस्पताल तथा पशु विज्ञ कार्यालयले पनि पशुपालक किसानलाई व्यवसायिक बनाउन भकारो सुधार कार्यक्रम लगायतका विभिन्न प्रोत्साहनका कार्यक्रम पनि सञ्चालन गरेको हामीले पाएका छौँ ।

— कृतिम गर्भाधानमा किसानको रोजाइ के पाउनु भएको छ ?

अहिले किसान उन्नत जातको विर्यको खोजिमा हुनुहुन्छ । पहिले–पहिले थारो भैँसी पाल्नु पर्ने अवस्था अहिले छैन । गाई थारै बस्यो भनेर चिन्ता मान्नु पर्ने अवस्था अहिले छैन । किसानले पशुहरूलाई कृतिम गर्भाधान गराउने चाहनालाई सम्बोधन गर्न हामीले निःशुल्क सेवा दिन थालेपछि गाइपालक किसानमा जर्सी र होलिस्टिन प्रजातिको विर्यको बढी माग छ भने भैँसी पाल्ने किसानमा मुर्रा रागोको विर्यको बढी माग छ ।

किसानको त्यो मागलाई सम्बोधन गर्दै हामीले नेपालगंजस्थित पशु प्रजनन् केन्द्रबाट जर्सि, होलिस्टिन र मुर्राको विर्य ल्याएर यहाँका किसानलाई भकारोमै पु¥याइरहेको पनि तपाईको पत्रिकामार्फत् आम किसानलाई जानकारी गराउन चाहन्छु । यसका लागि पशु सेवा शाखाले ५ जना कृतिम गर्भाधान गराउने प्राविधिकको पनि निःशुल्क रूपमा व्यवस्थापन गरिसकेको छ ।

तालिम प्राप्त ती प्राविधिकहरूले किसानले बोलाएको जुनसुकै बेला किसानको भकारोमै पुगेर कृतिम गर्भाधान गराउने गरेका छन् । मलाई लाग्छ, माघ महिनादेखि सुरु भएको यो सेवा लिनेहरूको संख्या कम्तिमा पाँच सयभन्दा बढी नाघिसकेको छ ।

— उन्नत जातको मुर्रा रागो, जुन केही वर्ष अघि भारत भ्रमणमा रहँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत सरकारले केही मुर्रा रागो उपहार दिएको थियो । त्यो विर्यको प्रभावकारिताका विषयमा केही बताइदिनुस् न ?

खासमा हामीले मुर्राको विर्य पहिलो चरणमा लोकल भैँसीमा क्रस गराउने हो । यसरी व्याएको भैँसीलेनै बढी दुध दिने भन्ने होइन । यो विर्य प्रत्यारोपण गरिएको भैँसीबाट जन्मिएको पाडिलाई फेरि यही विर्य दिइएर गर्भाधान गराइयो भने त्यसबाट मात्रै उत्पादन वृद्धिका चरण सुरु हुन्छन् । अर्थात् उन्नत जातको सुरुवाती दोस्रो पुस्ताबाट मात्रै सुरु हुन्छ ।

यसैगरी तेस्रो पुस्तामा पुग्दा बल्ल मुरा भैँसीको जस्तै दुध उत्पादनमाा वृद्धि हुने पशु विज्ञहरूको अनुमान हुन्छ । यसरी कृतिम गर्भाधान गराउदा पशुहरूमा करिब–करिब ३० प्रतिशतसम्म बढी दुध उत्पादन हुनेमा हामी विश्वस्त छौँ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत सरकारले मुर्रा उपहार दिँदा हासोमा उडाइयो तर यथार्थमा मुर्राको विर्य क्रस गराएर अर्को पुस्तामा त्यो भैँसीबाट धेरै दुध उत्पादन हुन्छ भन्ने विषय प्रमाणित भइसकेको विषय पनि हो ।

त्यसैगरी स्थानीय गाएमा जर्सी र होलिस्टनको विर्यबाट गर्भाधान गराउँदा पनि त्यस्ता गाईबाट जन्मेका दोस्रो पुस्ताले बढी दुध दिने अवस्था हुन्छ । त्यसैले कृतिम गर्भाधानको कार्यक्रममा जोडिन मैले पालिकाका सम्पूर्ण पशुपालक किसानलाई आग्रह समेत गर्दछु ।

— तपाईको पालिकामा व्यवसायिक पशुपालनको अवस्था संक्षिप्त रूपमा बताइदिनुस् न ?

