Goraksha

National Daily

कृषिमा रासायनिक विषादीको बढ्दो प्रयोग

अमरराज आचार्य
दाङ, ९ चैत । दाङमा पछिल्लो समयमा रासायनिक विषादीको प्रयोग बढ्दै गएको छ । किसानहरूले जैविक विषादीको प्रयोगभन्दा रासायनिक विषादीको प्रयोग बढाउँदै गएको पाइएको छ ।

किसानले प्राविधिकको सल्लाहविनै रासायनिक विषादीको प्रयोग गर्ने गरेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जानकारी दिए । बालीमा कुनै समस्या देखापरे प्राविधिकको सल्लाह लिनुको साटो एग्रोभेटमा गएर सोझै औषधी ल्याएर प्रयोग गर्ने गरेको उनको भनाइ छ । रासायनिक विषादीको प्रयोग बढ्दै जाँदा यसले मानिस, पशुपन्छी तथा वातावरणमा समेत प्रभाव पर्ने उनी बताउँछन् ।

रासायनिक विषादीको प्रयोग गर्नु परेमा प्राविधिकले सिफारिस गरे अनुसार आवश्यक मात्रामा विषादी प्रयोग गर्ने, समय समयमा बाली निरीक्षण गरी बालीमा समस्या भए÷नभएको पत्ता लगाउने गर्नु पर्ने उनले बताए । विषादीको हरेक प्रयोग पछिको समय कुर्नु पर्ने, उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरी विषादी प्रयोग गरिसकेपछि पर्खने समय पुगेपछि मात्र बाली टिप्ने, विषादी प्रयोग गर्ना साथ खेतबारीमा प्रवेश नगर्नु राम्रो हुने प्रमुख भण्डारी बताउँछन् । उनका अनुसार विषादीले मानव स्वास्थ्य र वातावरणमा पार्ने असर भयाभह हुन्छ ।

विषादीको संसर्गमा आएपछि तत्काल छालामा एलर्जी हुने, आँखा पोल्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, शरीर शिथिल हुने जस्ता समस्या देखिन्छन् । विषादीले वातावरणको खाद्य शृङ्खला र खाद्यचक्रमा भएका जीवहरूको प्रजाति नष्ट बालीबिरुवामा परागशेचन गराउने पुतली र मौरीमा असर, वातावरणीय खाद्य शृङ्खलामा असर, भूस्खलन, माटोको बनोट र ऊर्वरा शक्तिमा असर, पानीको गुणस्तरमा असर, चराचुरुङ्गीमा असर, माछा र जलचरमा असर, प्रजनन्, वृत्ति विकास र व्यवहारमा परिवर्तनलगायतमा असर गर्ने गरेको पाइएको छ ।

विषादीबाट बच्न उपभोक्ताले तरकारी र फलफूललाई भाँडोमा डुबाएर धुनुभन्दा धारा वा बग्दो पानीमा ब्रसले कुना काप्चामा राम्ररी धोएपछि मात्र प्रयोग गर्नु राम्रो हुने उनले बताए । नुन वा खाने सोडा सफा पानीमा मिसाएर १०÷१५ मिनेट डुबाउने वा आधा कप भिनेगर, दुई कप पानीमा १०÷१५ मिनेट डुबाउने वा कागती पानीमा तरकारीलाई धोएर प्रेसर कुकरमा पकाएर खाँदा विषादीको मात्रा करिब ८० प्रतिशतसम्म घट्ने प्रमुख भण्डारी बताउँछन् ।

विषादी बिक्री गर्ने व्यवसायीले किसानलाई सचेतना दिनुपर्ने उनको भनाइ छ । ‘किसानहरू प्राविधिकसम्म पुग्नुभन्दा पहिले एग्रोभेट पुग्नुहुन्छ, त्यसैले एग्रोभेट व्यवसायीले नै विषदीबारे किसानलाई सचेत बनाउनु पर्छ’, प्रमुख भण्डारीले भने ।

एग्रोभेट व्यवसायीसँग छलफल

कृषि ज्ञान केन्द्र दाङको आयोजनामा बिउविजन तथा विषादी विक्रेतासँग छलफल गरिएको छ । कार्यक्रममा कृषि ज्ञान केन्द्र दाङका बरिष्ठ कृषि प्रसार अधिकृत आशा भण्डारीले जिल्लामा बिउविजनको आवस्था र गरिएका प्रयासबारे जानकारी गराएकी थिइन् । उनले बिउविजनको राम्रो सम्भावना रहेको भन्दै यसको सदुपयोग गर्न आग्रह गरिन् ।

जिल्लामा खाद्यान्नको बिउ उत्पादन भए पनि माग पूरा हुन नसकेको उनको भनाइ छ । उत्पादन वृद्धि भएमा बाहिरबाट ल्याउनु पर्ने बाध्यता हटने भण्डारीले बताइन् । पछिल्लो समय मकैको बिउ उत्पादन वृद्धि भएको छ । अहिले पनि यहाँको माग बाहिरबाट ल्याएर पूरा गर्ने गरिएको छ’, उनले भनिन् ।

पछिल्लो समय हाइब्रेड बिउ प्रयोग बढ्दै गएको उनले बताइन् । नेपाली राम्रा बिउ उत्पादन भए पनि त्यसको प्रयोग कम प्रयोग हुने गरेको उनी बताउँछिन् । ‘किसानलाई यसबारे जानकारी गराएर नेपाली उत्पादन बिउ प्रयोग बढाउन आवश्यक छ’, बरिष्ठ कृषि प्रसार अधिकृत भण्डारीले भनिन् ।

कार्यलयका प्रमुख भण्डारीले जीवनाशक विषादी व्यवस्थापन ऐन २०७६, जीवनाशक विषादी व्यवस्थापन निमावली २०८१ बारे जानकारी गराएका थिए । कार्यक्रममा बोल्ने वक्ताले दर्ताबिना, अनुमति नलिएर व्यापार व्यवसाय गर्ने कार्यलाइ रोकिनु पर्ने बताएका थिए । विषादीबारे सचेतना सबै क्षेत्रले सञ्चालन गर्नु पर्ने उनीहरूको भनाइ थियो । कार्यक्रममा जिल्लामा रहेका एग्रोभेट व्यवसायी, सहकारी संस्था तथा कम्पनीका प्रतिनिधिको सहभागिता रहेको थियो ।