सञ्जीवनी टिचिङ अस्पतालमा एमआरआई सेवा सुरु
दाङ, ११ चैत । घोराही उपमहानगरपालिका–३ बर्गदवामा रहेको तीन सय शय्याको सन्जीवनी टिचिङ अस्पतालमा सुविधासम्पन्न एमआरआई सेवा सुरु भएको छ । दुई महिनाअघि माघदेखि सञ्चालनमा आएको अस्पतालले बुधवारदेखि १.५ टेस्ला क्षमताको हिलिएम फ्रि अत्याधुनीक स्क्यान क्षमता भएको मेशिनबाट एमआरआई सेवा सुरु गरेको हो ।
३०० शय्याको शिक्षण अस्पतालले एमआरआईसहित अत्याधुनिक उपकरण सञ्चालनमा ल्याएको अस्पतालका रेडियोलोजी विभाग प्रमुख कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा.जेसन केसीले जानकारी दिएका छन् । उनका अनुसार मेसिनमा डिप रिजोल्भ भन्ने एआइ टेक्नोलोजि प्रयोग हुने भएका कारण स्क्यान समय छिटो र इमेज गुणस्तर राम्रो बनाउने बताए ।
यसमा मुटुको एमआरआइ गर्दा अटोमेटेड पोजिसनिङ हुने हुँदा छिटो र इमेज गुणस्तर राम्रो आउने बताए । साथै अस्पतालमा सोही कम्पनीको १९२ स्लाइस क्षमता भएको सिटी स्क्यान सेवा सुरु गरिएको बताए । उनले भने,‘सिटी स्क्यानमा टिन फिल्टर प्रयोग भएको हुँदा नचाहिने रेडिसन रोकिने र चाहिने रेडियसन मात्र प्रयोग हुने जसका कारण मेशिनले कम रेडियसनमा पनि राम्रो इमेज निकाल्छ ।’ उनका अनुसार सिटी स्क्यान मेशिनमा एआइ प्रविधिको प्रयोग गरी कम रेडियसनमा उच्च गुणस्तरको इमेज निकाल्न सकिने बताए ।
अस्पतालले एमआरआईसँगै सिटी स्क्यान, डिजिटल एक्सरे, मेमोग्राफी, अल्ट्रासाउण्ड, इसिजी, इकोकार्डियोग्राफी, इण्डोकोस्पकोपी, कोलोनोस्कोपीलगायतका उपकरण जडान गरेर सेवा दिन सुरु गरेको सन्जीवनी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दिपक रोकाले जानकारी दिएका छन् । उनका अनुसार अस्पतालले जनरल फिजिसियन, अर्थोपेडिक्स, गाइनोकोलोजी, जनरल सर्जरी, साइक्रायाट्रिक, डर्माटोली, पेडियाट्रिक, ग्यास्ट्रोइन्टेरोलोजी, कार्डियोलोजी, ईएनटी, डेन्टल, नेत्र रोगलगायतका विशेषज्ञ सेवाहरु प्रवाह गर्नेछ । यसैगरी डिजिटल एक्सरे, भिडियो एक्सरे, मेमोग्राफि, सिटी स्क्यान र एमआरआइ सेवा उपलब्ध छन् ।
अस्पतालका सिइओ रोकाले यस क्षेत्रका विरामीको लागि अत्याधुनिक प्रविधिको एमआरआइ, सिटी स्क्यान लगाएतका सेवाहरु प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । त्यसैगरी अस्पतालमा मिर्गौला डायलाइसिस, फिजियोथेरापीलगायतका सेवाहरु पनि उपलब्ध हुने हस्पिटलले जनाएको छ । चार अर्ब लगानीमा बनेको हस्पिटल आफ्नै स्वामित्वको पाँच विगाहा क्षेत्रफलमा फैलिएको ९ वटा अत्याधुनिक भवनहरु निर्माण गरेर सेवा दिन सुरु गरेको छ ।
