थारूको रैथाने खाना प्रवद्र्धन व्यावसायिकता र स्वच्छतामा जोड
गोरक्ष समाचारदाता
दाङ, १७ चैत । दाङको चखौरामा रैथाने खाना प्रवद्र्धन तालिम सुरू भएको छ । तीन दिनसम्म चल्ने यो तालिम सोमवार दंगीशरण ३ चखौरास्थित थारू सांस्कृतिक संरक्षण केन्द्रमा सुरू भएको हो ।
यो तालिममा दाङका विशेषगरी थारू समुदायका महिलाको सहभागिता छ । पछिल्लो समयमा आदिवासी थारूको रैथाने खानेकुरा तथा परिकारहरू मासिदैं जान थालेपछि त्यसको संरक्षण तथा प्रवद्र्धनका लागि केन्द्रले उक्त तालिम आयोजना गरेको हो । यो तालिममा करिब ३५ जना थारू समुदायका महिला सहभागी छन् ।
यो तालिम अवधिभरि सहभागीहरूले थारूको परम्परागत खाना, विभिन्न खाले परिकार, संस्कार तथा चाडपर्व विशेषमा पकाइने लगायतका परिकार बनाउने तरिका सिक्नेछन् । त्यस्तै खानालाई कसरी स्वस्थ राख्ने, त्यसको प्रवद्र्धन कसरी गर्ने ? भन्ने विषयमा पनि प्राविधिक तथा सैद्धान्तिक पद्धति पनि सहभागीलाई सिकाइनेछ । पछिल्लो समयमा पश्चिम नेपालमा बढ्दे गइरहेको थारू परिकार तथा परम्परागत खानाको मागसँगै अहिले विभिन्न जिल्लामा थारू होमस्टे एवम् थारू परिकार पाइने होटेल खुल्न थालेका छन् । तर, एकदमै रैथाने तथा परम्परागत तरिकाबाट भने परिकार बन्दैनन् ।
यस्तो अवस्थामा व्यावसायिक क्षेत्रमा समेत थारूको परम्परा र संस्कृती झल्किने खालका परिकार प्रवद्र्धन गर्नका लागि तालिमको आयोजना गरिएको थारू सांस्कृतिक केन्द्रकी उपाध्यक्ष शान्ता चौधरीले बताइन् । यो तालिमका लागि पर्यटन डिभिजन कार्यालय कोहलपुरले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ ।
तालिमको पहिलो दिनमा डिभिजन कार्यालयका अधिकृत कृष्ण बिष्टले रैथाने खाना तथा परम्परागत परिकारबाट पनि पर्यटन प्रवद्र्धन गर्न सकिने बताउँदै त्यसको व्यावसायिक र बजारीकरण गर्दै जाँदा त्यसबाट दीगो आर्थिक उपार्जन पनि गर्न सकिनेमा जोड दिएका थिए । त्यस्तै तालिमको सुरूवातमा खाद्य अनुसन्धान अधिकृत पदम बरालले रैथाने खानाको स्वच्छता, त्यसको स्वास्थ र प्याकेजिङका बारेमा सहभागीहाई जानकारी दिएका थिए ।
यो अवघिमा सहभागीले पश्चिम नेपालका दाङ, बाँके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतलगायत जिल्लामा बसोबास गर्दै आएका थारू समुदायका विभिन्न पारम्परिक तथा रैथाने खानाहरू बनाउन, त्यसको स्वच्छता र दीगोपनाबारे जानकारी हासिल गर्नेछन् । त्यसका लागि विभिन्न समुदायका रैथाने खाना बनाउने प्रशिक्षक समेतको सहभागिता रहेको छ । बुधबार हुने समापनका अवसरमा थारू सांस्कृतिक केन्द्रद्वारा सञ्चालित थारू सांस्कृतिक संग्रहालय परिसरमै सहभागीहरूले बनाएका परिकार प्रदर्शनी तथा त्यसको परीक्षणसमेत हुनेछ । त्यस अवसरमा जिल्लास्थिति उच्च अधिकारी तथा अन्य व्यक्तिको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।
