पुरुषार्थको मूल आधार धर्म हो
एकराज शर्मा अधिकारी
धर्मबिना आर्जन गरेको धन चोरी हो, बेइमानी हो । अर्काको चित्त दुखाएर कमाएको धन, गुस खाएर कमाएको धन, कालोबजारी गरेर कमाएको धन, अर्कालाई अन्याय गरेर कमाएको धन धार्मिक कार्यमा लगाउनु हुँदैन ।
धर्मपूर्वक आर्जन गरेको धन धार्मिक कार्यमा लगाउनु पर्छ । त्यसले आफ्नो र राष्ट्रको कल्याण हुन्छ । धर्म कार्यमा धन लगाउने मानिस कहिल्यै पनि गरिब हुँदैन । घरमा कमाउनको लागि पुरुषार्थ गर्नुपर्छ । धन कमाउनको लागि होइन ? धर्म भए धन हुन्छ–हुन्छ कुनै शंका छैन । धनको सदुपयोग भए भोग पनि हुन्छ, आनन्द पनि हुन्छ । धर्मको मूल हो– वेद ।
वेद आध्यात्मिक विद्या हो । वेद अधिनाशी छ । धर्म अधिनाशी छ, ईश्वर अधिनाशी छ । अरु सबै नाशवान छन् । अधिनाशी वस्तुको संरक्षण, संवद्र्धन गर्नुपर्छ भनी शास्त्रहरुले भन्दछन् । नाशवान वस्तुको पछि लाग्नु जीवनलाई दुरुपयोग गर्नु हो । जान्ने मानिस जीवनको महत्व बुझेर संसारमा लम्पट हुँदैनन् । विषय भोगी हुँदैनन् ।
जीवनलाई व्यर्थ बिताउँदैनन् । अभिनाशी वस्तुको अनुसन्धानमा लाग्छन् र सुखी हुन्छन् । धनको ढुकुटी नाशवान छ । धनको ढुकुटी प्रयोग गरेर मानिसले ठुला–ठुला भवन बनाएका छन् । मन्दिर र मस्दिज बनाएका छन् । हावा नछिर्ने, भूकम्पले नभत्किने, आगोले नखाने भवन बनाएका छन् र आफूलाई सुरक्षित ठान्दछन् । तर, ती कुनै सुरक्षित छैनन् । ती अमर हुन सक्दैनन् ।
ती भवनहरु अत्यन्त सुन्दर होलान् तर ती भवनमा बस्ने मानिस अनैतिक भ्रष्टाचारी, लोभी, भोगी, काम लम्पट भए भने ती भवनको के महत्व होला र ? त्यसकारण धनलाई भौतिक दृष्टिले मात्र हेर्नु हुँदैन । धन चाहिँदैन भन्ने कुरा होइन ? धन चाहिन्छ, तर आध्यात्मिक दृष्टिले हेर्नुपर्छ । धनलाई नाश नहुने बैंकमा राख्नु पर्छ ।
त्यो बैंक हो धार्मिक बैंक । आध्यात्मिक विद्यारुपी धन नाश नहुने धन हो । यो धन बढ्दै जान्छ । भौतिक धन घट्दै जान्छ । विद्यारुपी धनलाई सत्कर्ममा लगाउनुपर्छ । सत्कर्मबाट नै ज्ञान प्राप्त हुन्छ । ज्ञानबाट नै यसलोक र परलोक सुख हुन्छ । जुनसुकै दृष्टिबाट हेरे पनि धर्मबिना कसैको कल्याण हुँदैन । सम्पूर्ण ब्रमाण्ड नै धर्ममा अडेको छ ।
आजकाल हामीले कमाएको नाशवान धनले त अनर्थ खडा गर्छ । धन भएको मानिसले कसैले कसैको वास्ता गर्दैन । धनबाट घमण्ड बढ्छ । धन नै झगडाको बिउ हो । आजकालको यो युग ज्ञानी सज्जनको लागि धर्मयुग हो । दुराचारीको लागि अर्थ र कामको युग हो । जो दुराचारी छन् । उनीहरुले भन्ने गर्छन्, यो धर्मको युग होइन ।
धन र भोगको युग हो । धन कमाउ र भोग गर भन्दछन् । व्यक्तिगत स्वतन्त्रता सबैलाई छ । युगले बिगारेको छैन । धर्म गर्न धन नै चाहिन्छ भन्ने कुरा ठिक होइन ? धन नभए पनि धर्म गर्न सकिन्छ । धन त सामान्य साधन हो, सहयोगी हो ।
मानिसलाई सुख र सुविधा दिने साधन हो । धनले त धेरै ठाउँमा धेरै देशमा अनर्थ गरेको छ । धर्मले नै सबैलाई नचाएको छ । धर्मले नै संसारलाई धारणा गरेको छ । नत्र विश्व खरानी नै भइसक्ने थियो । त्यसैले मानवले चार पुरुषार्थ प्राप्त गरी धनको रक्षा गर्नुपर्छ । भावना पवित्र भए धर्म गर्न सकिन्छ ।
धर्मको वास्तविक अर्थ हो– भावना पवित्र राख्नु । धन नलाइकन गर्ने कर्महरु पनि अनेक छन् । दया गर्न धन चाहिँदैन, ईश्वरको नाम लिन धन चाहिँदैन, ध्यान गर्न धन चाहिँदैन, आत्मज्ञान गर्न धन चाहिँदैन, भक्तको हृदयमा भावना भए हुन्छ । भावना शुद्ध भए सबै कुरा पूरा हुन्छ । श्रद्धा र विश्वासको आवश्यकता छ ।
सबैभन्दा ठुलो कुरा हो–आध्यात्मिक भावना । धन नै सबैभन्दा ठुलो कुरा होइन । त्याग, तपस्या, साधना, समर्पण नै ठुलो कुरा हो । बाहिर संसारमा फूर्ति देखाउन र धाग देखाउन धन काम लाग्ला तर अरुमा लाग्दैन । वशिष्ठ धनी थिएनन्, बाल्मीकि कवि धनी थिएनन्, अष्टाबक्र धनी थिएनन्, सुदामा धनी थिएनन्, सबरी धनी थिएनन् ।
उनीहरुले धनको सञ्चय गरेनन् । धर्म प्रचारको लागि धन चाहिँदैन । धार्मिक जागरणको लागि धन चाहिँदैन । आफू दुष्टान्त बनेर अरुलाई प्रेरणा दिन धन चाहिँदैन । धर्म कै आवश्यकता पर्छ । हिन्दु धर्म कै नाताले विश्वमा नेपालले नौलो कृतिमान कायम गरेको हो । धनले गरेको होइन । धर्मले गरेको हो ।
