प्रतिनिधि सभा निर्वाचनको समीक्षा : सहज मतदानको वातावरण आवश्यक
अमरराज आचार्य
दाङ, १६ चैत । घोराहीमा प्रतिनिधि सभा निर्वाचन २०८२ को समीक्षात्मक संवाद कार्यक्रमका वक्ताले निर्वाचनमा मत बदर हुनुलाई चिन्ताजनक भन्दै मतदाता शिक्षा प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।
संवाद समूह लुम्बिनी प्रदेशको आयोजना तथा बेस संस्थाको व्यवस्थापनमा आइतवार भएको संवाद कार्यक्रमका वक्ताले प्रतिनिधि सभा निर्वाचन २०८२ को मत परिणममा देखिएको बदर मत देखिएकाले मतदाता शिक्षालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका हुन् ।
यसैगरी मतदान स्थल टाढा हुँदा र चुनावका दिन सवारीसाधन बन्द गरिँदा मतदातालाई मतदानस्थल पुग्न भएको समस्यालाई पनि अबका निर्वाचनमा सम्बोधन गर्नु पर्नेमा सहभागीको मतैक्यता थियो । कार्यक्रममा बोल्दै संविधान सभा सदस्य तथा नेपाली कांग्रेसकी नेतृ अनिता देवकोटाले मतदाता शिक्षामा कमी हुँदा बदर मतको सङ्ख्या घटन नसकेको बताइन् ।
मौन अवधि ‘मनी अवधि’को रूपमा विकास भएको भन्दै देवकोटाले यसलाई सुधार गर्नु पर्ने बताइन् । निर्वाचनभन्दा अघि मत सर्वेक्षण गरेर सार्वजनिक गर्ने कार्यले मतदातामा प्रभाव पर्ने भएकाले यस्ता खालका कार्य रोकिनु आवश्कय रहेको बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जालमा देखिएको प्रदूषण घटाउनु पर्ने बताए । यसका लागि राज्यले भूमिका खेल्नु पर्ने बताउँदै पोख्रेलले निर्वाचनका क्रममा हुने संवादमा सांसदको भूमिका के हो भनेर स्पष्ट बुझेर अगाडि बढ्न आग्रह गरे ।
पोख्रेलले सांसदको सीमाभन्दा बाहिर गएर आश्वासन बाँड्दा नागरिकमा निराशा छाउनेतर्फ सबै सचेत हुनु पर्ने बताए । मतदान स्थलसम्म सहज रूपमा पुग्ने वातावरण निर्माण गर्न राज्यको निकायबाट पहल हुनु पर्ने उनको भनाइ छ । ‘सबैथोक बन्द गरेर मात्र निर्वाचन सफल हुन्छ भन्ने सोच परिवर्तन हुनुपर्छ, सहज रूपमा सबैलाई मतदानस्थलसम्म पुग्ने परिस्थिति बनाउनुपर्छ’, पोख्रेलले भने ।
कार्यक्रममा नागरिक समाजका सचिव नारायणप्रसाद श्रेष्ठले विगतको तुलनामा निर्वाचनमा सुधार हुँदै गएको बताए । मौन अवधिे दुरुपयोग हुने गरेको बताउँदै श्रेष्ठले मौन अवधिलाई घटाएर २४ घण्टा बनाउनु पर्ने बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले प्रविधिको प्रयोग गरेर निर्वाचन छिटो र छरितो बनाउनु पर्ने बताए । यसतर्फ राज्यले ध्यान दिनु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा महिला अधिकारकर्मी लक्ष्मी आचार्यले यस पटकको निर्वाचनमा ठुला आमसभा कम भएको बताइन् । निर्वाचनमार्फत् संसद्मा युवाको सङ्ख्या वृद्धि भएको उनको भनाइ छ । अधिकारकर्मी सुशीला पौडेलले निर्वाचनका क्रममा जनताका मुद्दामा धेरैभन्दा धेरै छलफल हुनुपर्ने भन्दै महिलामैत्री मतदानस्थलको व्यवस्था गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताइन् ।
जिल्ला अपाङ्ग सञ्जालका चिन्तामणि पौडेलले मतदानस्थलहरू अपाङ्गमैत्री हुन नककेको बताए । अबका मतदानस्थल अपाङ्गमैत्री बनाउनु पर्ने उनको सुझाव थियो । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष नारायणप्रसाद भुसालले यस पटकको निर्वाचनमा उद्योगी व्यवसायीमा चन्दा आतङ्क नदेखिएको बताए ।
निर्वाचनको समयमा लामो समयसम्म सरकारी कार्यालयहरू पेट्रोलियम पदार्थको समस्या भएको उनको भनाइ छ । नागरिक समाजका पूर्व संयोजक राजनीतिक दलहरूले आप्mना कुरा राख्नेभन्दा अरूलाई गाली गर्ने प्रवृत्ति बढेको बताए । यस्तो प्रवृत्तिमा सुधार गर्नु पर्ने उनको भनाइ छ ।
प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख लालसिंह खड्काले स्थानीय तहबाट सहयोग नहुँदा काम गर्दा समस्या भएको बताए । जिल्लामा केही मतदान स्थान थप गरिए पनि नागरिकको अपेक्षा अनुसार हुन नसकेको बताए । कसैलाई मत नदिने मनस्थितिका कारणले पनि मत बदर हुने गरेको प्रमुख खड्काले बताए ।
मतदाता शिक्षाका लागि जिल्लामा कार्यक्रम सञ्चालन गरिएको भए पनि प्रभावकारी हुन नसकेको गुनासो आएपछि आगामी दिनमा यसलाई सच्याएर अगाडि बढ्ने बताए । सबैको सहयोगले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सकिएको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले निर्वाचनको क्रममा सहज रूपमा सञ्चारमाध्यमले रिपोर्टिङ गर्न नपाएको बताए । मतदानस्थलमा मतदान अधिकृतको स्वविवेकको अधिकारका कारण रिपोर्टिङमा समस्या भएको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विनय घिमिरे, नेकपा एमालेका लुम्बिनी प्रदेशका सचिव लक्ष्मण आचार्य, नेकपा लुम्बिनी प्रदेश समिति सदस्य डिल्ली अधिकारी, राप्रपा लुम्बिनी प्रदेश सदस्य सिर्जना रावत पाण्डे, श्रम संस्कृति पार्टीका टोपबहादुर महतराले राजनीतिक दलहरू निर्वाचनको सुधारका लागि आआप्mनो पार्टीबाट पहल गर्नु पर्ने बताएका थिए । उनीहरूले एकले आर्कालाई गालीभन्दा आआप्mना एजेन्डा नागरिक सामु राखेर अगाडि बढ्नु पर्ने बताएका थिए ।
कार्यक्रममा नागरिक समाजका संयोजक निमबहादुर थापा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्मा, पत्रकार शरद अधिकारी, बरिष्ठ अधिवक्ता दीपक रेग्मी, कुसुण्डा समाजका अध्यक्ष धनबहादुर कुसुण्डा, मानव स्वास्थ्य समाजका भूमि परियाले प्रविधिको प्रयोग गरेर निर्वाचनलाई सहज बनाउन सकिने बताएका थिए ।
नाबालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्न नहुनेमा उनीहरूको जोड थियो । कार्यक्रमको सहजीकरण संवाद समूह लुम्बिनीका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गरेका थिए ।
