Goraksha

National Daily

दाङमा आठ सय ७६ जना क्षयरोगका बिरामी

गोरक्ष समाचारदाता
दाङ, १० चैत । दाङमा वितेको आठ महिनामा आठ सय ७६ जना क्षयरोगका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय दाङले विश्व क्षयरोग दिवसका अवसरमा घोराहीमा आयोजना गरेको छलफल कार्यक्रममा चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म जिल्लामा आठ सय ७६ जना क्षय रोगका बिरामी भेटिएको जानकारी दिएको हो ।

जसअन्तर्गत घोराही उपमहानगरपालिकामा दुइ सय ९७ जना, तुलसीपुर उपमहानगरपालिकामा दुइ सय ६९ जना, राप्ती गाउँपालिकामा ६१ जना, लमहीनगरपालिकामा ४६ जना बिरामी भेटिएको स्वास्थ्य कार्यालय दाङका क्षयरोग फोकल पर्सन गजेन्द्र यादवले जानकारी दिएका छन् । उनका अनुसार दंगीशरण गाउँपालिकामा ३३ जना, गढवा गाउँपालिकामा ४० जना, बङ्गलाचुली गाउँपालिकामा ३४ जना, शान्तिनगर गाउँपालिकामा २९ जना, बबई गाउँपालिकामा ४५ जना र राजपुर गाउँपालिकामा २२ जना बिरामी भेटिएका हुन् । यसैगरी चालु आर्थिक वर्षको आठ महिनामा दाङमा १२ पुरुष र आठ महिला गरी २० जनाको क्षयरोगका कारण मृत्यु भएको छ ।

यसैगरी आर्थिक वर्ष २०८१÷०८२ मा क्षयरोगका कारण ३६ पुरुष र छ महिला गरी ४२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्लामा क्षयरोगको अवस्था र बच्नका लागि अपनाउनु पर्ने सावधानीबारे जानकारी गराउँदै फोकल पर्सन यादवले धुम्रपान, मध्यपान, लागु औषध सेवनकर्ता र दिर्घरोगीहरू बढी जोखिममा रहेकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

दाङका घोराही, तुलसीपुर र लमही गरी तीन स्थानमा क्षयरोगको निःशुल्क परीक्षण हुने गरेको छ भने जिल्लामा ५० स्थानबाट क्षयरोगका बिरामीलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । नियमित औषधी सेवन गरे क्षयरोग निको हुने भएकाले आफूलाई शङ्का लागेमा परीक्षण गराउने र पहिचान भएमा नियमित औषधी खान बिरामीलाई सुझाव दिएका हुन् ।

स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख मिनराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल क्षयरोग निवारण संस्थाका खिमलाल डाँगीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन भानुज्योति वलीले गरेका थिए ।