रोल्पामा वन क्षेत्रबाट ११ करोड कारोबार
भरत विश्वकर्मा
रोल्पा, २३ चैत । रोल्पाका वन क्षेत्रबाट जिल्लाका किसानले झन्डै ११ करोड बराबरको कारोबार गरेको पाइएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पुस मसान्तसम्मको अवधिमा जिल्लामा किसानले करिब १० करोड नौ लाख ६७ हजार बराबरको कारोबार गरेको डिभिजन वन कार्यालय रोल्पाले जनाएको छ ।
चालु आवको फागुन मसान्तसम्मको अवधिमा किसानले करिब १० करोड ८९ लाख ६७ हजार कारोबार गर्दा नेपाल सरकारले (मु.अ.कर र अ.आयकर गरी) ३१ लाख १६ हजार ९४१, लुम्बिनी प्रदेश सरकारको कोषमा ५१ लाख ६९ हजार आठ सय ९३ सामुदायिक वन उपभोक्ता समूहले एक करोड ४६ लाख ६० हजार आठ सय २० आम्दानी गरेको डिभिजन वन कार्यालय रोल्पाका कार्यालय प्रमुख यज्ञमूर्ति खनालले जानकारी दिए ।
डिभिजन वन कार्यालय रोल्पाका अनुसार चालु आवको फागुन मसान्तसम्म एक सय ३५ वटा सामुदायिक वन क्षेत्रबाट खोटो संकलन तथा बिक्रीबाट दुइ करोड २३ लाख ८२ हजार एक सय ८५ बराबरको कारोबार भएको कार्यालय प्रमुख खनालले बताए । सो कारोबारबाट प्रदेश सञ्चित कोषमा चार लाख ८६ हजार नौ सय ४०, सामुदायिक वन उपभोक्ता समूहको कोषमा एक करोड ४६ लाख ६० हजार आठ सय २० र मूल्य अभिवृद्धि करका रूपमा २५ लाख ४१ हजार दुई सय नौ र अग्रिम आयकर दुइ लाख ९३ हजार दुई सय १६ संकलन भएको उनले जनाए ।
त्यस्तै, किसानले आफ्नै निजी जग्गामा लगाएको विभिन्न प्रजातिका जडीबुटी टिमुर, चुत्रो, गुजरगानो, चिराइतोलगायत अन्य जडीबुटी उत्पादन गरी बिक्री वितरणमार्फत् स्थानीय किसानले करिब नौ करोड ३५ लाख ९२ हजार बराबरको आम्दानी गरेका छन् भने जिल्लामा चालु आवको फागुन मसान्तसम्म राष्ट्रिय वन क्षेत्रबाट टिमुर, कालीकाठको दाना, पाषणवेद, गुजरगानो, पदमचाल, चिराइतो लगायतका जडीबुटी सङ्कलन हुँदा दुई लाख २३ हजार सात २५ रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा भएको कार्यालयले जनाएको छ ।
चालु आवको फागुन मसान्तसम्मको अवधिमा किसानले आफ्नो निजी नम्बरी जग्गामा लगाई हुर्काएका उत्तिसलगायतका प्रजातिका रूखबाट उत्पादन भएको काठ, दाउरा व्यावसायिक प्रयोजनका लागि बिक्री गरी किसानले करिब १० लाख ९२ हजार चार सय २० बराबरको आम्दानी गरेको पाइएको छ, भने उक्त कारोबारबाट प्रदेश सञ्चित कोषमा ५९ हजार एक सय २८ रुपैयाँ, मूल्य अभिवृद्धि करबापत दुइ लाख ५६ हजार तीन सय ९१ रुपैयाँ र अग्रिम आयकरबापत २६ हजार एक सय २५ जम्मा भएको पाइएको छ ।
७३ हजार बढीलाई रोजगारी
चालु आर्थिक वर्ष २०८२÷८३ को पुस मसान्तसम्मको अवधिमा जिल्लामा वन क्षेत्रबाट ठुलो संख्यामा रोजगारी समेत सिर्जना भएको पाइएको छ । वनबाट उत्पादन भएको जडीबुटी, काठ, खोटोको संकलन तथा बिक्री वितरणका क्रममा ७३ हजार भन्दा बढी जनशक्तिले प्रत्यक्ष रोजगार पाएको पाइएको छ ।
खोटो संकलनको क्रममा १५ हजार नौ सय ५५ श्रम दिन बराबरको स्थानीय रोजगार सिर्जना भई कामदारले करिब एक करोड ३४ लाख, ९९ हजार चार सय ५२ बराबर पारिश्रमिक प्राप्त गरेका छन्, भने काठ दाउरा कटान, मुछान र लोड अनलोडलगायतको क्रममा नौ सय २८ श्रम दिनबराबरको रोजगारी सिर्जना भई स्थानीय ज्यामीले करिब सात लाख ८३ हजार बराबरको आम्दानी गरेका छन् ।
त्यसैगरी, किसानले आफ्नै निजी जग्गामा लगाएको टिमुर, चुत्रो, गुजरगानो, चिराइतोलगायत अन्य जडीबुटी उत्पादन गरी बिक्री वितरणमार्फत् नौ करोड ३५ लाख ९२ हजारबराबरको आम्दानी गर्दा ५६ हजार एक सय २२ जनाले काम पाउनुका साथै उद्यमी बनेको कार्यालयले जनाएको छ ।
कार्यालयको वित्तीय प्रगति ३१ प्रतिशत
डिभिजन वन कार्यालय रोल्पाले चालु आवको फागुन मसान्तसम्मको अवधिमा ३१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालु आवका लागि कार्यालयबाट विनियोजित आठ करोड ७३ लाख ५३ हजारमा दुइ करोड ६९ लाख ९२ हजार अर्थात् ३१ प्रतिशत बजेट खर्च भएको कार्यालयले जनाएको छ ।
जसअन्तर्गत कार्यालयबाट विनियोजित वन, वन्यजन्तु, जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रममा शून्य लाख २२ हजार विनियोजित भएकोमा १३ लाख तीन हजार खर्च भएको छ । जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विकास कार्यक्रममा २७ लाख ५० हजार रहेकोमा दुई लाख ६ हजार, वन उद्यम र पर्यापर्यटन प्रवर्धन कार्यक्रममा १० लाख बजेट रहेकोमा पाँच लाख ७७ हजार, कृषि वन तथा बृहत्तर हरियाली प्रवर्धन कार्यक्रममा २३ लाख २५ हजार रहेकोमा पाँच लाख शून्य हजार खर्च भएको छ ।
त्यस्तै, राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम (संघ ससर्त) २९ लाख ८० हजार रहेकामा पाँच लाख ५ हजार, समृद्धिका लागि वन कार्यक्रममा (संघ ससर्त) एक करोड ५० लाख रहेकामा २८ लाख ५८ हजार, जडीबुटी विकास कार्यक्रम (संघ ससर्त) मा १५ लाख बजेट रहेकामा हालसम्म सो बजेट खर्च भएको छैन ।
त्यस्तै वातावरण तथा जलवायु अनुकूलन कार्यक्रममा १२ लाख बजेट रहेकामा एक लाख ३१ हजार र प्रशासनिक खर्चमा ५ करोड २५ लाख ७५ हजार बजेट रहेकामा दुइ करोड सात लाख १६ हजार बजेट खर्च भएको कार्यालयले जनाएको छ ।