पछिल्लो तथ्याङ्क हेर्दा तुलसीपुर उपमहानगरपालिकामा उत्पादन र खपतको तथ्याङ्क भिडाउने हो भने हामी दुध, अण्डा र माछामासुमा आत्मनिर्भर भइसकेका छौँ । त्यसमा पनि अण्डा हामीले अन्यत्र निर्यात गर्न सक्ने हैसियतमा छौँ । विस्तारै दुध र माछामासु पनि निर्यात गर्नका लागि हामीले विभिन्न नवपर्तनका कार्यक्रम ल्याउने योजनामा छौँ ।

त्यसका लागि घर–घरमा पुगेर पशुपालक किसानलाई पशु स्वास्थ्य सेवा तथा परामर्श, कृतिम गर्भाधानबारे जानकारी, पशुहरूमा लाग्ने विभिन्न रोगहरू तथा पशुलाई चाहिने आवस्यक आहार विहारका बारेमा पनि जानकारी गराउने अभियानमा छौँ ।

— तपाईले पशु स्वास्थ्यका विषयमा कुरा गरिरहँदा दुरदराजका किसानको गुनासो पशुका चिकित्सक पाउनै मुस्किल हुने गुनासो गरिरहेका छन् नि ?

हो, पशुपालक किसानलाई पशु रोगको उपचारमा समस्या भएको हो । किनकि हामी कहाँ पशु चिकित्सकको दरबन्दी एउटा मात्र छ । पशु स्वास्थ्य प्राविधिक पनि प्रयाप्त छैनन् । तैपनि हामीले चालु आर्थिक वर्षको माघ महिनादेखि घुम्ति पशु स्वास्थ्य उपचारको व्यवस्थापन पनि गरिसकेका छौँ । नवप्रवर्तन कार्यक्रमअन्तर्गत यो आर्थिक वर्षदेखि गोठगोठमै निःशुल्क उपचार कार्यक्रम पनि सञ्चालन गरिसकेका छौँ । कार्यक्रम सुरु भएदेखि हालसम्म पालिकाका करिब एक सय ६३ जना किसानले यो सेवा लिइसकेका छन् । यो सेवा दिनका लागि हाम्रा प्राविधिक बिहान १० बजेदेखि दिउसो २ बजेसम्म किसानको गोठमै पुग्ने छन् ।

यो जानकारी हामीले सबै वडा कार्यालयमा गराइसकेका छौँ । पशु चौपाया बिरामी हुनासाथ पशु सेवा शाखामा फोन गरेपछि हामीले प्राविधिकलाई गोठमै पठाउने गरेका छौँ । खासगरी पहिलो चरणमा यो कार्यक्रम गाई, भैँसी र बंगुरमा लाग्ने रोगको उपचारमा केन्द्रित छ । क्रमश अन्य पशुको उपचारमा पनि यो कार्यक्रम आवश्यकता अनुसार विस्तार गरिने छ ।

— पशु उपचारका लागि तुलसीपुर उपमहानगरपालिकाले भेटनरी अस्पताल तथा तथा पशु एक्वुलेन्स सेवा सञ्चालन गर्ने कार्यक्रम गुमनाम छ नि ?

हो, त्यो कार्यक्रम तत्कालीन मेयर घनश्याम पाण्डेको कार्यकालमै सुरु हुने भनिएको थियो । एक पटक उपमहानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा पनि त्यो सेवा समावेश गरियो । तर, त्यसका लागि आवश्यक बजेट भने विनियोजन भएन । त्यसपछि त्यो कार्यक्रम अहिलेसम्म पुनः चर्चामा आउनै पाएको छैन ।

साच्चै सबै सरकारले पशुपालन व्यवसायलाई प्रोत्साहन गर्ने हो भने पशु स्वास्थ्य उपचारको व्यवस्थापनमा पनि आवश्यक पूर्वाधार निर्माण एवम् पालिकास्तरीय पशु स्वास्थ्य उपचार केन्द्र निर्माण गर्न आवश्यक देखिन्छ । किनकि पशु उपचार मान्छेको उपचारभन्दा पनि महङ्गो पर्ने किसानको धेरै गुनासो छ ।यसलाई स्थानीय सरकारले पनि सम्बोधन गर्ने प्रयास गर्नु आवश्यक हुन्छ । यसका लागि हामीले उपमहानगरपालिकामा पटक–पटक रिपोर्टिङ समेत गर्दे आएका छौँ । सम्भवतः आगामी दिनमा यी समस्याको समाधानतर्फ पनि प्रक्रिया अघि बढ्ला भन्नेमा म विश्वस्त छु ।