दंगीशरणको २०औँ गाउँसभा
प्रमोद आचार्य
दाङ, ७ चैत । दंगीशरण गाउँपालिकाको २० औँ गाउँसभा शुक्रवार सम्पन्न भएको छ । गाउँसभाले विभिन्न समितिका प्रगति प्रतिवेदन, बजेट संशोधन तथा रकमान्तरणसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । सभाध्यक्ष शम्भु गिरीले प्रस्तुत गरेको कार्यसूची अनुसार उपाध्यक्ष पिमाकुमारी वली खड्काले बजेट संशोधन तथा रकमान्तरण प्रस्ताव पेस गरेकी थिइन् ।
लेखासमितिका संयोजक रेशमबहादुर वलीले लेखासमितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विधायन, न्यायिक तथा राजस्व परामर्श समितिको प्रगति प्रतिवेदन उपाध्यक्ष वली खड्काले नै प्रस्तुत गरेकी थिइन् । सुशासन समितिका संयोजक सितारा नेपालीले सुशासन समितिको प्रतिवेदन पेस गरेकी थिइन् । सामाजिक विकास समितिका संयोजक रोशनजंग शाह, आर्थिक विकास समितिका संयोजक सुकलाल चौधरी र पूर्वाधार विकास समितिका संयोजक रमेश भण्डारीले आआफ्नो समितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन मिना चौधरीले पेस गरेकी थिइन् ।
प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म भएका कार्यपालिका बैठकका निर्णय अनुमोदनका लागि प्रस्ताव पेस गरेका थिए । आयव्यय अनुमोदन प्रस्ताव पनि गाउँसभाबाट पारित भएको छ । गाउँपालिकाको लोगो (प्रतीक चिह्न) अनुमोदन प्रस्ताव भने संशोधनसहित आगामी गाउँसभामा पेस गर्ने निर्णय गरिएको छ । सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८२÷०८३ को फागुन मसान्तसम्म गाउँपालिकाको कूल आम्दानी २८ करोड ४० लाख ६७ हजार दुई सय ९८ रुपैयाँ ११ पैसा पुगेको छ ।
खर्चतर्फ चालु खर्च १३ करोड ४९ लाख ५५ हजार चार सय ९६ रुपैयाँ ३८ पैसा अर्थात् ४९ दशमलव २४ प्रतिशत र पुँजीगत खर्च एक करोड २७ लाख १५ हजार तीन सय ६९ रुपैयाँ ८६ पैसा अर्थात् ३२ दशमलव ६६ प्रतिशत रहेको छ । कूल खर्च १४ करोड ७६ लाख ७० हजार आठ सय ६६ रुपैयाँ २४ पैसा पुगेको गाउँपालिकाले जनाएको छ ।
