विकसित राष्ट्र : शिक्षालाई राजनीतिभन्दा माथि, मानव पूँजीमा लगानी
किरण थापा
नेपाली समाजको एउटा यथार्थ के हो भने, जब हरेक आमाबाबुले आफ्ना सन्तानलाई विद्यालयको दैलोमा पु¥याउँछन्, उनीहरुले केवल एउटा विद्यार्थी भर्ना गरेका हुँदैनन्; बरु अनेकौँ अभाव र संघर्षका बिच पनि आफ्ना सन्तानको जीवनमा ज्ञान, अनुशासन र समुन्नत भविष्यको एउटा आशाको दियो बालेका हुन्छन् ।
शिक्षा भनेको किताबका कुराहरु कण्ठ गराउनु मात्र होइन । यो त विद्यार्थीलाई सफलताको शिखरसम्म पु¥याउने र उनीहरुको मनमा ‘मैले मेरै देशमा केही राम्रो गरेर देखाउन सक्छु’ भन्ने बलियो हिम्मत र आत्मविश्वास जगाउने एउटा माध्यम हो । शिक्षाले धेरै समस्या समाधान गर्न मद्दत गर्छ । शिक्षामा पैसा र समय लगाउँदा व्यक्ति, समाज र देश सबैलाई लामो समयसम्म फाइदा हुन्छ ।
त्यसैले धेरै देशले शिक्षालाई विकास र परिवर्तनको मुख्य बाटो बनाएका छन् । यी देशहरुको सफलताको मुख्य कारण भनेको शिक्षालाई ‘राष्ट्रिय गौरव’ र ‘आर्थिक मेरुदण्ड’ को रुपमा हेर्नु हो ।
१, संयुक्त राज्य अमेरिका
अमेरिकाको विकासमा शिक्षाको भूमिका एकदमै क्रान्तिकारी देखिन्छ । सन् १८३० को दशकमा सुरु भएको ‘कमन स्कुल मुभमेन्ट’ ले शिक्षा सबैको पहुँचमा हुनुपर्छ भन्ने सन्देश दियो । होरेस म्यानको यो सोचले दक्ष जनशक्ति उत्पादन गर्न ठूलो मद्दत ग¥यो । अझ विशेषगरी, दोस्रो विश्वयुद्धपछि सन् १९४४ मा आएको (GI Bill) ले सामान्य मानिसहरुका लागि पनि उच्च शिक्षाको ढोका खोलिदियो । यही शैक्षिक लगानीले गर्दा नै आज अमेरिका विज्ञान, प्रविधि र अनुसन्धानमा विश्वको नेतृत्व गर्न सफल भएको हो ।
२. क्यानडाले शिक्षालाई राज्यको कर्तव्यभन्दा पनि समाजलाई जोड्ने माध्यम बनायो । सन् १८६७ देखि नै शिक्षाको जिम्मा प्रान्तीय सरकारलाई दिएर स्थानीय आवश्यकता अनुसारको पढाइ सुरु गरियो । क्यानडाको विशेषता भनेको ’समावेशी शिक्षा’ हो, जहाँ बाहिरबाट आएका आप्रवासी र त्यहाँका स्थानीय सबैलाई समान व्यवहार गरिन्छ । सन् १९९० को दशकदेखि तार्किक सोच (Critical Thinking) मा जोड दिएकाले नै आज क्यानडाको शिक्षा प्रणाली विश्वकै उत्कृष्ट र व्यावहारिक मानिन्छ ।
३. जापानको कथा निकै प्रेरणादायी छ । सन् १८७२ को ’मेइजी पुनस्र्थापना’ पछि जापानले पश्चिमा प्रविधिलाई भित्र्यायो तर आफ्नो संस्कारलाई कहिल्यै छोडेन । दोस्रो विश्वयुद्धको विनाशपछि पनि जापानले सन् १९४७ मा ’फन्डामेन्टल ल अफ एजुकेसन’ मार्फत शिक्षालाई पुनः संगठित ग¥यो । उनीहरुले शिक्षामा नैतिकता, अनुशासन र समूहमा काम गर्ने भावनालाई प्राथमिकता दिए । यही अनुशासित शिक्षाको बलमा जापानले खरानीबाट उठेर संसारलाई औद्योगिक र प्राविधिक चमत्कार देखायो ।
