लुम्बिनीमा प्रज्ञा प्रतिष्ठान गठनका लागि विधेयक पेस
गोरक्ष समाचारदाता
दाङ, २३ चैत । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापनाका लागि कानुनी प्रक्रिया प्रारम्भ गरेको छ । सरकारले प्रदेशको कला, संस्कृति संरक्षण गर्ने उद्देश्यले लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठन गर्ने लक्ष्य लिएको छ ।
आइतवार बसेको प्रदेशसभा बैठकमा सरकारले प्रज्ञा प्रतिष्ठान स्थापनाका लागि बनेको विधेयक पेस गरेको छ । उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले विधेयक पेस गरेसँगै प्रतिष्ठान गठनका लागि कानुनी बाटो प्रारम्भ भएको हो । संसदमा पेस भएको विधेयक उपर संसदमा दफाबार छलफल भई विषयगत समितिमा छलफलका लागि जानेछ र विधेयक पारितका लागि पुनः संसदमा जाने छ ।
संसदले यो विधेयकलाई पास गरेपछि प्रमाणिकरणका लागि यो विधेयक प्रदेश प्रमुख समक्ष पेस हुने छ । प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि प्रज्ञा प्रतिष्ठान स्थापनाका लागि यसको गठन प्रक्रिया प्रारम्भ हुने छ । मन्त्री परिषद् बैठकले प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने निर्णय गरेको थियो । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले प्रतिष्ठान गठनको अपरिहार्यता खुलाउँदै यसको गठनका लागि मन्त्री परिषद्बाट निर्णय गर्नका लागि मन्त्री परिषद्मा प्रस्ताव पेस गरेको थियो ।
‘प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन अपरिहार्य छ,यसका लागि संसदमा विधेयक पेश भएको छ,’, मन्त्री न्यौपानेले भने ‘अब प्रतिष्ठान गठनका लागि कानुनी प्रक्रिया अगाडि बढेको छ ।’ प्रदेशको भाषा, भेषभुषा, प्राचिन धर्म, मौलिक संस्कार, संस्कृति, कलागला, साहित्य, संगीत र वौद्धिक सम्पत्ति जस्ता प्रदेशको मौलिकतासँग सम्बन्धित विषयलाई व्यवस्थित गर्न प्रतिष्ठान गठन आवश्यक रहेको जनाइएको छ ।
मन्त्री न्यौपानेले प्रज्ञा प्रतिष्ठान गठन भएपछि भाषा, भेषभुषा, प्राचिनतम धर्म, मौलिक संस्कार संस्कृति, कला साहित्य संगीत र यससँग सम्बन्धित विषयको पहिचान हुने दाबी गरे । यसैगरी प्रतिष्ठान गठनले कला, साहित्य, भाषा र संगीतको क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान, यसप्रति चासो र चिन्ता गर्नेलाई प्रोत्साहन एवम् नयाँ पुस्तालाई यस क्षेत्रको समुन्नतिमा लाग्नका लागि उत्प्रेरणा प्रदान हुने अपेक्षा सरकारले लिएको छ ।
‘विभिन्न कला, संस्कृति, धर्म, भाषा भेषभुषाको पहिचानसँगै कला, साहित्य, भाषा र संगितको क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान प्रदान गरिने छ,’ मन्त्री न्यौपानेले भने ‘यो सँगै यो क्षेत्रप्रति नयाँ पुस्ताको लगाव कायम गराउनका लागि उत्प्रेरणा दिने काम पनि प्रतिष्ठानबाट हुनेछ ।’
यसैगरी प्रतिष्ठान गठनले लुम्बिनी प्रदेशको पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा लिइएको छ । प्रदेशभित्रका भाषा, धर्म, जाति, मौलिक संस्कृति, कला, संगीतको संरक्षण गर्दै यसको प्रचारप्रसार गरिने भएकाले प्रदेशको मौलिक पन हेर्नका लागि पर्यटक भित्रने मन्त्री न्यौपानेले बताए । ‘प्रतिष्ठानमार्फत् यहाँको मौलिक संस्कृति तथा कला साहित्यको संरक्षण गरेर यो चिजको अवलोकन पर्यटकलाई गराउन सकिने छ,’ मन्त्री न्यौपानेले भने ‘यसो हुन सक्यो भने प्रदेशको पर्यटन प्रवर्धनमा समेत टेवा पुग्छ ।’
