अख्तियारको मुद्दा लम्बिँदा भुक्तानी रोक्का : व्यवसायी मर्कामा, प्रतिष्ठान सुरक्षित उपायको पर्खाइमा
अमरराज आचार्य
दाङ, १० चैत । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमआरआई मेसिन खरिद गरेको लामो समय भइसक्दा पनि त्यसबापतको भुक्तानी हुन सकेको छैन । एमआरआई मेसिन खरिद प्रक्रियामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेकाले त्यसको भुक्तानी प्रक्रिया रोकिएको प्रतिष्ठानले जानकारी दिएको छ ।
उता लामो समयदेखि रकम भुक्तानी नहुँदा बिक्रीकर्ता व्यवसायीले आफू मर्कामा परेको भन्दै गुनासो गरेका छन् । प्रतिष्ठानमा जोडिएको एमआरआई मेसिनको २० प्रतिशत रकम भुक्तानी पाउन बाँकी रहेको लुम्बिनी हेल्थ केयर प्रालिका व्यवस्थापक सुजल पौडेलले जानकारी दिए । प्रालि र प्रतिष्ठानबिच २०७९ भदौ ३१ गते सम्भौता भएको थियो र सो सम्झौता बमोजिम पाउनु पर्ने रकमको हालसम्म ८० प्रतिशत रकम मात्र पाएको व्यवस्थापक पौडेलले बताए ।
दुई पक्षीय सम्भौता अनुसार एमआरआई मेसिन नौ लाख ६१ हजार ५५ अमेरिकी डलरमा सम्झौता भएको थियो । हालसम्म आफूले सात लाख ६८ हजार आठ सय ४४ डलर मात्र भुक्तानी पाएको उनले बताए ।
सम्झौता अनुसार एक लाख ९२ हजार दुई सय ११ डलर भुक्तानी पाउन बाँकी छ । बाँकी भुक्तानीको लागि पटक पटक आग्रह गर्दा पनि पाउन नसकेको उनको भनाइ छ । मेसिन जडान गरेर काम पूरा गरेको ३० दिनभित्र भुक्तानी दिनु पर्ने प्रावधान भए पनि हालसम्म भुक्तानीको पूरा रकम पाउन नसकेको व्यवस्थापक पौडेल बताउँछन् ।
‘सम्झौता अनुसार काम सकेर भुक्तानीका लागि पटक पटक पत्राचार गर्दा पनि बेवास्ता गरिँदै आइएको छ’, प्रालिका व्यवस्वस्थापक पौडेलले भने । मेसिन सञ्चालन भएको लामो समयसम्म रकम भुक्तानी नहुँदा व्यवसायमा समस्यामा परेको उनले बताए । प्रतिष्ठानको आन्तरिक समस्या भए तापनि आफूसँग भएको सम्झौता अनुसार मेसिनको भुक्तानी हुनु पर्ने उनको भनाइ छ ।
‘बैंकबाट ऋण लिएर काम गर्नुपर्छ, सम्झौता अनुसार पूरा भएको कामको भुक्तानी नपाए कसरी व्यवसाय सञ्चालन गर्ने हो ?’, उनले भने । लामो समयसम्म भुक्तानी नपाउनाले व्यवसायबाट पलायन हुने अवस्था भएको उनी बताउँछन् ।
स्वास्थ्य मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार २०७८ मङ्सिर २० गते (गुणस्तर मापन तथा नियमन महाशाखा) बाट आयात अनुमति तथा २०७८ पुस ६ गते (विकास साझेदार तथा समन्वय शाखा)मार्फत् भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छुट उपलब्ध भएपश्चात एमआरआई मेसिन आयत गर्न सुरु गरिएको थियो ।
यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमआरआई मेसिन खरिदको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलिरहेकाले भुक्तानीमा समस्या भएको बताएको छ । प्रतिष्ठानका निमित्त उपकुलपतिसमेत रहेको रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमआरआई मेसिनको २० प्रतिशत रकम भुक्तानी बाँकी रहनुको कारण अख्तियारमा चलिरहेको मुद्दालाई देखाउँछन् । ‘अदालतमा मुद्दा चलिरहेकाले हामीले भुक्तानी दिन मिल्दैन’, भन्दै निमित्त उपकुलपति लम्सालले प्रतिष्ठानको समस्या बुझिदिन आग्रह गरे ।
अदालतले अनुमति दिए तत्कालै भुक्तानी हुने लम्साल बताउँछन् । ‘मुद्दा चलिरहेको अवस्थामा भुक्तानी दिँदा हामीलाई समस्या हुन्छ’, प्रा लम्सालले भने, ‘मुद्दा टुङ्गो वा अदालतले आदेश दिए हामीले तत्काल भुक्तानी दिन्छौँ ।’
सम्झौता अनुसार काम भए भुक्तानी हुनुपर्छ
दुवै पक्षबिच भएको सम्झौता अनुसार काम सम्पन्न भएमा भुक्तानी दिनुपर्ने अडिटहरू बताउँछन् । सम्झौतामा तोकिएको समयमा, तोकिए बमोजिम काम भएमा भुक्तानी दिनु पर्ने एक सिएले बताए । खरिद गर्दा खरिद ऐन, नियम अनुसार भएको भए भुक्तानी दिनु पर्ने उनको भनाइ छ ।
‘मुद्दाका कारणले दिनु पर्ने रकम रोकिन हुँदैन’, उनले भने, ‘भुक्तानी नदिनुको कारण स्पष्ट हुनुपर्छ ।’ काम समयमा नभएको, गुणस्तरयुक्त नभएको, सर्भिस नदिएको, आर्थिक कारण दिन नसकेको जस्ता कारणले हो भने रोक्न सकिने भए तापनि बिना कारण भुक्तानी रोक्न नहुने उनले बताए ।
