प्राङ्गारिक खेती चुनौतीपूर्ण
खेमराज रिजाल
दाङ, ११ चैत । कृषि ज्ञान केन्द्र दाङले चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्थानीय तहका जनप्रतिनिधि, अगुवा किसान तथा सरोकारवालाबिच प्राङ्गारिक खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यशाला मङ्गलवार घोराहीमा सम्पन्न गरेको छ । कार्यशालाका सहभागीले पूर्णप्राङ्गारिक खेती चुनौतीपूर्ण रहेको भन्दै यसलाई क्रमशः बढाउँदै लैजान सहमत भएका छन् ।
कार्यक्रममा प्रस्तुतीकरण गर्दै १० वर्षभित्र लुम्बिनी प्रदेशलाई प्राङ्गरिक खेतीका रूपमा लैजाने लुम्बिनी प्रदेश सरकारको अघिल्लो वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम यो अभ्यास प्रदेशका सबै कृषि ज्ञान केन्द्रमार्फत् सञ्चालनमा आएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । प्रकृतिलाई स्वास्थ्यसँग जोडेर गरिने खेतीको अभ्यासलाई प्राङ्गारिक खेतीका रूपमा परिभाषित गर्दै प्रमुख भण्डारीले मुनाफाको दृष्टिभन्दा पनि मानव स्वास्थ्यका दृष्टिले प्राङ्गरिक खेतीको विस्तार अपरिहार्य रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले पछिल्लो समयमा प्राङ्गारिक खेतीको महत्व सबैले बुझ्न थालेको अवस्थामा अब हरेक पालिकाले पकेट एरिया बनाएर प्राङ्गारिक खेतीको अभियान थाल्नु पर्ने बताए । तरकारी तथा फलफूल उत्पादक किसानले असन्तुलित तथा अस्वाभाविक रूपमा आवश्यकताभन्दा बढी विषादी प्रयोग गर्ने अवस्था मौलाउन थालेको भन्दै उनले प्राङ्गारिक उपजको परीक्षण गरिन प्रयोगशालाको आवश्यक रहेको भन्दै सबै पालिकाले प्राङ्गरिक उपजमा विषादीको प्रयोगलाई निरुत्साहन गर्न प्रयोगशाला सञ्चालनमा ल्याउनु पर्ने सुझाव दिएका छन् । यो अभियानमा आफूले जिल्लाका १० वटै पालिकामा समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि तथा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बेमौसमी तरकारी तथा फलफूल खेतीमा बढ्दो विषादीको प्रयोगलाई निरुत्साहन गर्न घोराही र तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘म आफैँ पनि व्यावसायिक तरकारी खेती गर्दै आएको किसान हुँ, पछिल्लो समयमा विषादीको प्रयोग बढिरहेको सन्दर्भमा अब हामीले मानव स्वास्थ्यमा बढी ध्यान दिनु पर्नेछ’, चौधरीले भने त्यसका लागि विषादीको अधिक प्रयोगलाई न्यूनीकरण गर्नुको विकल्प छैन । त्यसै अवसरमा नगर प्रमुख चौधरीले घोराही उपमहानगरपालिकाले व्यावसायिक कृषिलाई निर्भरमुखी मात्र नभएर निर्यातमुखी बनाउन उपमहानगरपालिका लागिरहेको बताए ।
यसैगरी बजारमा रहेका होटल व्यवसायीलाई समेत आग्रह गरी व्यवसायीले खाजा, नास्ता पकाउँदा प्रयोग गर्ने तेलको परीक्षण गर्नसमेत आवश्यक सामग्री उपमहानगरपालिकाले यसै वर्ष खरिद गरी बजार अनुगमनमा सञ्चालनमा ल्याइरहेको बताए । कार्यशाला गोष्ठीमा दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमाकुमारी वली खड्काले व्यावसायिक तरकारी खेती एकल रूपमा भन्दा समूहमा बढी प्रभावकारी हुने भएकाले विभिन्न समूह बनाएर महिलालाई व्यावसायिक तरकारी खेतीमा लगाएर आयआर्जनमा जोडेको बताइन् ।
आगामी वर्ष यसलाई थप बजेट र विस्तार गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् । कृषि ज्ञान केन्द्रका बरिष्ठ कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै अर्गानिक तरकारी व्यवसायी भट्टे बहुउद्देशीय कृषि फर्मका सञ्चालक कर्णबहादुर वलीले तत्कालका लागि मुनाफा नदेखिए पनि जिल्लामा अर्गानिक तरकारी उत्पादन पकेट एरिया निर्माण गर्न प्रदेश सरकार, कृषि ज्ञान केन्द्र तथा स्थानीय सरकारले किसानलाई प्रोत्साहन एवम् प्रशिक्षित गर्न आवश्यक रहेको बताए ।
पछिल्लो समयमा विशेष गरी बेमौसमी तरकारी खेतीमा विषादीको बढ्दो प्रयोगले क्यान्सरलगायत नसर्ने रोगको प्रकोप दिनदिनै बढिरहेकाले प्राङगरिक खेतीको अभ्यासलाई पुनः ब्युँझाउन आग्रह गरे । आफूले पनि विगत केही वर्षदेखि अर्गानिक तरकारी खेती गर्दै आएको उल्लेख गर्दै उपभोक्तालाई अर्गानिक भनेर प्रमाणित गर्न निकै समस्या रहेको स्मरण गरे ।
त्यसै क्रममा नेसनल भिजन एग्रो प्रालिका सञ्चालक अनन्त खड्काले कृषिलाई व्यवसायीकरण गर्न कृषि अवशेष अभियानको उत्तिकै महत्व रहेको भन्दै यसमा पनि जोडिन किसानलाई आग्रह गरे । ‘हामीले किसानले उपज लिएर अवशेषका रूपमा बचेको पराल तथा मकैको बोटलाई समेत हामीले दानाका रूपमा उपयोग गर्न सक्नेछौँ, यसमा जोडिन मैले आम समूहगत किसानलाई आग्रह गर्दछु’, व्यवसायी खड्काले भने ।
कार्यक्रममा आइपिएम प्रशिक्षक सरस्वती सुवेदीले कृषि पाठशालाको अभियान कमजोर हुँदै जाँदा किसानमा मल, बिउ र विषादीको प्रयोगबारे ज्ञान हराउँदै गएको भन्दै कृषि पाठशालालाई पुनः जागरुक बनाउन आग्रह गरिन् । कार्यक्रमको सहजीकरण कृषि ज्ञान केन्द्रका बरिष्ठ कृषि प्रसार अधिकृत आशा भण्डारीले गरेकी थिइन् ।
