साढे तीन लाखलाई आँखा उपचार सेवा
बालाराम खड्का
तुलसीपुर, २३ चैत । नेपाल नेत्रज्योति संघ दाङ अन्तर्गत सञ्चालित आँखा अस्पतालले एक वर्षको अवधिमा झन्डै साढे तीन लाख सेवाग्रहीलाई आँखा उपचार सेवा दिएका छन् । नागरिकलाई सर्वशसुलभ र गुणस्तरीय सेवा प्रदान गर्दै आएको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत सञ्चालित अस्पताल तथा उपचार केन्द्रले एक वर्षको अवधिमा साढे तीन लाख बढीलाई आँखाको उपचार सेवा दिएका हुन् ।
आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गतका राप्ती आँखा अस्पताल, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, लमही आँखा अस्पताल, आँखा उपचार केन्द्रहरू र बाह्य कार्यक्रमबाट २०८१ चैत १ गतेदेखि २०८२ फागुन मसान्तसम्म तीन लाख २८ हजार दुई सय ४६ जनालाई उपचार सेवा दिएको छ ।
आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा सम्शेर थापाका अनुसार राप्ती आँखा अस्पतालबाट ६२ हजार छ सय ४१, लमही आँखा अस्पतालबाट ३८ हजार सात सय ३४, छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालबाट ९३ हजार छ सय ४३, आँखा उपचार केन्द्रबाट ४२ हजार चार सय ४४ जना र बाह्य कार्यक्रमबाट ९० हजार सात सय ८४ जना गरी तीन लाख २८ हजार दुई सय ४६ जनाले आँखाको उपचार सेवा लिएका छन् ।
यसैगरी विशिष्टीकृत ओपिडी आँखा उपचारतर्फ रेटिना विभागबाट १९ जना, कर्निया विभागबाट ७० जना, आँखाको सौन्दर्य तथा क्यान्सर विभागबाट आठ सय १६ जना र जलविन्दु विभागबाट दुई हजार छ सय १० जना गरी तीन हजार पाँच सय १५ जनाले उपचार सेवा लिएका छन् ।
यसैगरी कानतर्फ ओपिडी सेवा राप्ती आँखा अस्पतालबाट दुई हजार सात सय ५४, लमही आँखा अस्पतालबाट नौ हजार पाँच सय ९७, छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालबाट दुई हजार नौ सय ३८ र आँखा उपचार केन्द्रबाट एक हजार पाँच सय ९० जना गरी १६ हजार आठ सय ७९ जनाले उपचार सेवा लिएका छन् ।
लमही आँखा अस्पतालमा नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टरबाट दैनिक विभिन्न सेवाहरू प्रवाह भइरहेका छन् भने अन्य अस्पतालमा प्राथमिक कान उपचार सेवा दिइरहेका छन् । यसैगरी मोतियाविन्दुको शल्यक्रिया सेवातर्फ राप्ती आँखा अस्पतालबाट दुई हजार चार सय ४४, लमही आँखा अस्पतालबाट एक हजार पाँच सय ५६, छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालबाट छ हजार नौ सय एक जना, आँखा उपचार केन्द्रबाट एक हजार एक सय ७९ र बाह्य कार्यक्रमबाट दुई हजार छ सय ८२ जना गरी १४ हजार सात सय ६२ जनाले उपचार सेवा लिएको प्रमुख प्रशासक डा. थापाले जानकारी दिए ।
यसैगरी विशिष्टीकृत तथा अन्य शल्यक्रिया सेवातर्फ रेटिना एक सय ८१, कर्निया छ सय ४१, आँखाको सौन्दर्य तथा क्यान्सर चार सय ५६, जलविन्दु एक सय ३०, अन्य तीन हजार सात सय २५ गरी पाँच हजार एक सय ३३ जनाले उपचार सेवा लिएको नेपाल नेत्रज्योति संघ, दाङ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा.थापाले जानकारी दिए ।
नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरूले नेपाललगायत छिमेकी राष्ट्रका नागरिकलाई उपचार सेवा प्रवाह गर्दै आएका छन् । दृष्टिविहीनता न्यूनीकरणका लागि अस्पतालले साविक राप्ती अञ्चलका जिल्ला, लुम्बिनी प्रदेशका जिल्ला र कर्णाली प्रदेशमा समेत आँखा, कान उपचार सेवा प्रवाह गर्दै आएको छ । दातृ निकाय, विभिन्न संघसंस्था र स्थानीय सरकारको सहयोगबाट विभिन्न समयमा निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको छ ।
नेपाल नेत्रज्योति संघको स्थापना विभिन्न प्रकारका आँखा उपचारको सुविधा यथाशक्य शुलभ गराउने, नेत्ररोगबाट बचाउ गर्ने र उपचारबाट ठिक नभएका न्यूनदृष्टि तथा दृष्टिविहीनलाई पुनःस्थापन गर्ने उदेश्यले २०३५ साल चैत्र १३ गते भएको हो । संघअन्तर्गत हाल २८ वटा आँखा अस्पताल र दुई सय २६ वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको डा. थापाले जानकारी दिए ।
नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित आँखा अस्पतालले ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी’ भन्ने मूल नारालाई आत्मसात गर्दै आँखा स्वास्थ्यका क्षेत्रमा विकास विस्तारमा तत्पर रहेको आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले बताए । ‘हामीले हुनेसँग लिने र नहुनेलाई निःशुल्क सेवा प्रवाह गर्दै आएका छौँ, दृष्टिविहीनता न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने अभियानमा लागेका छौँ’, अध्यक्ष गिरीले भने । उनले राप्ती आँखा अस्पतालमा विशिष्टीकृत तथा विशेषज्ञ सेवा प्रवाह गरिरहेको र आगामी दिनमा अन्य दुईवटा अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनेतर्फ काम गरिरहेको बताए ।
