अन्धोपन र दृष्टिदोषको समस्या लुम्बिनीमै बढी
खेमराज रिजाल
लमही, ९ चैत । मातृशिशु मृत्युदर, कुपोषणको अवस्था, सिकलसेल एनिमिया तथा बालविवाहको समस्या भयावह भएको लुम्बिनी प्रदेशमा दृष्टिदोष र अन्धोपनको समस्या पनि लुम्बिनी प्रदेशमा सबैभन्दा बढी देखिएको छ ।
मुलुकभर दृष्टिदोष र अन्धोपनको अवस्था शून्य दशमलव २८ प्रतिशत रहेकोमा लुम्बिनीमा भने यो समस्या एक दशमलव सात प्रतिशत देखिएको तथ्याङ्क नेपाल नेत्रज्योति संघले आइतवार लमहीमा सार्वजनिक गरेको छ । सेवा फाउन्डेसनको सहकार्यमा नेपाल नेत्रज्योति संघले हालै स्थलगत सर्भे गरी तयार गरेको आँखा स्वास्थ्य दीर्घकालीन रणनीतिक योजना सार्वजनिक गर्ने क्रममा संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले यो तथ्याङ्क सार्वजनिक गरे ।
करिब ५० लाख जनसङ्ख्या रहेको लुम्बिनी प्रदेशमा १३ हजार नागरिकले पूर्णरूपमा दृष्टि गुमाएका छन् । त्यसमा महिलाको सङ्ख्या बढी देखिएको छ । सामान्य दृष्टिदोष दुई लाख जनामा देखिएको छ भने १७ हजार पाँच सय जना आँखाका बिरामीको तत्काल शल्यक्रिया गर्नु पर्ने देखिएको छ ।
त्यसमा आठ हजार चार सय ७२ जना मोतियाविन्दुका कारण दृष्टिविहीन भएको निर्देशक मिश्रले सार्वजनिक गरेको रणनीतिक योजनामा रहेको छ । नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कमा अन्धोपना र दृष्टिदोषको समस्या सबैभन्दा बढी रुपन्देहीमा रहेको छ भने सबैभन्दा कम रुकुम पूर्वमा रहेको छ ।
अन्धोपन र दृष्टिदोष बढ्नुको कारण समस्यामा रहेका बिरामीलाई आवश्यकताको महसुस नहुनु, आर्थिक समस्या हुनु, पहुँचको समस्या तथा जनचेतनाको कमी रहेको प्रस्तुत रणनीतिक योजनाको तथ्याङ्कमा उल्लेख गरिएको छ । यी समस्यालाई सम्बोधन र संशोधनसहित रणनीतिक योजना सो कार्यशालामा पारित हुने बताइएको छ ।
आँखा स्वास्थ्यलाई नेपाल सरकारले एकीकृत स्वास्थ्य सेवामा समावेश गरेको अवस्थामा यो अन्धोपनालाई शून्यमा झार्न मुलुकका तीन वटै सरकार र दातृ निकायहरूको साथ र सहयोगको संघले अपेक्षा गरेको छ । कार्यशाला गोष्ठीमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका नेत्रज्योति संघका प्रतिनिधि, देउखुरी उपत्यकाका जनप्रतिनिधि तथा स्वास्थ्य शाखा प्रमुखहरूको सहभागिता रहेको छ ।
कार्यशाला गोष्ठीमा शुभकामना मन्तव्य दिँदै लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता नोदनारायण चौधरीले लुम्बिनी प्रदेशका स्वास्थ्यका सूचकहरू मुलुकमै कमजोर भएकाले प्रदेश सरकारको शिर निहुरिएको बताए । प्रशस्तै खाद्य भण्डार हुँदाहुँदै कुपोषणको समस्या लुम्बिनी प्रदेशमै बढी छ, आँखा उपचार गर्ने सबैभन्दा धेरै अस्पताल यही प्रदेशमा रहेको अवस्थामा अन्धोपनको समस्या लुम्बिनीमै बढी छ ।
‘यी सबै समस्यालाई न्यूनीकरण गर्न अब क्योरेटिभसँगै प्रिमेन्टिभतर्फ पनि सँगसँगै लागौँ, यसमा सहकार्य गर्न प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तयार छ’, प्रवक्ता चौधरीले भने । सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै आँखा अस्पताल राप्ती लमही तथा छन्द कालेबाबु नारायणी अस्पताल बहादुरगन्ज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले आँखा उपचार सेवा अस्पताल पेरिफेरीमा मात्र सीमित नराखेर स्वास्थ्यकर्मीहरू दुरदराजसम्म गएर बिरामी खोज्नु पर्ने सुझाव दिए ।
