नयाँ व्यवस्थापनका साथ एसिएन वल्र्ड स्कुल
गोरक्ष समाचारदाता
दाङ, १८ चैत । घोराही उपमहानगरपालिका–१५ स्थित एसिएन वल्र्ड स्कुल नयाँ व्यवस्थापनका साथ सञ्चालन हुन थालेको छ । स्कुलले पत्रकार सम्मेलनको आयोजना गरी विद्यालयको बोर्ड अफ डाइरेक्टर, प्रिन्सिपल, भाइस प्रिन्सिपललगायतको नियुक्त गरेको जानकारी गराएको हो ।
विद्यालयको समग्र शैक्षिक उन्नति र विकासका लागि स्कुलले बोर्ड अफ डाइरेक्टरमा डा प्रकाश सुवेदी, शिशिर सुवेदी, डा.नवीन बोहरा क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा गेहेन्द्रबहादुर बस्नेत, विद्यालयको सिइओ चन्द्रप्रकाश खनाल, प्रिन्सिपलमा शान्तिदेवी हमाल र भाइस प्रिन्सिपलमा कुलबहादुर केसीलाई नियुक्त गरेको जानकारी दिएको हो । यसैगरी मन्टेश्वरी कोअर्डिनेटरमा पुनः लक्ष्मी चौधरी, विद्यालयको शैक्षिक सल्लाहकारमा डा.सुरेश गौतम नियुक्त भएका छन् ।
कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र बस्नेतको अध्यक्षता एवम् घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नगर प्रमुख चौधरीले संस्कारसहितको शिक्षा आजको आवश्यकता भएको बताए । उनले बालबालिकामा संस्कारसहित शिक्षा प्रदान गर्न विद्यालय र अभिभाव दुवैपक्ष जिम्मेवार बन्नु पर्ने बताए । शिक्षा गुणस्तरीय र व्यावहारिक बनाउन सामुदायिक र संस्थागत विद्यालयलाई घोराही उपमहानगरले निगरानी गरिरहेको प्रमुख चौधरीले बताए ।
विद्यालय सिइओ चन्द्रप्रकाश खनालले विद्यालयको आगामी पञ्चवर्षीय योजनाबारे जानकारी गराउँदै समग्र शैक्षिक सुधारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । सूचना प्रविधिको विकाससँगै विद्यालयमा स्मार्ट बोर्डको प्रयोग, विद्यार्थीको क्षमतामा आधारित पठनपाठन, प्रोजेक्ट वर्क, भौतिक विकासलगायतका योजनालाई अगाडि बढाइएको उनले बताए ।
नवनियुक्त प्रिन्सिपल शान्तिदेवी हमालले आगामी शैक्षिक सत्रदेखि ‘एबाकस’ सिकाइ विधिको प्रयोग हुने बताइन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, पत्रकार महासंघका पूर्व अध्यक्षद्वय डा. सुदीप गौतम र दुर्गालाल केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
स्कुलका बोर्ड अफ डाइरेक्टर डा. प्रकाश सुवेदीले विद्यालयको योजनाबारे जानकारी गराएका थिए । स्कुलका बोर्ड अफ डाइरेक्टर शिशिर सुवेदीले विद्यालयको उद्देश्यबारे जानकारी गराएका थिए । मन्टेश्वरी कोअर्डिनेटर लक्ष्मी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका निर्देशक वसन्तप्रसाद रिजालले गरेका थिए ।
