वडाध्यक्ष कप फुटबलु प्रतियोगिताको उपाधि कमानपुर क्लबलाई
टेकबहादुर पुन
देउखुरी,११ चैत । । वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि कमानपुर युवा क्लवले जितेको छ । बुधवार भएको प्रतियोगिताको फाइनल खेलमा नवज्योति युवा क्लवलाई ३–१ गोल अन्तरले हराउँदै कमानपुर युवा क्लवले उपाधि जित्न सफल भएको हो ।
प्रतिस्पर्धात्मक खेलमा कमानपुर युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो । खेलको सुरुवातमै नवज्योती युवा क्लबले अग्रता लिँदै पहिलो गोल गरेको थियो तर त्यसपछि खेलमा कमानपुर युवा क्लबले प्रभावशाली पुनरागमन गर्दै लगातार तीन गोल गर्न सफल भयो । अन्ततः कमानपुरले नवज्योतीलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो ।
उपाधि विजेता कमानपुर युवा क्लबले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता नवज्योती युवा क्लबले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा वडा नम्बर ७ भित्रका कुल ६ वटा क्लबहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिता नवज्योती युवा क्लब, लमही–७ बनघुस्रीको आयोजनामा तथा वडा नम्बर ७ कार्यालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको थियो । प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास तथा युवाहरुमा खेलप्रति आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरुले बताएका छन् ।
आयोजक क्लबका अध्यक्ष सागर चौधरीको अध्यक्षता तथा वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम समापन गरिएको हो । पुरस्कार बितरण गर्दै प्रमुख अतिथी गिरीले युवाहरुको क्षमता उजागर गर्न तथा अनुशासन र नेतृत्व विकासका लागि खेलकुद अपरिहार्य माध्यम भएको बताए । “युवा शक्ति सही दिशामा अघि बढ्न खेलकुदले महत्वपूर्ण भूमिका खेल्छ,” उनले भने, “यस्ता प्रतियोगिताले गाउँ–समाजमा आपसी भाइचारा, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुर्याउँछ ।”
गिरीले वडा कार्यालयले आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक सहयोग गर्ने आश्वासन दिए । उनले प्रतिभाशाली खेलाडीहरुलाई पहिचान गरी ठूला प्रतियोगितासम्म पुर्याउन स्थानीय तहले पहल गर्नुपर्ने धारणा राखे । त्यसैगरी, उनले आगामी १५ गतेदेखि सुरु हुने मेयर कप फुटबल प्रतियोगिताका लागि यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरिने उल्लेख गर्दै वडाको प्रतिनिधित्व गर्दै राम्रो प्रदर्शन गर्न खेलाडीहरुलाई शुभकामना दिए ।
कार्यक्रममा वडा सदस्यहरु केदार चौधरी, उर्मिला चौधरी र सुनमाली बिकको समेत सहभागिता रहेको थियो । कार्यक्रममा सृष्टि चौधरीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने समाजसेवी तथा बुद्धिजीवी किशोर कुमार घर्ती मगरले शुभकामना मन्तव्य राखेका थिए । उक्त प्रतियोगिता आगामी १५ गतेदेखि सुरु हुने मेयर कप फुटबल प्रतियोगिताका लागि वडा स्तरबाट खेलाडी छनोट गर्ने उद्देश्यसहित आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
