Goraksha

National Daily

‘साना तथा घरेलु उद्यम आयआर्जनको सहज उपाय’

गोरक्ष समाचारदाता
दाङ, १० चैत । युवाहरूलाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले दाङमा तीन दर्जन युवालाई विभिन्न सिप प्रदान गरिएको छ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमार्फत विभिन्न जिल्लाका युवालाई मोबाइल मर्मत तथा प्लम्बिङसम्बन्धी सिप सिकाइएको हो ।

मन्त्रालय मातहत घरेलु तथा साना उद्योग कार्यालय दाङमार्फत दाङ, रोल्पाका विभिन्न स्थानका युवालाई तीन सय ९० घण्टे तालिम प्रदान गरिएको हो । घोराहीमा सञ्चालन गरिएका दुई तालिमको समापन सोमवार गरिएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले युवालाई स्वदेशमै स्वरोजगार बनाउने लक्ष्यसहित यता विभिन्न खालका सिपमूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको भन्दै यस्ता तालिमबाट प्राप्त गरेको सिपलाई आयआर्जनसँग जोड्नु पर्ने बताए ।

‘युवालाई स्वदेशमै स्वरोजगारको वातावारण बनाउने दायित्व राज्यको हो, यही दायित्वबोध गर्दै मन्त्रालयले यस्ता खालका सिपमूलक कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको छ’, मन्त्री न्यौपानेले भने, ‘यस्ता खालका तालिम प्रमाणपत्र प्राप्तीका लागि मात्र नभई आयआर्जनका लागि उपयोग गरिनुपर्छ ।’

सिप र दक्षता भए मात्रै कुनै उद्यमसँग नागरिक जोडिन सक्ने भन्दै मन्त्री न्यौपानेले साना उद्यमबाट पनि आर्थिक लाभ लिन सकिने बताए । ‘कामलाई सानो ठुलो मान्नु हुँदैन, सिप र दक्षता हासिल गरेर साना उद्यमबाट सहज रूपमा आर्थिक लाभ लिन सकिन्छ’, मन्त्री न्यौपानेले भने, ‘यस्ता खालका सिपमूलक तालिमबाट प्राप्त सिप र दक्षतालाई उद्यमसँग जोड्नुपर्छ ।’

यसैगरी उनले मन्त्रालयले भौगोलिक वस्तुस्थितिलाई मूल्याङ्कन गरेर जिल्लागत रूपमा फरक फरक सिपमूलक कार्यक्रम तय गरेको जानकारी दिए । सिपमूलक कार्यक्रमका लागि नागरिक स्तरबाट माग हुने तर माग भएबमोजिम कार्यक्रम तय गरिँदा पनि बेवास्ता गर्ने गरिएको गुनासो उनले गरे ।

‘कुनै तालिम आवश्यकता भयो भनेर माग भएबमोजिम र आवश्यक्तालाई हेरेर कार्यक्रम तय गरिएको छ’, मन्त्री न्यौपानेले भने, ‘तर यसरी माग गरेर तय गरिएका कार्यक्रमप्रति बेवास्ता भएर केही कार्यक्रम सञ्चालन गर्न नसकिएको अवस्था छ, यसले के देखाउँछ भने सरकारले केही गरेन भनेर दोषारोपण गर्ने तर कार्यक्रम तय गरिदिँदा कार्यक्रममा सहभागिताका लागि बेवास्ता गरिनु दुखद् हो ।’

घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्माको अध्यक्षता तथा मन्त्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । सोमवार सम्पन्न भएको मोबाइल मर्मत तालिममा २० जना र प्लम्बिङ तालिममा १९ जना युवा प्रशिक्षार्थी सहभागी भएका थिए । उनीहरूले यस्ता खालका तालिमबाट सिप प्रदान भएको भन्दै सिप र दक्षतालाई उद्यमसँग जोड्ने बताएका थिए ।