४. चीनले पछिल्लो केही दशकमा गरेको प्रगति शिक्षामा गरेको लगानीकै फल हो । सन् १९७८ को ’आधुनिकीकरण अभियान’ पछि देङ सियाओपिङले शिक्षालाई आर्थिक विकासको इन्जिन बनाए । सन् १९८६ मा ९ वर्षको अनिवार्य शिक्षा लागू गरिएपछि चीनका कुना–काप्चाका बालबालिका विद्यालय पुगे । विशेषगरी विज्ञान र गणितमा कठोर मिहिनेत गराउने चिनियाँ शिक्षा पद्धतिले गर्दा नै आज चीन विश्वको सबैभन्दा ठूलो ’उत्पादन कारखाना’ र प्रविधिको महाशक्ति बन्न सफल भएको हो ।
५. नर्डिक देशहरु (नर्वे, डेनमार्क र स्वीडेन) नर्डिक देशहरुको शिक्षा मोडल संसारकै लागि एउटा नमुना हो । १९ औं शताब्दीको ’फोक हाई स्कुल मुभमेन्ट’ बाट सुरु भएको यहाँको यात्राले समानतालाई मुख्य मन्त्र मान्यो । यहाँ शिक्षा पूर्ण रुपमा निःशुल्क छ । सन् १९७० को दशकदेखि यी देशहरुले परीक्षाको बोझ र तनावलाई हटाएर बालबालिकाको सिर्जनशीलता र मानसिक खुसीलाई प्राथमिकता दिन थाले । यही कारणले गर्दा यहाँका नागरिक विश्वकै सबैभन्दा सुखी, शान्त र नयाँ कुरा सोच्न सक्ने भएका हुन् ।
यी विकसित देशहरुले शिक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्नुको मुख्य कारण मानव पूँजी (Human Capital) लाई नै देशको वास्तविक सम्पत्ति मान्नु हो । अमेरिकाले १८३० को दशकदेखि औद्योगिक क्रान्तिका लागि दक्ष जनशक्ति र अनुशासित नागरिक तयार पार्न सार्वजनिक शिक्षामा लगानी ग¥यो भने, क्यानडाले १८६७ देखि समावेशी शिक्षा र तार्किक सोच (Critical Thinking) मार्फत् सबै नागरिकलाई समान अवसर प्रदान ग¥यो । जापानले १८७२ को मेइजी पुनर्जागरण र १९४७ को नयाँ शिक्षा ऐनमार्फत् ’पश्चिमा प्रविधि र जापानी संस्कार’ लाई जोडेर नैतिकता र सामूहिक कार्यलाई विकासको आधार बनायो ।
त्यसैगरी, चीनले १९७८ को आधुनिकीकरण अभियान र १९८६ को अनिवार्य शिक्षा कानूनमार्फत् विज्ञान र प्रविधिमा फड्को मार्दै विश्वको आर्थिक शक्ति बन्ने लक्ष्य लियो भने, नर्डिक देशहरु (नर्वे, डेनमार्क, स्वीडेन) ले १९७० को दशकदेखि समानता, सिर्जनशीलता र नागरिकको खुसीलाई शिक्षाको केन्द्रमा राखे । समग्रमा, यी देशहरुले शिक्षालाई केवल ’खर्च’ नभई भविष्यको सुनिश्चित लगानी ठानेर राजनीतिभन्दा माथि राखेकाले नै आज उनीहरु आर्थिक, सामाजिक र प्राविधिक रुपमा विश्वकै नेतृत्व गर्न सफल भएका हुन् ।
