राप्ती साहित्य परिषद् दाङद्वारा स्रस्टा सम्मानित तथा पुरस्कृत गर्ने
गोरक्ष समाचारदाता
दाङ १८ चैत । राप्ती साहित्य परिषद् दाङ शाखाले चैत २१ गते शनिवार स्रस्टा सम्मान, पुरस्कृत, साधारणसभा तथा साहित्यिक कार्यक्रम गर्ने भएको छ ।
२०८२ सालको पुरस्कार समर्पणका लागि यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट डा टीकाराम उदासी, कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट हरि पोख्रेल, नेत्रमोहनादेवी साहित्य पुरस्कारकाबाट दिल्लीराज श्रीधर र वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट खगेश्वर भण्डारीलाई पुरस्कृत गर्ने भएको छ ।
यसैगरी यस वर्ष विगतका वर्ष झैँ साहित्यकार तथा लेखक गुरुप्रसाद शर्मा रेग्मी र पुरस्कार संस्थापकको तर्फबाट देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापक लालबहादुर आरसीलाई सम्मान गरिने भएको छ । पुरस्कार समर्पणका लागि प्रतिभा छनोट समिति गठन गरिएको थियो । जसको संयोजकमा राप्ती साहित्य परिषद् केन्द्रका बरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ सदस्यहरूमा केन्द्रीय सचिव शारदा शर्मा र राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका निवर्तमान सचिव प्रकाश केसी रहेका थिए ।
उक्त दिन साहित्यिक कार्यक्रम पनि गरिने राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीले जानकारी दिएका छन् ।
