Goraksha

National Daily

स्कुटी भनेर हेपेको कि महिला चालक भनेर गिज्याएको ?

 

पार्वती बस्नेत

नारायणपुरबाट घोराहीतर्फ आउँदै थिए, वर्षौँदेखि बन्छ भनेर अलपत्र परेको बाटो अहिले भने द्रुतगतिमा बन्न थालेको रहेछ, देखेर खुसी लाग्यो । बन्दै गरेको बाटो न हो, वरपर खनेर भताभुङ्ग हुने नै भयो, साईडमा कुलोहरूमा डाईभर्सन बनाइएको छ, बाटो धुलोले देखिन्न तर पनि त्यो सानो पिचमा यी टिप्पर, बस र अटोलाई कत्ति हतार हो ओभरटेक गर्नै पर्ने ।

मसँग भएको त्यही एउटा स्कुटी न हो, स्कुटी आफ्नै गतिमा कुदिरहेको बेला पछाडिबाट टिप्पर र बसले अनावश्यक हर्न बजाएको छ, बजाएको छ, एक मनले त सोच्यो, स्कुटी रोकेर बस र टिप्परका ड्राईभरहरूको गाला नै बजाउ जस्तो पनि मनमा आयो तर सोचे स्कुटीलाई सानो साधन भनेर हेपेका होलान् ? कि महिला भनेर हेपेर अनावश्यक हर्न बजाएको हुन् ? अहिले बाटो बन्न थालेको समयमा मैले भर्खरै यो समस्या भोगेको हुँदा लेख्न थालेको हुँ, यो पीडा मलाई मात्रै भएको होकि ? म जस्ता अन्य महिलाहरूले पनि भोग्नु भएको छ ? यस्तो पीडा त मैले आजभन्दा ५ वर्ष अगाडिबाट हुनुपर्छ कटुवाखोला वरपर खाडल थिए, ती खाडलमा भरिएको पानी ओभरटेक गरेर आएको टिप्परले म स्कुटीमा सवार व्यक्तिको शरीरभरी पोखिएको पीडादायक क्षणको पनि याद गरायो ।

महिलाहरूले कहाँँ–कहाँ हिंसा सहेर बस्नु पर्ने हो ? शिक्षित, सभ्य हुँदै बदलिँदै गएको समाजमा महिलाहरूले भोग्ने हिसांका प्रकारहरू पनि सभ्य तरिकाले बदलिँदै आएका छन् । हामी मान्छे उही हौँ, यो समाज उही नै हो तर प्रविधिले मानिसलाई केही सचेत बनाउँदै गएको छ भने चेतनाकोस्तर पनि वृद्धि हँुदै गएको छ, अनि यो तहमा महिला हिँसा त घट्नु पर्ने हो तर समयसँगै हिसांका प्रकारहरू पनि परिस्कृत हुँदै पो गएका छन् ।

हिजका दिनमा पाइन्ट लगाउँदा समेत महिलाहरू समाजका लागि चासोका विषय हुन्थे आजभोलि महिलाहरूको पहुँच हरेक क्षेत्रमा पुगेको छ, आत्मनिर्भर छन्, सिप सिकेका छन्, स्वरोजगार भएर आफ्नो जीवन बिन्दास तरिकाले चलाएका प्रशस्त महिला पात्रहरू पनि यही समाजमा छन् तर समयसँगै हरेक क्षेत्रको पहुँचमा पुगे पनि महिलाहरूले सोही ठाँउमा रहँदा केही न केही हिँसा त भोगि नै रहेका छन् ।

कुनै समय थियो, साधन चलाउन नजान्ने महिलाहरूले साथीभाइसँग सहयोग मागेर बाईकमा चढ्दा पनि गसिपको पात्र भइन्थ्यो तर आजभोलि त प्लेन नै महिलाहरूले उडाइरहेका छन् र पनि महिलाले हिंसा त भोग्नै पर्ने ? अरूको मलाई थाहा भएन तर सडकमा आफ्नो साईडमा स्कुटी कुदाइरहँदा पछाडिबाट अनावश्यक हर्न बजाइदिनु, ओभरटेक गर्दा पनि सात्तो जाने गरी स्कुटीमै छुन्छ कि गरी कुदाउनु, हिलो पानी छ्याप्ने गरी गाडी कुदाउनु यो त सरासर मेरो लागि महिला भनेर हेपेर, महिला माथि गरिएको हिंसा नै भएको अनुभूति गरेको छु ।

अब यसलाई रोकथाम गर्नका लागि ठाँउ–ठाँउमा चेकिङ्ग राख्नै प¥यो, चेकिङ्ग गर्दा महिला प्रहरी अनिवार्य हुनुप¥यो, अनि यी टिप्पर, बस र अटोका चालकज्युहरूलाई सकारात्मक कुरा र महिला हिंसा गरेपछि लाग्ने कानुनका बुँदाबारे पनि जानकारी गराइदिनु प¥यो । यत्ति कुरा भयो भने केही सुधार हुन्छ कि ?