Goraksha

National Daily

लुम्बिनी प्रदेशस्तरीय महोत्सव : सोमवार कृषी प्रदर्शनीसँगै गायक खुमन अधिकारीको प्रस्तुति रहने

घोराही, ८ चैत । घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा दैनिक विशेष कार्यक्रम अन्तरगत सोमवार कृषी प्रदर्शनी गरिने भएको छ । महोत्सवमा विशेष आकर्षणको रुपमा कृषी प्रदर्शनी गर्ने तयारी रहेको आयोजक मूल समितिले जानकारी दिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखी चैत १५ गतेसम्म आयोजना गरिएको ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सव ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा सोमवार कृषी विशेष कार्यक्रम अन्तरगत किसानहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी गरिने महोत्सव आयोजक मूल समितिका संयोजक लव अधिकारीले जानकारी दिएका छन् । कार्यक्रम अन्तरगत माटोको उपचार शिविर, बाली उपचार शिविरसँगै कृषी प्रदर्शनी हुनेछ ।

किसानहरुको खेतबारीको माटोको गुणस्तर जाँच निशुल्क रुपमा गरिने र बालीमा लागेको रोग किराको निशुल्क रुपमा उपचार सेवा प्रदान गर्ने कृषी विशेष कार्यक्रम संयोजक सरस्वति सुवेदीले जानकारी दिएकी छिन । यसका साथै किसानले उत्पादन गरेका वस्तुहरुको पनि प्रदर्शनी गरिने छ । स्थानीय किसानहरुले उत्पादन गरेका कृषी वस्तुहरुको पनि प्रदर्शनी गरिने र कृषकहरुलाई प्रदर्शननीको आधारमा पुरस्कार प्रदान गरिने पनि सुवेदीले जानकारी दिइन ।

कृषी आधुनिकीकरण कार्यक्रम लमही र कृषी ज्ञान केन्द्रको प्राविधीक सहयोगमा कृषी विशेष कार्यक्रम आयोजना गरिएको बताए । उनले किसानहरुलाई माटो परिक्षण, बाली उपचार शिविरमा सहभागी भएर सेवा लिन र कृषी उत्पादनका सामाग्रीहरु प्रदर्शनीमा ल्याउनका लागि सम्पूर्ण किसानमा अनुरोध गरेकी छिन ।

रोजगार तथा सीप विकास, स्वास्थ्य विशेष, युवा विशेष, कृषि तथा पशुपालन विशेष, स्थानीय कला संस्कृति तथा पर्यटन विशेष, औद्योगिक विकास र स्थानीय उत्पादन विशेष, महिला उद्यमशीलता विशेष, शिक्षा तथा बालबालिका विशेष, उद्यामशीलता तथा सुचना प्रविधी विशेष, शान्ति तथा सामाजिक सद्भाव विशेष कार्यक्रमहरु सञ्चालन भईरहेको छ ।

खुमन अधिरकारी र टीका प्रसाईको प्रस्तुति
महोत्सवमा सोमवार लोकदोहोरी गायक खुमन अधिकारीको प्रस्तुति रहने भएको छ । नेपाली लोकदोहोरी क्षेत्रमा आफूलाई लोकप्रिय गायकको रुपमा स्थापीत गर्न सफल गायक अधिकारीसँगै गायिक टिका प्रसाई, गायक विष्णु सिंजालीलगायतका कलाकारको प्रस्तुति रहने नेपाल घरेलु तथा साना उद्योग महासंघका जिल्ला सचिव जगदीश भण्डारीले जानकारी दिएका छन् । महोत्सवमा आईतवार लोकदोहोरी गायिक कला लम्साल, बसन्त लम्साल, शान्तराम सेञ्चुरी, बिनोद परियार लगायतका कलाकारले प्रस्तुति राखेका थिए ।