Goraksha

National Daily

नेपाली सभ्यता र गौरवलाई जीवन्त राखौँ

नारायणप्रसाद श्रेष्ठ

प्राचिन ऋषिमुनिको तपोभूमि देवताले बास गरेको पुण्यभूमि नेपालका हामी नेपाली आस लाग्दो भविष्य बनेर विश्वसामु उदाइरहेका छौँ । भुगोलको दृष्टिले सानो भएर पनि सबैको आँखाको नानी भई विश्व इतिहासमा पहिचान दिएका छौँ । स्वतन्त्र अस्तित्व कायम राख्दै स्वाभिमानी नेपाली भएर यसको गरिमा बढाएका छौँ ।

हाम्रो नेपाल, शान्त र प्राकृतिक मनोरम छटाले भरिएको सुन्दर संसार हो । यहाँका हिमशिखर, झरना, खोलानाला, पहाड पर्वत, उर्वराभूमि, तराईका फाँट आफैमा विशिष्ट पहिचान बोकिरहेका छन् । प्रत्येक नेपाली दाजुभाइ दिदीबहिनीहरु आफैमा स्वाभिमान भएर स्वतन्त्र रुपले बाँच्न र बचाउने संकल्पका साथ बाँचिरहेका छन् । यहाँ कोही कसैको वर्ग शत्रु छैनन् ।

हामी सबै रचनाकारका एउटै बंशका मानव भएर बाँचेका छौँ । मानव–मानव बिचको सुमधुर सम्बन्ध हाम्रो आचरण र व्यवहारले परिस्कृत हुँदै आएको छ । हाम्रै पवित्र आचरण र व्यवहारले हाम्रो संस्कृति र संस्कार पनि युगौँदेखि जीवन्त रहँदै आएको छ । आपसी सहयोग र सद्भाव हाम्रो प्राचिन सभ्यताभित्र लुकेको आदर्श हो । हाम्रो उद्देश्य सुन्दर र शान्त नेपाल हो । यहाँका हरेक प्राकृतिक सम्पदा र भौगोलिक विविधता तथा विशिष्ट आचरण नेपालको अस्तित्व कायम गर्न सधैं एकताबद्ध भएर अगाडि बढेको इतिहास छ ।

सुन्दर र शान्त नेपालको आफ्नै विशिष्ट आचरण स्वरुप नेपाली भूमि शान्तिको उद्गम स्थल भएर विश्व सामु पहिचान बनिरहेको छ । साँच्चिकै भन्ने हो भने नेपाल विदेशी मित्रहरुको आँखामा भूस्वर्ग भएर विश्वसामु चिनिएको छ । नेपाली आदर्श र इमान्दारिताले विश्व मानचित्रमा अझै पनि उच्च शिर भएर बाँच्ने आधार तयार गरेको छ ।

यसरी आफ्नै बुद्धि र विवेकले मलजल दिए हुर्काइ बढाएको स्वतन्त्र र अभिभाज्य नेपालको स्वाभिमानमा एक्काइसौँ शताब्दीको हवाला दिँदै विकास र समृद्धिको नारा दिई नेपालको राजनीतिक परिदृश्यले यसको अस्तित्वमाथि धमिरा लगाउन खोजेको होकि जस्तो पनि देखिँदै गरेको पाइन्छ । राजनीतिमा देखिएको व्यक्तिवादी चरित्र र अहंकारयुक्त राजनीतिक सोचले यसको विशिष्टता माथि विभिन्न समयमा विभिन्न हतकण्डा गरिएको पनि यथार्थ छ । कहिले के कहिले के–को नाममा नेतृत्वबाट विदेशीको गुलाम बन्ने चरित्र प्रदर्शन नभएको पनि होइन ।

सोझा र निस्वार्थ सेवामा समर्पित नेपाली आचरण र आदर्शको गलत फाइदा उठाउन खोज्ने प्रवृत्तिको कारण यसको गरिमामा आच पु¥याउन नखोजेको पनि होइन । काग कराउँछ पिना सुक्छ भन्ने उखान झैँ जनताले जति नै आवाज दिए पनि नेतृत्वले जनताको आवाज नसुनिरहेको कारण राष्ट्रले क्षति व्यहोरेको इतिहास पनि प्रष्ट छ । सञ्चार र सूचनाले साँघुरिएको विश्व जगतको व्यवहार र उसको भावी उद्देश्यलाई नबुझी क्षणिक लोभ र मोहमा फस्दै नेपालको उच्च छविलाई विश्व मानचित्र भित्रको साम्राज्यवादी चिन्तनभित्र लम्पसार पर्ने चरित्र पनि नेतृत्ववाट नभएको होइन ।

