Goraksha

National Daily

महोत्सवमा निशुल्क स्वास्थ्य शिविर, सात सय बढीले लिए सेवा

गोरक्ष समाचारदाता
दाङ, १५ चैत । घोराहीमा जारी प्रदेश स्तरीय महोत्सवमा सात सय बढीले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । प्रदेश स्तरीय महोत्सवमा भइरहेका विशेष कार्यक्रम अन्तर्गत शुक्रवार र शनिवार दुई दिन भएको निःशुल्क स्वास्थ्य परीक्षण एवम् आँखा जाँच शिविरमा सात सय बढीले स्वास्थ्य सेवा लिएका हुन् ।

घोराही उपमहानगरपालिका, नेपाल नेत्रज्योति संघ, बिएस डाइग्नोस्टिक एन्ड पोलिक्लिनीकको प्राविधिक सहयोगमा भएको शिविरमा निःशुल्क रगत, पिसाब जाँच, आँखा जाँच गरिएको थियो भने निःशुल्क परामर्श सेवा प्रदान गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष एवम् महोत्सव आयोजक मूल समितिका संयोजक लव अधिकारीले जानकारी दिका छन् ।

महोत्सवमा बद्रीले नचाए

घोराहीमा जारी प्रदेश स्तरीय महोत्सवमा गायक बद्री पङ्गेनीको प्रस्तुतिसँगै दर्शक छमछमी नाचेका छन् । शनिवार गायक पङ्गेनीको प्रस्तुतिमा दर्शक छमछमी नाच्दै रमाए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको फागुन २८ देखि चैत १५ गतेसम्म ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारासहित सञ्चालनमा रहेको ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव–२०८२’ मा शनिवार गायक पङ्गेनीले ‘झ्याप्पै आइन मगर्नी, रामपुर बजारमा देखेको, सुर्खेत बुलबुले जाऔँला, चप्पल छिनियो, बसे है पाले दाइ गेट नलाई नलाई, ससुरालीमा, ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’लगायतका गीत प्रस्तुत गरेका थिए ।

महोत्सवमा शनिवार कलाकारहरू गायिका सजना श्रेष्ठ, गायिका बिमला खड्का, गायक प्रेम शर्मा, मोडल जमुना सुनार, अस्मिता शर्मा, वर्षा मगरलगायतको प्रस्तुति रहेको थियो । महोत्सवमा आइतवार मोडल गङ्गु क्षेत्री, गायक सुकदेव अधिकारी, गायिका सुशीला थापालगायतका कलाकारको प्रस्तुति रहने महोत्सवमा सांस्कृतिक संयोजक गोपाल गिरीले जानकारी दिएका छन् ।