Goraksha

National Daily

देवीपाटन यात्रा टोली यात्रा भारतको जनकपुरमा

गोरक्ष समाचारदाता
दाङ, ८ चैत । दाङको घोराही उपमहानगरपालिका १७ चौघेरास्थित गोरक्षपात्रदेवता सिद्ध रतननाथ मन्दिरबाट देवि पाटनका लागि हिडेको टोली शनिवार भारत प्रवेश गरेको छ । चैतको १ गते एकादशीका अवसरमा घोराहीको चौघेरा मन्दिरबाट सुरु भएको यात्रा शनिवार भारतको जनकपुरमा पुगेको हो ।

घोराहीबाट प्रस्थान गरेको यात्रा लमही नगरपालिका वडा नं. ६ मा रहेको गोरक्षधाम देउपुरमा ५ दिनको विश्राम पछि ६ गते शुक्रवार गढवाको कोइलाबासका लागि हिडेको थियो । कोइलाबासको मन्दिरमा एक दिनको विश्राम पछि शनिवार बिहान भारत उत्तर प्रदेश बलरामपुरको जनकपुर मन्दिरमा गोरक्ष रत्ननाथको पात्रसहितको यात्रा पुगेको छ । शनिवार र आइतवार दुई दिन जनकपुरको विश्रामपछि ९ गते सोमवार बिहान विशेष तामझाम र रथसहितको यात्रा देविपाटन प्रस्थान गर्ने कार्यक्रम रहेको रत्ननाथ देविपाटन यात्रा मुल समितिका सदस्य सचिव डा.गोविन्द आचार्यले जानकारी दिएका छन् ।

नेपाल भारतको सीमावर्ती क्षेत्र कोइलाबासबाट भारत प्रवेश गर्दा भारतीय भक्तजनले सीमावर्ती क्षेत्र कोइलाबासमा भव्य स्वागत गरेका थिए । यसैबिच चेत ९ गते सोमवार विभिन्न झाँकी रथयात्रा र तामझामसहित देविपाटन पुग्ने भक्तजनको सहजताको लागि शुक्रवार यात्रा व्यवस्थापन समिति र देविपाटनका मठाधिशबिच आवागमनमा सुरक्षा सहजताका विषयमा परामर्श भएको छ ।

छलफलमा विभिन्न गोरक्षपात्र देवता सिद्धरत्ननाथको यात्राको सिलसिलामा सांस्कृतिक कार्यक्रमसहित भारत प्रवेश गर्ने नेपाली भक्तजनलाई भारतीय सीमा क्षेत्रमा सुरक्षा चेकजाँचको सहजताको लागी अनुरोध गर्दे सुरक्षाको नाममा यात्रामा पुगेकालाई अनावश्यक भन्झट र चेकजाँचको बहानामा दुःख नदिई निर्वाध आवागमनको प्रबन्ध मिलाउन आग्रह गरिएको छ । यात्रा आयोजक समितिका सदस्य सचिव डाक्टर आचार्य, मन्दिरका सल्लाहकार हरिप्रसाद पाण्डेय र पत्रकारसहितको टोलीले देविपाटनका मठाधिश योगी मिथलेशनाथलाई भेटी यस्तो आग्रह गरेको हो ।

देविपाटनका प्रमुख योगी मिथलेशनाथले आवागमनका सम्बन्धमा कुनै सन्देश नराख्न आग्रह गरे । उनले आवश्यक सुरक्षा सहजताका लागि सीमा क्षेत्रका भारतीय सुरक्षा अधिकारीसँग कुराकानी भएको बताए । ‘नेपाल भारतबिच युगौँदेखि हुँदै आएको यात्राकोे सहजताका लागि सीमा क्षेत्रमा आवश्यक प्रवन्ध मिलाइएको छ त्यसमा कुनै असुविधा हुने छैन’ उनले भने ।

यसैबिच नेपालबाट देविपाटन पुग्ने गोरक्षपात्र देवताको स्वागतका लागि भारत उत्तर प्रदेशको जनकपुरदेखि देविपाटनसम्म पुग्ने विभिन्न सडक र चोकहरूमा स्वागतार्थ पोष्टर व्यानरहरूले सजाइएको छ । नेपालको तर्पmबाट गोरक्षपात्रदेवता सिद्धरत्ननाथको प्रतिकसहित हरेक वर्ष चैत्र पञ्चमीको दिन देविपाटन पुग्ने धार्मिक परम्परा रही आएको छ ।

वि.सं. ८०९ देखि हरेक वर्ष देविपाटन यात्राको परम्परा चल्दै आएको इतिहास छ । विभिन्न स्थानको विश्राम पछि यो वर्ष चैत्र ९ गते पञ्चमी तिथिका दिन विशेष तामझाम र रथयात्रा सहित दाङबाट प्रस्थान गरेको यात्रा देविपाटन पुग्ने छ । चैत्र ९ गतेदेखि १४ गते दशमी तिथिसम्म ६ दिन गोरक्षपात्र देवता सिद्धरत्ननाथको देवता देविपाटनमा विश्राम हुने र उक्त अवधिभर नेपालबाट गएका पुजारीले पाटेश्वरी देविको पूजा आजा गर्ने परम्परा रहेको छ ।

वि.सं. २०५२ सालसम्म पदयात्राबाटै देविपाटन पुग्ने गरिएतापनि तत्कालीन माओवादी द्वन्द्वका कारण केही वर्ष साँघुरिँदै गएको थियो भने त्यसपछि सीमित सवारीसाधनबाट यात्रा हुने गरेकोमा विगत दुई वर्षयता यो यात्राले ठुलो आकार लिएको छ । तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको पहलमा देविपाटन यात्रालाई भव्य बनाउने योजनासहित सुरु भएको यो यात्रा पछिल्लो वर्षहरूमा लुम्बिनी प्रदेश पर्यटन मन्त्रालयको सहकार्यमा यात्राले निरन्तरता पाउँदै आएको छ ।