आँखा उपचार गर्ने यति धेरै अस्पताल हुँदाहुँदै अन्धोपन र दृष्टिदोषको समस्या लुम्बिनीमै बढी देखिनुलाई सबै सरोकारवाला निकायले गम्भीर समीक्षा गर्नु पर्ने उनको सुझाव थियो । शुभकामना मन्तव्यकै क्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय महासचिव भरतबहादुर चन्दले सबैभन्दा बढी सचेत नागरिक भएकै प्रदेशमा आँखा स्वास्थ्यमा भने समस्या देखिनुलाई आश्चर्य व्यक्त गर्दै दूरदराजमा रहेका नागरिकको आँखा उपचारमा लाग्न नेत्रज्योति संघ मातहतका स्वास्थ्य संस्थाहरूलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल नेत्रहीन संघका पूर्व अध्यक्ष गहनलाल चौधरीले सबथोक क्षमता भएर पनि दृष्टि फर्काउन नसकिएकालाई पुनःस्थापना र आयआर्जनको बाटो खोज्न संघलाइ आग्रह गरे । कार्यशाला गोष्ठीमा लमही नगरपालिका प्रमुख जोगराज चौधरीले तारे होटलमा आयोजना गरिने यस्ता सचेतनामूलक कार्यक्रमलाई रिमोट एरियामा लैजानु पर्ने बताए ।
‘यही नगरपालिकाका दुरदराजमा अधिकांश महिला आफ्नो समस्या भन्न सक्दैनन्, उनीहरूलाई कसरी आँखा उपचारको पहुँचमा ल्याउने ?’, नगर प्रमुख चौधरीको अपेक्षा थियो । स्थानीय सरकारका नाताले लमहीको आँखा अस्पतालको स्तरवृद्धिमा नगरपालिकाले यस अघिदेखि गर्दै आएको सहयोगलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । सो कार्यशालामा नेत्रज्योति संघद्वारा सञ्चालित विनोद निता कँडेल आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मन्जु कँडेल तथा नेपाल नेत्रज्योति संघ गुल्मीका सभापति अखिलोसप्रसाद पाण्डेले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले अन्धोपन तथा दृष्टिदोष न्यूनीकरण सबैको साझा समस्या भएकाले आँखा स्वास्थ्यको अभियानमा संघ, प्रदेश र स्थानीय सरकारले निरन्तर सहयोग गर्नु पर्ने बताए । ‘नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका अस्पतालहरू सधै दातृ निकायको सहयोगका भरमा चल्छन् भन्ने मान्यता राख्नु हुँदैन, अब अस्पतालको दीर्घकालीन सञ्चालन व्यवस्थापनमा तीनै तहका सरकारले अपनत्व लिनु पर्दछ’, प्रमुख अतिथि शर्माले भने ।
आँखा स्वास्थ्यलाई पनि नेपाल सरकारले एकीकृत स्वास्थ्य सेवाका रूपमा आधारभूत स्वास्थ्य सेवाका रूपमा राखेकाले पैसा नभएका नागरिकको पनि उपचारमा सहयोग गर्न स्थानीय सरकारसँग आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रमुख अतिथि शर्माले बताए ।
कार्यक्रमका अध्यक्ष तथा नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तले नेत्रज्योति संघले थालेको अन्धोपना निवारण अभियानमा हातेमालो गर्न सबैलाई आह्वान गरे । उनले लुम्बिनी प्रदेशमा यति धेरै आँखा अस्पताल सञ्चालन भइरहँदा पनि अन्धोपनको समस्या सबैभन्दा बढी हुनुलाई सूक्ष्म अध्ययन गरी कार्यक्रम ल्याउनु पर्नेमा सुझाव दिए । कार्यक्रमको सहजीकरण आँखा स्वास्थ्य कार्यक्रम राप्ती, छन्दकालेबाबु नारायणी अस्पताल बहादुरगन्ज तथा आँखा अस्पताल लमहीका सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।