विश्वका प्रतिष्ठित संस्था जस्तै वल्र्ड इकोनोमिक फोरम र आधुनिक चिन्तकको पछिल्लो अध्ययनले के देखाउँछ भने, अबको केही वर्षमा हाम्रो परम्परागत विद्यालय पाठ्यक्रमको सान्दर्भिकता निकै कम भएर जानेछ । सन् २०२३ को ’फ्युचर अफ जब्स’ रिपोर्ट अनुसार, प्रविधिको तीव्र विकासका कारण आजका करिब ३०% कामहरु आगामी पाँच वर्षभित्रै हराउन सक्छन् ।
त्यस्तै, सन् २०२५–२६ सम्ममा इन्टरनेटका ९०% सामग्री कृत्रिम बुद्धिमत्ता (AI) द्वारा उत्पादन हुने प्रक्षेपण गरिएको छ । प्रविधिको यो दबाबसँगै मानवीय संकट पनि बढ्दो छ; सामाजिक मनोवैज्ञानिक जोनाथन हाइटको शोधले सन् २०१० देखि २०२० को बिचमा किशोर–किशोरीमा डिप्रेसनको दर १५०% ले बढेको देखाएको छ । यी तथ्याङ्कहरुले प्रष्ट पार्छन् कि भविष्य पहिले जस्तो रहने छैन ।
वास्तवमा, बालबालिकाको सफलता अब केवल पाठ कण्ठ गर्ने वा परीक्षाको पानामा कोरिएका अङ्कमा मात्र सीमित छैन । साँचो सफलता त उनीहरुमा हुनुपर्ने ठूलो सपना देख्ने आँट, ध्रुत गतिमा बदलिँदो परिस्थितिसँग जुध्न सक्ने अनुकूलन क्षमता
(Adaptability) र सामूहिक सहकार्य गर्ने सीपमा निर्भर गर्दछ ।
प्रसिद्ध मनोवैज्ञानिक जीन पियाजे (Jean Piaget) को सिद्धान्तले पनि यही भन्छ कि, बच्चाहरुले केवल तथ्यहरु ’घोकेर’ होइन, बरु आफ्नै ’अनुभव’ र ’खोजतलास’ बाट वास्तविक ज्ञान पाउँछन् । उनीहरुले जब ठूलो सपना देख्ने आँट गर्छन्, समस्यालाई सुल्झाउने नयाँ उपाय खोज्छन् र सबैसँग मिलेर काम गर्ने नेतृत्व क्षमता विकास गर्छन्, तब मात्र उनीभित्र लुकेको वास्तविक प्रतिभा बाहिर आउँछ ।
अर्का शिक्षाविद् लेभ भिगोत्स्की (Lev Vygotsky) को मान्यता अनुसार, बच्चाको सिकाइ तब मात्र प्रभावशाली हुन्छ जब उसले आफ्नो क्षमता अनुसारको नयाँ चुनौती पाउँछ र त्यसलाई पूरा गर्न परिवार वा शिक्षकबाट सही मार्गदर्शन पाउँछ । त्यसैले, अबको शिक्षा केवल किताबमा मात्र सीमित नभई व्यवहार, संस्कार र सीपमा आधारित हुन जरुरी छ ।
हाम्रो शिक्षा प्रणालीमा तीनवटा कुराको मेल हुनु अत्यन्तै जरुरी छ, जसलाई विश्वका सफल देशहरुले आफ्नो जग मानेका छन् । पहिलो हो उद्देश्य (Purpose) । प्रख्यात मनोवैज्ञानिक विलियम डेमन (William Damon) को अध्ययन अनुसार, जब बालबालिकाको जीवनमा एउटा स्पष्ट लक्ष्य हुन्छ, उनीहरु मोबाइल, टिकटक वा फेसबुक जस्ता कुरामा अल्झिनुको साटो आफ्नो रुचिको क्षेत्र (जस्तैः चित्रकला, संगीत वा विज्ञान) मा केन्द्रित हुन्छन् । अमेरिका र क्यानडा जस्ता देशले सानैदेखि बच्चाको रुचि पहिचान गरी उनीहरुलाई सही दिशा देखाउँछन्, जसले गर्दा उनीहरुमा पढाइ र गृहकार्यप्रति स्वतः लगाव बढ्छ ।
