२२ औँ वार्षिक साधारणसभा तथा ४८ औँ नेत्रज्योति दिवस
आाँखा अस्पतालले दिँदै आएको सेवा उत्कृष्ट
बालाराम खड्का
तुलसीपुर, १५ चैत । नेपाल नेत्रज्योति संघ दाङ शाखले २२औँ वार्षिक साधारणसभा तथा ४८ औँ नेत्रज्योति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताले नेत्रज्योति संघ अन्तर्गत सञ्चालित आँखा अस्पतालले दिँदै आएको आँखा उपचार सेवा राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा गौरव गर्नलायक भएको बताएका छन् ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति कृष्णकुमार गिरीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले नेत्रज्योति संघ अन्तर्गतका अस्पतालले दिने सवा उत्कृष्ट भएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्राडा पन्तले २०३५ सालमा विशुद्ध सामाजिक, मुनाफारिहत गैरसरकारी संस्थाको रूपमा स्थापना भएको नेपाल नेत्रज्योति संघले नेपालमा सर्वसुलभ आँखा र कानको उपचार सेवा उपलब्ध गराउँदै आएको बताए । दाङ शाखाले अन्धोपन न्यूनीकरणका लागि स्थापनाकालदेखि महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए ।
‘आँखा स्वास्थ्य सेवामा प्रतिरोधात्मक, उपचारात्मक, प्रवर्धनात्मक तथा पुनस्थात्मक कार्यका लागि अग्रणी भूमिका नेपाल नेत्रज्योति संघले खेल्दै आएको छ’, प्राडा पन्तले भने । अन्धोपन न्यूनीकरणमा अनेक चुनौती भए पनि त्यसलाई चिर्दै आँखा स्वास्थ्य सेवा सहज रूपमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएकोमा प्राडा पन्तले जिल्ला शाखा दाङका आजीवन सदस्य, कार्यसमिति, समाजसेवी, कर्मचारी, संघसंस्था, स्थानीय, प्रदेश सरकार, विकास साझेदारी संस्था तथा आँखा सेवासँग सम्बन्धित सबैमा सम्मान व्यक्त गरे ।
उनले आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत सञ्चालित अस्पतालहरूमा विभिन्न भौतिक निर्माण भइरहेको र निर्माण सम्पन्न भए सेवाग्राहीलाई थप सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा विशिष्ट आतिथि पूर्वमन्त्री मेटमणि चौधरीले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित आँखा अस्पतालहरूको सेवा प्रभावकारी भएको भन्दै एउटा गर्विलो संस्थाको रूपमा परिचित भएको बताए ।
वार्षिक साधारणसभाका विशिष्ट आतिथि तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले नेपाल नेत्रज्योति संघले दृष्टिविहीनता न्यूनीकरणका लागि अग्रणी भूमिका खेलेको बताए । राप्ती आँखा अस्पताललगायतका अस्पतालमा विशिष्टीकृत सेवालाई बढाउँदै लैजानु पर्ने बताउँदै नगर प्रमुख खड्काले आफ्नो क्षेत्रबाट हुने सहयोग रहने बताए ।
साधारणसभा तथा दिवसमा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले आफ्नो पालिकाबाट दृष्टिविहीनता न्यूनीकरणका लागि प्रत्येक वर्ष बजेट विनियोजन गर्नुका साथै भौतिक निर्माणमा सहयोग आएको बताइन् ।
साधारणसभामा सभापति कृष्णकुमार गिरीले संघद्वारा सञ्चालित आँखा अस्पतालहरूले दृष्टिविहीनता न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याएको बताए । यसको थप विकास र विस्तारमा आगामी दिनमा पनि निरन्तर तत्पर रहने बताए ।
दृष्टिविहीनता न्यूनीकरणमा सहयोग गर्ने सम्बन्धित सबैलाई धन्यवाद दिँदै उनले भने, ‘आँखा स्वास्थ्य सेवाको विकास र विस्तारमा सहयोग गर्ने सबैमा धन्यवाद दिन चाहन्छु, आगामी दिनमा पनि साथ र सहयोग अपेक्षा गर्दछु ।’ कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङ शाखाका संस्थापक सदस्य नेत्रमणि लामिछाने, तुलसीपुर नगरपालिका पूर्वमेयर ढुण्डीराज लामिछाने, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदमप्रसाद न्यौपाने, राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरका अध्यक्ष हरि रिजाल, यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सल्लाहकार सुरेश हमाल, पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतलगायतले आँखा अस्पतालको विकास र विस्तारमा सबैले सहयोग गर्नु पर्ने भन्दै आगामी दिनका लागि शुभकामना दिएका थिए ।
वार्षिक साधारणसभामा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित अस्पतालले स्थापनाकालदेखि दिएका सेवा दृष्टिविहीनताको अवस्थाबारे जानकारी गराएका थिए । प्रमुख प्रशासक डा. थापाले हालसम्मका उपलब्धि साझेदारी कार्यक्रमका साथै भावि कार्यक्रमबारे जानकारी गराएका थिए ।
वार्षिक साधारणसभामा नेपाल नेत्रज्योति संघ दाङ शाखा सचिव घनश्याम सुवेदीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्यामप्रकाश आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम सुवेदीले गरेका थिए । यसैबिच नेपाल नेत्रज्योति संघ दाङ शाखाले २२ औँ वार्षिक साधारणसभा तथा ४८ औँ नेत्रज्योति दिवसमा संस्थापक अध्यक्ष रणबहादुर शाह, संस्थापक सदस्यहरू नेत्रमणि लामिछाने, ओमप्रकाश गुप्ता, डा.सनतकुमार श्रेष्ठ, उपभापति रेशमबहादुर खड्कालाई सम्मान गरेको थियो ।
वार्षिक साधारणसभामा नेत्रज्योति पुरस्कारबाट लमही आँखा अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. वसन्त पन्त, बरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्मा, नेत्रसहायक सिर्जना खनाल, सुलीचौर आँखा सर्जिकल सेन्टरका नेत्रसहायक केशर डाँगी, बाह्य कार्यक्रम सहसंयोजक पूर्णबहादुर वली, कार्यालय सहयोगी विजेता चौधरीलाई पुरस्कृत तथा सम्मान गरिको थियो । सो अवसरमा विभिन्न समयमा अस्पताललाई सहयोग गर्ने स्थानीय निकाय, संघसंस्था, व्यक्ति र साधारणसभा सफल पार्न सहयोग गर्ने सहयोगीदातालाई सम्मान गरिएको थियो ।
