Goraksha

National Daily

सामुदायिक क्याम्पस राज्यका सम्पत्ति हुन् : उपकुलपति अर्याल

गोरक्ष समाचारदाता

तुलसीपुर, ७ चैत । तुलसीपुरमा अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलन सुरु भएको छ । दाङको शैक्षिकस्तरलाई अनुसन्धानमुखी बनाउन राप्ती बबई क्याम्पस तुलसीपुरले दुईदिने अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन शुक्रवारदेखि राप्ती बबई क्याम्पसमा सुरु गरेको हो ।

सम्मेलनको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले सामुदायिक क्याम्पस राज्यका सम्पत्ति भएको बताए । उनले सामुदायिक क्याम्पसलाई राज्य तहबाट विशेष तरिकाले सम्बोधन गर्नु पर्ने बताए । ‘देशभर सञ्चालन भएका सामुदायिक क्याम्पस राज्यका सम्पत्ति हुन्, सामुदायिक क्याम्पसहरूको संरक्षण र उत्थान गर्नु सिङ्गो समुदाय र राज्यकै जिम्मेवारी हो’, प्राडा अर्यालले भने । उनले राप्ती बबई क्याम्पसले क्युएए सर्टिफिकेट प्राप्त गरिरहेकाले यसलाई नवीकरण गर्न यस सम्मेलनले थप मद्दत पु¥याउने बताए ।

यसैगरी विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले उच्च शिक्षाका लागि विद्यार्थीहरू बाहिर जाने परम्परा अन्त्य गर्न स्वदेशमै गुणस्तरीय शिक्षाको विकास गर्नु पर्ने बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीको अध्यक्षतामा सुरु भएको सम्मेलनमा महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख डा नारायण पन्थी, लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख प्राडा ताराप्रसाद उपाध्याय, ज्ञानज्योति फाउन्डेसनका सिइयो सुरेन्द्र जिसी, गोरखा माविका प्राचार्य विजय जिएम, सम्मेलन आयोजक समितिका संयोजक डा प्रेम योगीलगायतले भनाइ राखेका थिए ।

क्याम्पस प्रमुख गणेश पार्धेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रचारप्रसार समितिका सदस्य सहायक प्राध्यापक चमन धितालले गरेका थिए । राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्धेले दाङ र आसपास अनुसन्धानको क्षेत्रमा ठुलो उपलब्धि हुन नसकिरहेको अवस्थामा क्याम्पसले आयोजना गरेको अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन फलदायी हुने बताए । सम्मेलनमा विभिन्न ठाउँका अनुसन्धानकर्ता, अमेरिकाको क्यालिफोर्निया स्टेट विश्वविद्यालय र भारतका प्रतिष्ठित प्राज्ञिक वक्ताको सहभागिता रहेको छ ।

अनुसन्धानमूलक सम्मेलनले आगामी दिनमा अनुसन्धानको क्षेत्रमा थप टेवा पु¥याउने विश्वास व्यक्त गरिएको छ । शिक्षा, विज्ञान र प्रविधि, नेपाली र अङ्ग्रेजी भाषालगायतका क्षेत्रको अनुसन्धान हुने सम्मेलनमा विद्यालयमा पढाइरहेका शिक्षक, समाजका प्रमुख व्यक्ति, स्नातकोत्तर गरिरहेका विद्यार्थी सहभागी हुनेछन् ।