दोस्रो अनिवार्य तत्व हो दृढता (Resilience) । एन्जेला डकवर्थ (Angela Duckworth) ले आफ्नो प्रसिद्ध ’ग्रिट’ (Grit) सिद्धान्तमा भनेकी छिन् कि, सफलताका लागि बुद्धिभन्दा बढी ’हार नमान्ने शक्ति’ चाहिन्छ । जापानको शिक्षा प्रणालीले यही सिकाउँछ; जहाँ बच्चा गणितमा असफल होस् या खेलकुदमा गोल गर्न चुकोस्, उसलाई शिक्षक र साथीहरुको सहयोगमा पुनः उठ्न र अभ्यास गर्न प्रेरित गरिन्छ । यसले बच्चालाई ’असफलता नै सफलताको पाठ हो’ भन्ने कुरा बुझाउँछ ।
तेस्रो र झन् महङ्खवपूर्ण कुरा भावनात्मक बुद्धिमत्ता (Emotiona) हो । डेनियल गोलम्यान (Intelligence) को यो अवधारणाले भन्छ कि, आफ्नो रिस नियन्त्रण गर्न सक्ने र अरुको भावना बुझ्ने बच्चा नै भविष्यमा सफल नेता बन्न सक्छ । नर्डिक देशहरु (नर्वे, स्वीडेन) मा झैँ, केवल ’झगडा नगर’ भन्नुको साटो ’रोल प्ले’ र समूहमा समस्या समाधान गर्ने अभ्यास गराउँदा बालबालिकामा सहकार्य र समझदारीको विकास हुन्छ ।
जब विद्यालय र अभिभावक मिलेर यी तीन गुण (उद्देश्य, दृढता र भावना) को विकास गराउँछन्, तब मात्र हाम्रा सन्तान भोलिको चुनौतीपूर्ण विश्वमा जेन–जी पुस्ताले परिकल्पना गरे झैँ आत्मनिर्भर र सफल नागरिक बन्न सक्छन् । नेपालको हालैको जनआन्दोलन र जेन–जी पुस्ताले देखाएको सुशासनप्रतिको भोकले के स्पष्ट पारेको छ भने, अबको राज्यसत्ता केवल ५ वर्षे चुनावी जोड–घटाउ र क्षणिक आश्वासनमा अल्झिनु हुँदैन ।
यदि हामीले साँच्चै समृद्ध र न्यायपूर्ण नेपालको तस्बिर कोर्ने हो भने, त्यसको पहिलो र आधारभूत रङ्गीन मसी ’शिक्षा’ नै हुनुपर्छ । अबको शिक्षा प्रणालीले बेरोजगार प्रमाणपत्र मात्र उत्पादन गर्ने होइन, बरु युवाहरुमा प्रश्न गर्ने सामथ्र्य, प्राविधिक दक्षता र उच्च नैतिक संस्कार भर्नुपर्छ ।
हामीले आजैदेखि यस्तो शैक्षिक जग हाल्नुपर्छ, जहाँ हाम्रा छोराछोरीले भोलि इतिहास पढ्दा गर्वका साथ भन्न सकुन्, ‘हो, नेपालको वास्तविक रुपान्तरण र नयाँ युगको सुरुवात त्यही दिनदेखि भयो, जुन दिन हाम्रा विद्यालयहरुले केबल ’अङ्क’ र ’ग्रेड’ का लागि दौडिन होइन, बरु जीवनको उद्देश्य, दृढ संकल्प र स्वाभिमानी नागरिक बन्ने संस्कार सिकाउन थाले ।
लेखक गैरसरकारी संस्था सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समूहका कार्यकारी निर्देशक हुन् ।
