‘उतरदायी पत्रकारिता आवश्यक’
गोरक्ष समाचारदाता
दाङ, १७ चैत । नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसर पारेर महासंघ दाङ शाखाले घोराही उपमहानगरपालिकाको सहयोगमा मिडिया, कानुन र संहिता विषयक दुई दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
तालिमको उद्घाटन गर्दै घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले सञ्चार माध्यमहरूले निष्पक्ष रूपमा सूचना प्रभाव गर्नु पर्ने बताए । सञ्चार माध्यमलाई सबैले विश्वास गर्ने वातावरण निर्माण गर्ने गरी पत्रकारिताको अभ्यास हुँदा त्यसबाट नागरिक समेत लाभान्वित हुने उनको भनाइ थियो । सञ्चार माध्यले सकारात्मक सन्देश प्रवाह गर्नु पर्ने चर्चा गर्दै उनले त्यसो गर्दा समाजमा सकारात्मक सोचको विकास हने विश्वास पनि उनले व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले अहिले उतरदायी पत्रकारिताको आवश्यकता माथि चर्चा गरे । नागरिकका लागि पत्रकारिता क्षेत्रले काम गर्ने भएकाले यो क्षेत्र उतरदायी हुनु पर्ने उनको भनाइ छ । कुनै पनि विषय उठान गर्दा सञ्चारकर्मीहरूले संवेदशिल भएर सूचना प्रवाह गर्नु पर्ने बताए । ‘नागरिकलाई भ्रममा पार्ने गरेर सूचना प्रवाह गर्न हुँदैन’ उनले भने ।
कानुनको पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न उनले नयाँ पुस्तालाई आग्रह गरे । कानुन विपरित अगाडि बढेमा कानुन बमोजिम कारबाही हुने भएकाले यस तर्फ सचेत हुनु पर्ने पोख्रेलले बताए । ‘आचार संहिताको पूर्ण रूपमा पालना गरेर अगाडि बढनु पर्दछ’ उनले भने । पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले सामाजिक विकासमा पत्रकारिता क्षेत्रले भूमिका खेल्नु पर्ने बताए । यसतर्फ सबै सञ्चारकर्मीहरू सचेत हुनु पर्ने उनको भनाइ छ । महासंघका केन्द्रीय सदस्य लिला शाहले सञ्चारकर्मीले मध्यस्तकर्ताको भूमिका खेल्न सक्नु पर्ने बताइन् ।
कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्य अजयदीप शर्मा, महासंघका पूर्व जिल्ला अध्यक्ष केवी मसाल, महासंघका लुम्बिनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय उप महासचिव सुलोचना गौतम, प्रेस सेन्टरका हेमराज परिवर्तनलगायतकाले भनाइ राखेका थिए । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव जेन सागरले गरेका थिए । दुई दिने तालिमको प्रशिक्षकमा महासंघका पूर्व अध्यक्षहरू डा सुदिप गौतम र दुर्गालाल केसी रहेका छन् ।
