Goraksha

National Daily

रानीघाट खोलामा चारलेन पुल निर्माण सुरु

गोरक्ष समाचारदाता
दाङ, २१ चैत । पुल निर्माणका लागि सम्झौता भएको म्याद सकिएको सात महिनापछि रानीघाट खोला (काला खोला) मा पुल निर्माणको काम सुरु भएको छ । घोराही–तुलसीपुर चारलेन सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–७ स्थित रानीघाट खोलामा पुल निर्माणको काम सुरु भएको हो ।

काला खोलामा ९० मिटर लम्बाई र २० दशमलव पाँच मिटर चौडाइ रहेको पुल निर्माणका लागि २०७९ असार २९ गते शर्मा सगुन जेभी बुटवलसँग १७ करोड दुई लाख ७९ हजार आठ सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार २०८२ भदौ २ गते पुल निर्माणको काम सक्नु पर्ने भए पनि काम सुरु नै नभएपछि दुई वर्ष म्याद थपका लागि विभागमा सिफारिस गरिएको पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर रामकिसुन चौधरीले जानकारी दिएका छन् । थप गरिएको म्याद अनुसार पुल निर्माणको काम निर्माण कम्पनीले २०८४ भदौ २८ गतेसम्म सक्नु पर्नेछ ।

‘पुल निर्माणका लागि सम्झौता भएको म्यादमा पुल निर्माणको काम हुन सकिन’, पुल सेक्टर कार्यालय बाँकेका इन्जिनियर चौधरीले भने, ‘एउटै सडकमा तीन वटा पुल निर्माणका कारण ढिलाईभएको हो, निर्माण कम्पनीले स्वीकारेको छ, अब थपिएकै मितिमा पुल निर्माणको काम सक्ने प्रतिबद्धता जनाएपछि म्याद थपका लागि विभागमा सिफारिस गरेका छौँ । म्याद थपको अझै टुङ्गो लाग्न सकेको छैन ।’

रानीघाट खोलासँगै शर्मा सगुन जेभीले घोराही–तुलसीपुर सडकखण्डमै ग्वार खोला र हापुर खोलामा पुल निर्माणको काम गरिरहेको छ । खोलामा पुल निर्माण नहुँदा बर्सात्को समयमा घोराही–तुलसीपुर सञ्चालन हुने यातायातका सवारीसाधनलाई सञ्चालनमा समस्या हुने गरेको छ ।