नैतिकता बिनाको राजनीतिक चरित्र प्रदर्शन गरी आफू र सिङ्गो नेपाललाई बदनाम गराउनेतर्फ विगतमा नीतिज्ञको ध्यान केन्द्रित नभएको पनि होइन । म नै सबै हुँ । अरु त केही पनि होइनन्, जान्दैनन् भनी अहंकारीयुक्त राजनीतिक घमण्डले राष्ट्रिय स्वार्थभन्दा व्यक्तिवादी चिन्तन हाबी भइरहेको यथार्थ पनि यहाँ प्रस्टै देखिने गरी छरपस्ट भयो । विवेकलाई पैसामा सौदा गर्दै सत्ता, महत्ता, प्राप्त गर्ने होडबाजीमा आफ्नो अस्तित्वलाई साँगुरो घेराभित्र सीमित गर्न नखोजिएको पनि होइन ।

बनावटी सिद्धान्तभित्र आफूलाई योग्य र इमान्दार नेतृत्वकर्ताको रुपमा प्रस्तुत गर्ने जमर्को पनि यहाँ भएकै हो । यसरी आफ्नो पौराणिक मान्यता बोकेको हाम्रो मौलिक संस्कृति परम्परा तथा सभ्यतालाई बिर्सी क्षणिक स्वार्थमा अलमलिनु कति उपर्युक्त ? राजनीति अवसर हो, योग्य र इमान्दार कार्यकर्ताको जमात हो भन्ने कुरा बिर्सिएर पद र प्रतिष्ठाभित्र आजीवन रमाउने चेष्टा भएकै कारण अहिलेको परिवेश देखा परेको कुरालाई नकार्न सकिँदैन ।

म वा हामी पछि पनि हाम्रो उत्तराधिकारी हुन्छन् उनीहरुलाई पनि सही स्पस्ट दिशा निर्देश गर्नुपर्छ, सक्षम गराउनु पर्छ भनी संकल्प गर्ने हाम्रो सभ्यतालाई बिर्सिएर आफूले आफैलाई भुल्नु कति जायज ? समय परिवर्तनशिल हुन्छ, समय सापेक्ष अरुले पनि अवसर पाउनुपर्छ भन्ने सोच नराखी म अमर छु, म कहिले बुढो पनि हुनु पर्दैन र मैले नै सबै गर्न सक्छु भन्ने अहंकारयुक्त सोचले राष्ट्र र राष्ट्रियता प्रतिको जिम्मेवारी कमजोर बनाउनु के यो दुर्भाग्य होइन र ? यसले ल्याउने परिणाम भयंकर हुनसक्छ भनी अटकल गर्न नसक्नु के यो राजनैतिक असक्षमता होइन ?

जसको फलस्वरुप आफूलाई सर्वेसर्वा ठान्ने व्यक्ति नराम्रोसँग पछारिनु, वर्तमान अवस्थाले प्रष्ट गरेको छ । पद प्रतिष्ठा र मर्यादालाई समेत वास्ता नगरी नियत बंश अरुलाई पन्छाइ म स्वयम् सबै हँु भन्ने अहंकार जगाउनु के यही हो नेपालीको आदर्श ? स्वार्थको कारण हिजो आफूलाई सर्वे सर्वा भन्ने नेतृत्व पनि अहिले विलिन हुने अवस्थामा पुगेको यथार्थ अहिले प्रष्ट देखिएको छ । तसर्थ यसलाई गम्भीर भएर चिन्तन गर्न जरुरी छ ।

सुन्दर शान्त विशाल वटवृक्षको छहारीमा रहेर विश्व मानचित्रमा भूस्वर्ग मानिएको नेपाल र नेपालीको चाहना शान्ति र सद्भाव मानिन्छ । सदियौँदेखि स्वतन्त्र भएर रहेको, दुःखकष्ट गरी आर्जेको अस्तित्वमाथि केही स्वार्थपरक नेताहरु आफै बोक्सी आफै झाँक्री बन्नु कति सुहाउँदो विषय हो ? हिजो नेपाल र नेपालीको अस्तित्वमाथि धमिराको काम गर्ने जुन प्रयास भयो त्यसले वर्तमान नेपालीको मन चिडिएकै हो । नारी अस्मिता बचाउने नाममा आफ्नै आमा नेपाल आमाको छाति टेक्ने दुस्साहस देखाउनु सुहाउँदो कुरा होइन । हिजो यस्तो प्रदर्शन भएकै हो ।

नेपाली मनको पवित्रताभित्र रहेको आदर्शलाई पन्छ्याई गलत स्वभावकालाई काखी च्यापी, राष्ट्रिय अस्मितामाथि आँच पु¥याउन खोज्नु हाम्रो आदर्श विपरित हो । आपसी विश्वासको संकटले आफ्नो आङमा भैंसी हिँडेको नदेख्ने अर्काको आङमा जुम्रा देख्ने जुन प्रवृत्ति नेतृत्वमा मौलाएको थियो यसले निश्चय पनि नेपाली मनमा घात पु¥याउन खोजे कै हो । नेतृत्वको गलत आचरणको कारण एकले अर्कालाई दोषारोपण गर्दै भ्रष्ट र भ्रष्टाचार प्रवृत्ति मौलाउनु जनताको कुरा सुन्न नसक्नु स्वयम् नेता नाङ्गिदै गरेको इतिहास होइन र ?

