स्थानीय उत्पादनको प्रयोग, राष्ट्र समृद्धिको आधार
गोरक्ष समाचारदाता
दाङ, १६ चैत । घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा युवा उद्यम विशेष कार्यक्रम सम्पन्न भएको छ । महोत्सवको १० दिने विशेष कार्यक्रम अन्तर्गत आइतवार युवा उद्यमशीलता विशेष कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारासहित सञ्चालनमा रहेको ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव–२०८२’ मा युवा उद्यशीलता विशेष कार्यक्रम अन्तर्गत वक्तृत्वकला प्रतियोगिता भएको थियो ।
‘स्थानीय उत्पादनको प्रयोग राष्ट्र समृद्धिको आधार’ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा सुप्रिया शर्मा प्रथम, ऋतिका बुढाथोकी द्वितीय र विजया घर्ती तृतीय भएका थिए । सहभागी प्रतिस्पर्धीले स्थानीय उत्पादनको प्रयोग गर्ने बानीको विकास गर्नु पर्ने बताएका थिए ।
सबैले स्थानीय उत्पादनलाई प्राथमिकता दिनु पर्ने बताएका थिए । स्थानीय स्रोत र साधनको प्रयोग गरेर साना तथा घरेलु उद्योग सञ्चालन भइरहेकाले स्थानीय उत्पादनको प्रयोगले ती उद्योगको प्रवर्धन हुने बताएका थिए ।
स्थानीय उत्पादन गर्ने उद्योगको विकासमा ध्यान दिनु पर्ने बताए । विशेष कार्यक्रम संयोजक शरद अधिकारीको अध्यक्षता एवम् घोराही उपमहानगरपालिका उद्योग प्रवर्धन शाखा प्रमुख ईश्वरी पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले स्थानीय तहबाट सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै उद्यमीलाई प्रोत्साहित गर्ने काम गरिरहेको बताए । उनले घोराही उपमहानगरपालिकालाई उद्योगमैत्री बनाउने अभियानमा आँफूहरू रहेको बताए । उद्यमशीलता समाजको विकासको एक दियो भएको उनले बताए ।
‘साना उद्योगबाटै उद्यमशीलताको विकास हुन्छ, त्यसैले साना उद्यमीलाई प्रोत्साहन गर्न आवश्यक छ’, उनले भने, ‘ती साना उद्योगले उत्पादनमा परिणाम देखाउने गरी काम गर्न आवश्यक छ, जसमा हामीले उपमहानगरपालिकाबाट काम गरिरहेका छौँ ।’
कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष एवम् महोत्सवमा आयोजक मूल समितिका संयोजक लव अधिकारीले यस महोत्सवमा उद्योगीको विषयलाई ध्यानमा राखेर विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको बताए ।
साना तथा घरेलु उद्योगको क्षेत्रमा युवाहरूको आकर्षण लोभलाग्दो देखिए पनि उत्पादित वस्तुको बजारीकणमा समस्या हुँदा केही निराशा देखिने गरेको बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले स्थानीय उत्पादनको बजारीकणका लागि स्थानीय तह गम्भीर भएर लाग्नु पर्ने बताए ।
उनले उद्योगी व्यवसायीलाई सहज रूपमा व्यवसाय गर्न पाउने वातावरण सिर्जना गर्न अनुरोध गरे । उद्योग वाणिज्य संघले स्थानीय उत्पादन गर्ने उद्योगीलाई प्रोत्साहनसहित सहयोग गरिरहेको उनको भनाइ छ । कार्यक्रममा युवा उद्यमीहरू विवेक अधिकारी, हिसिला वली, गणेश न्यौपाने, वीरेन्द्र खड्कालगायतले उद्यमी यात्राको अनुभवसहित भनाइ राखेका थिए ।
उनीहरूले प्रविधिको प्रयोग गरेर उद्यमशीलता गर्न सके सहज वातावरण हुने बताउँदै सरकारी निकायबाट हुने समस्याका समाधानका लागि सरकार गम्भीर बन्नु पर्ने बताए । प्रतियोगितामा विकिरण गौतम, लक्ष्मी आचार्य र शरद अधिकारी निर्णायक रहेका थिए । कार्यक्रम संयोजक विनोद केसीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रचारप्रसार संयोजक आरके शीतलले गरेका थिए ।
सोमवार शान्ता रानीको प्रस्तुति
महोत्सवमा सोमवार चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ । जसमा पछिल्लो समय लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका शान्ता रानी परियारको प्रस्तुति रहने छ । लोकदोहोरी क्षेत्र र स्टेच कार्यक्रममा आफूलाई अब्बल सावित गरेकी गायिका परियारका दर्जनौँ गीतहरू लोकप्रिय छन् ।
