Goraksha

National Daily

देवीकोट पर्यटकीय सम्भाव तर पूर्वाधार अभाव

लीलाधर वली
दाङ, ७ चैत । देउखुरीको विशाल राप्ती उपत्यका, उत्तरतिरको चुरे पहाड शृङ्खलामा बसेको देवीकोट । देवीकोट उक्लेपछि देखिन्छ, देउखुरी उपत्यकाको सुन्दर दृश्य । दाङको देउखुरीमा प्रदेश राजधानी रहेको राप्ती उपत्यकादेखि धौलागिरि हिमाल, जलजलालगायतका सुन्दर र रोमाञ्चक दृश्य हेर्न पुग्नै पर्ने ठाउँ हो, राप्ती गाउँपालिका–९ स्थित देवीकोट ।

देवीकोट राप्ती गाउँपालिकाको श्रीनारायण चोकबाट करिब आठ किलोमिटर उत्तर पहाडको अग्लो स्थानमा रहेको छ । समुद्री सतहबाट करिव एक हजार पाँच सय मिटर उचाई चुरे पहाडमा रहेको कच्ची सडक हुँदै पहाडको बाटो उक्लँदै देविकोट पुग्न झन्डै पौने घण्टा लाग्ने गर्छ । जब देवीकोट पुगिन्छ, उत्तरमा रहेको पहाडदेखि हिमाली दृश्य तथा दक्षिणमा देउखुरीको राप्ती उपत्यको फाँट अवलोकन गर्न सकिने स्थानीय बताउँछन् । त्यहाँदेखि देखिने मनोरम दृश्यले देविकोट पुग्दाको सबै थकान बिर्साउँछ ।

राप्ती गाउँपालिका–९ मा पर्ने देवीकोटमा देविको मन्दिर छ । यो मन्दिर हिन्दु धर्मावलम्बीको आस्था र श्रद्धाको केन्द्रका रूपमा रहेको छ । त्यति मात्र होइन, साहसिक पर्यटनका लागि देवीकोटले सम्भावना बोकेको छ । देवीकोटबाट प्याराग्लाइडिङको परीक्षण उडानसँगै निजी क्षेत्र व्यावसायिक उडानको तयारीमा रहेको स्थानीय बताउँछन् । यिनै सम्भावना हुँदाहुँदै पनि धार्मिक, ऐतिहासिक एवम् साहसिक पर्यटकीय सम्भावना बोकेको देवीकोट उपेक्षित छ । पूर्वाधारको अभाव, सडक, खानेपानी, विद्युतलगायतका समस्याले घेरिएको छ, देविकोट ।

राप्ती गाउँपालिका–९ देवीकोट निवासी वीरेन्द्र कार्कीले देवीकोटमा धेरै सम्भावना भए पनि पूर्वधार विकासमा पछि परेको बताउँछन् । ‘पहिलो कुरा त यहाँम्म पुग्ने राम्रो बाटो छैन, कच्ची बाटाले वर्षामा दुःख दिन्छ, हिउँदमा धुलोले आउन गाह्रो हुन्छ’, उनले भने, ‘राम्रो बाटो भइदिए आउन पर्यटकलाई सहज हुन्थ्यो तर अहिले आउनै समस्या छ ।’ प्रदेश राजधानीको नजिकै रहेको देवीकोट पुग्न पक्की सडकसँगै खोपानी, विद्युतलगायतका पूर्वाधार निर्माण गर्न सके देउखुरी क्षेत्रमा धार्मिक एवम् साहसिक पर्यटनका लागि राम्रो सम्भावना बन्न सक्ने उनले बताए ।

समुद्री सतहबाट करिब एक हजार ५० मिटर उचाइमा रहेको पहाडको टाकुरामा रहेको देवीकोटबाट उत्तरतिर देखिने प्राकृतिक एवम् हिमाली दृश्य अवलोकन, दक्षिणमा राप्ती उपत्यकाको विविधता हेर्न पर्यटक आउने गरेको देवीकोट निवासी ६८ वर्षीय सत्रबहादुर खत्री बताउँछन् । उनका अनुसार देवीकोटबाट मौसम सफा भएको समयमा देउखुरी उपत्यकाको मनोरम दृश्यसँगै धौलागिरि र जलजला हिमालसमेत अवलोकन गर्न सकिन्छ । यसैगरी चिसो मौसममा तुवाँलोले ढाकेको मनोरम र आकर्षक उपत्यकासमेत हेर्न सकिने बताउँछन् ।

राम्रो सडक नहुँदा सबैभन्दा समस्या परिरहेको उनी बताउँछन् । देवीकोटको विकासका लागि सबैभन्दा पहिले राम्रो सडक चाहिएको भन्दै खत्री भन्छन, ‘राम्रो बाटो नहुँदासम्म देवीकोटको विकास हुन सक्दैन । कालोपत्रे सडकसँगै देवीकोट क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्न सकियो भने देवीकोटको राम्रो सम्भावना छ ।’ देवीकोटमा बडादसैँ र चैतेदसैँमा विशेष पूजा हुने गर्दछ । उक्त समयमा मानिसको भिड लाग्ने गरे पनि खराब सडकका कारण अन्य समयमा मानिस कम आउने गरेको स्थानीय बताउँछन् ।

देविकोटको यही सम्भावनालाई उजागर गर्न गत हप्ता राप्ती गाउँपालिकाले देविकोटसम्मको म्याराथन आयोजना गरेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट बताउँछन् । उनका अनुसार गाउँपालिकाले नवौँ स्थापना दिवसका अवसरमा आठ किलोमिटरको ‘क्रसकन्ट्री देवीकोट दर्शन दौड’ नाम दिएर प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा देशैभरबाट करिब तीन सय १८ जना धाकव सहभागी भएका थिए ।

राप्ती गाउँपालिका अध्यक्ष विष्टका अनुसार एड्भेन्चर टुरिजमका लागि देवीकोटलाई विकास गर्न खोजेको बताए । उनले देवीकोटमा छिट्टै व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन गर्न लागिएको बताए । त्यसका लागि देवीकोटसम्मको पक्की सडक निर्माणको काम अघि बढाइने विष्टले बताए । ‘धार्मिकसँगै एड्भेन्चर टुरिजमका लागि देविकोट धेरै सम्भावना बोकेको ठाउँ हो’, उनले भने । उनले यही सम्भावनालाई प्राथमिकतामा राखेर योजना बनाइरहेको बताए । ‘सिङ्गो राप्ती उपत्यकालाई जल, जमिन र आकाशसँग जोडेर पर्यटनको विकासका योजना अघि बढाइरहेका छौँ’, उनले भने, ‘पूर्वाधार विकासका लागि प्रदेश सरकारसँग सहयोग मागेका छौं ।’

स्थानीय जनविश्वास तथा पौराणिक कथा अनुसार भगवान् शिवले आफ्नी पत्नी सतीदेवीको मृत शरीर काँधमा बोकेर संसार परिक्रमा गर्ने क्रममा सतीदेवीको देब्रे गोडा पतन भएको स्थल देवीकोट रहेको मानिन्छ । यही कारणले यो स्थानलाई शक्तिपीठका रूपमा पनि लिइन्छ । वषौँंदेखि यहाँ भक्तजनले देवीको पूजाआराधना गर्दै आएका छन् । विशेष गरी दसैँ, नवरात्र र विभिन्न पर्वका अवसरमा देवीकोटमा पूजापाठसँगै दर्शन गर्न भक्तजन पुग्ने गर्छन् ।