प्रधानमन्त्री–सांसदबिच भेट : सांसदले राखे एजेन्डाको सूची
गोरक्ष समाचारदाता
दाङ, २४ चैत । पालैपालो मुलुकका विभिन्न प्रदेशबाट निर्वाचित सांसदहरूलाई भेला पारेर त्यहाँको वस्तुस्थिति बुझ्ने अभियानकै क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सोमवार लुम्बिनी प्रदेशमा भर्खरै सम्पन्न प्रतिनिधि सभा सांसदहरूसँग सामूहिक भेटघाट गरेका छन् ।
त्यसक्रममा दाङ जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरू निर्वाचन क्षेत्र नम्बर १ का सांसद देवराज पाठक, क्षेत्र नं २ का सांसद विपिन आचार्य र क्षेत्र नं ३ का सांसद कमल सुवेदीले दाङको समग्र विकासका लागि सामूहिक रूपमै प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराए । तीन वटै क्षेत्रका सांसदले माग गरेको पत्रलाई प्रधानमन्त्रीको सचिवालयमा समेत बुझाइएको निर्वाचन क्षेत्र नं ३ का सांसद सुवेदीले गोरक्षलाई फोनमा बताएका छन् ।
‘हामी दाङका तीन वटै क्षेत्रबाट निर्वाचित सांसदले सामूहिक रूपमा प्रधानमन्त्रीज्युको ध्यानाकर्षण गरायौँ, क्षेत्रगत मागभन्दा समग्र जिल्लाकै समृद्धिको खाका खोर्ने गौरवका योजना हामीले प्रधानमन्त्री समक्ष प्रस्ताव गरेका छौँ’, सांसद सुवेदीले भने । सांसद सुवेदीका अनुसार दाङको प्रमुख आवस्यकताका रूपमा रहेको टरिगाउँ एयरपोर्टलाई स्तरोन्नति गरी हवाई सेवा नियमित गर्न एयरपोर्टको स्तरोन्नतिलाई बहुवर्षीय योजनामार्फत् सम्बोधन गर्न आगामी आर्थिक वर्षमै बजेट सुनिश्चितता गर्न आग्रह गरिएको छ ।
यसैगरी बजेट विनियोजन भएर पनि खर्चको अख्तियारी नपाएर फ्रिज हुन लागेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट चाँडो फुकुवा गरेर काम अगाडि बढाउने वातावरण निर्माण गर्न सांसदहरूले आग्रह गरेका छन्् । यसैगरी तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा चौबिसै घण्टा आइसियु सेवा सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति, उपकरण व्यवस्थापन र लमहीको ट्रमा सेन्टरलाई चाँडै सञ्चालनमा ल्याउन आवश्यक बजेट, जनशक्ति एवम् उपकरणको प्रबन्ध गर्न प्रधानमन्त्री समक्ष माग गरिएको छ ।
यसैगरी पश्चिम दाङको दंगीशरणमा रहेको थारू संस्कृतिको ऐतिहासीक भूमि सुकौराकोटलाई थारू सङ्ग्रहालयका रूपमा विकास गर्न माग गरिएको सांसद सुवेदीले बताएका छन् । यसैगरी दाङका सांसदहरूले लमही–कोइलाबास सडक पक्की भएर पनि कोइलाबास भन्सार सञ्चालनमा आउन नसकेकाले यसमा भारत सरकारसँग आवश्यक संवाद गर्न आग्रह गरिएको थियो ।
सोही क्रममा लुम्बिनी प्रदेशका सबै जिल्लाका माननीयले आआफ्नो क्षेत्रगत समस्या राखेका थिए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई विभिन्न विकास आयोजना अघि बढाउन सुझाव दिएका छन् । छलफलमा सहभागी भएका पुनले आफू निर्वाचित भएको रोल्पा तथा लुम्बिनी प्रदेशका चालु विकास आयोजना र केही नयाँ परियोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताइएको छ ।
पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनले अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि हवाई मार्गका विषयमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन ढिलाइ गर्न नहुनेमा पनि जोड दिएका थिए । ‘भैरहवा विमानस्थलमा श्रम डेस्क राखेर अन्तर्राष्ट्रिय उडान नियमित गरेर पर्यटन क्षेत्रमा सम्भावनाको ढोका खोल्न अब ढिला गर्नु हुँदैन’, पुनले छलफलमा भने, ‘अन्तर्राष्ट्रिय हवाई मार्गका लागि भारतसँग कूटनीतिक पहल जरूरी छ ।’
यसैगरी पुनले दाङको कोइलाबास–रोल्पा–रुकुम हुँदै डोल्पा जोड्ने शहीद मार्ग निर्माणको कामलाई गति दिन माग गरे । उत्तरी छिमेकी चीनको सीमासम्म छुने उक्त सडकको रणनीतिक महत्व रहेको बताए । उनले शहीद मार्गको घोराही–होलेरी– खण्ड कालोपत्रे तथा रोल्पाको सुलीचौरदेखि उवासम्म स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरे । पुनले रोल्पास्थित माडी बहुउद्देश्यीय जलविद्युत आयोजनाको काम अघि बढाउन सरकारसँग माग गरे ।
रोल्पा नगरपालिका–१ र २ मा माडी खोला थुनेर बहुउद्देश्यीय जलविद्युत आयोजना निर्माण गर्ने सरकारी स्वामित्वको हाइड्रो इलेन्ट्रिसिटी एन्ड इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी लिमिटेड र चीनको पावर कन्स्ट्रक्सन कर्पोरेसनको संयुक्त लगानीमा निर्माण ढाँचा तयार पारिएको उक्त आयोजनाको निर्माण रोकिएको छ । पुनले आफू अर्थमन्त्री भएका बेला आर्थिक वर्ष ०८१÷०८२ को बजेटमा समावेश गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना अघि बढाउनु पर्नेमा जोड दिए ।
एकीकृत विकास अवधारणा अनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीन वटा कोणमा राखी निजी क्षेत्रसँगको साझेदारीमा त्रिभुज परियोजना अघि बढाउन सकिए नयाँ आर्थिक केन्द्र विकास हुने र त्यसले मुलुकको समग्र अर्थतन्त्रमै ‘गेम चेन्जर’ को भूमिका खेल्न सक्ने उनको भनाइ थियो ।
त्रिभुज परियोजना अन्तर्गत नारायणगढ–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र, मुग्लिन–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेट तथा घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रका रूपमा विकास गर्ने भनिएको थियो ।
