Goraksha

National Daily

एचआईभी रोकथामसम्बन्धी समन्वयात्मक बैठक

दाङ,९ चैत । आप्रवासी तथा उनीहरूका दम्पतीका लागि सञ्चालित एचआईभी रोकथाम कार्यक्रमअन्तर्गत सरोकारवालाबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ।

नार्गाजुन डेभलभमेन्ट कम्युनिटी दाङको आयोजना तथा नेपाल परिवार नियोजन दाङ शाखाको समन्वयमा सोमबार घोराहीमा बैठक सम्पन्न भएको हो। बैठकमा बोल्ने वक्ताहरूले परिवार नियोजनका साधनको नियमित आपूर्ति नहुँदा एचआईभी रोकथाम कार्यक्रम प्रभावित भएको बताएका थिए। उनीहरूले विशेषगरी कण्डमजस्ता अस्थायी परिवार नियोजनका साधनको अभावले जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गरेका थिए।

नार्गाजुन डेभलभमेन्ट कम्युनिटी कार्यक्रम संयोजक डिलेन्द्र मल्लले सहयोगी निकायबाट बजेट कटौती हुँदा कार्यक्रम सन्चालन गर्नदेखि एचआईभी नियन्त्रणका कार्यक्रम सञ्चालनमा कठिनाइ भएको बताए। उनले अघिल्लो आर्थिक वर्षसम्म निःशुल्क रूपमा आवश्यकताअनुसार वितरण हुँदै आएको कण्डम चालु आर्थिक वर्षमा अभाव भएको जानकारी दिए।

स्वास्थ्य कार्यालय दाङका एचआईभी रोग फोकल पर्सन कुन्दन ठाकुरको अध्यक्षतामा भएको समन्वयात्मक बैठक नेपाल परिवार नियोजन दाङ शाखा प्रवन्धक बसन्त खनालले नेपाल परिवार नियोजनले दिइरहेका सेवाका बारेमा जानकारी गराउँदै स्वास्थ्य क्षेत्रमा काम गर्ने संघसस्थाहरु सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । उनले कटौतीका कारण प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू प्रभावित भएको भन्दै नियमित आपूर्ति सुनिश्चित गर्न सरकार र सहयोगी निकायलाई आग्रह गरेका थिए।

कार्यक्रमका अन्य सहभागीले स्वास्थ्यका क्षेत्रमा काम गर्ने संघसंस्थाका बिचमा सहकार्य हुन आवश्यक रहेकोमा जोड दिएका थिए । बैठकमा प्रजनन् स्वास्थ्य तथा एचआईभी एड्ुसका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसस्थाहरुको सहभागीता रहेको थियो ।