गलत मनसाय राखी अकुत सम्पत्ति जोड्ने नेतृत्वको गलत आचरणले मौलाउँदै गरेको भ्रष्टाचार जन्य अपराधले राष्ट्रलाई निकै चोट पनि परेको कुरा अहिले छर्लङ्ग हुँदै आएको छ । आफ्नो लागि वकिल अरुको लागि न्यायाधीश बनेर प्रस्तुत हुने नेतृत्वको राजनीतिक चरित्रले सिङ्गो मुलुकलाई एकाधिकारवादी चिन्तनभित्र जगट्न खोजिएको कारण अहिले राष्ट्रको अस्तित्व माथि प्रश्न उठाउने गरेको देखिन्छ ।

प्राकृतिक स्रोत र साधनले सम्पन्न भएर पनि आफ्नो अस्तित्व ग्रहण गर्न अरुको निर्देश पर्खनु पर्ने अवस्था जन्माउन खोजिनु निकै दुःखद विषय पनि हो । जलस्रोतको धनी भएर पनि जलस्रोत माथि नै विभिन्न किसिमका सम्झौता गरेर अरुको दास बन्ने जुन मनोवृत्ति राजनीतिक चरित्रमा देखियो त्यसले देशको राष्ट्रिय अस्मितामाथि आघात पुगेको अहिले चर्चाको विषय बनेको छ । सुनको थालीमा भिक्षा माग्ने जुन किसिमको परिपाटी नेतृत्व तहबाट भए गरेको देखियो त्यो वास्तवमा नेपाल र नेपालीको लागि दुर्भाग्य मानिन्छ ।

समय, आचरण र व्यवहारको पहिचान गर्न नसकी नेतृत्वबाट जुन किसिमको आचरण र व्यवहार भई नेपालको गरिमामा आज पुग्नेगरी नेतृत्वले पैसा र शक्ति प्राप्तिको मोहमा जसरी आफ्नो आदर्शलाई छताछुल्ल बनाइरहेका थिए र छन् पनि यो वास्तवमा स्वतन्त्र नेपालीको लागि दुर्भाग्य मान्नुपर्छ । जनताको लागि राजनीति गरेका हौँ भनी झुटो आश्वासन दिई जनता झुक्याउने जुन चरित्र नेताबाट भयो यसले नेपाली मन दुखेको, चिन्ताको विषय बनेको अहिले पर्दाफास भएको छ ।

म नै सर्बे सर्वा हुँ भन्ने तथा राजनीतिमा छक्कापञ्जा गर्नु, प्रतिसोध साध्न खोज्नु कुनै ठूलो कुरो होइन, छिट्की हान्ने प्रवृत्ति, हिजो पनि थियो, आज पनि छ भनी सीमित घेराभित्र जनता झुक्याउने राजनीतिक चरित्रको कारण अहिले वर्तमानको परिवेश देखा परेको यथार्थ हाम्रो सामु छ । तसर्थ स्वर्ग जस्तो प्राकृतिक स्रोतको धनी भएर पनि नेपालीको अवस्था कहिलेसम्म यस्तै राख्ने हो, पिँध नभएको लोटा झैँ कहिले यता कहिले उता ढल्कने चरित्र अब कति दिन टिक्ने हो ? यस्तो मनोवृत देखाउनु अवसरवादी चरित्र हो वा होइन ?

यसको अब गहिरिएर समीक्षा गर्नु पर्ने भएको छ । तसर्थ हामी यति भन्छौँ । सही र स्पष्ट नीति अहिलेको आवश्यकता हो । समय, आचरण र व्यवहार तथा नैतिकता अहिलेको आवश्यकता हो । झुकेर हैन डटेर निस्वार्थ रुपले आफूलाई समर्पित गर्दै कोही कसैको प्रवाह नगरी जनताको इच्छा र आकांछालाई सर्वोपरी ठानेर समर्पित हुनु अहिलेको आवश्यकता हो । परम्परादेखि सम्हालिँदै आएको हाम्रो आफ्नै सभ्यता र चरित्रलाई जीवन्त राख्न समयले यही खोजिरहेको छ । चेतना भया ।