Goraksha

National Daily

प्रेरणाको विन्दु : मेरो नामको गुब्बारा

तुफानबाबु श्रेष्ठ

सेमिनार हल असाध्यै शान्त थियो । करिब पचासजना सहभागीहरू आ–आफ्नै सोचमा डुबिरहेका थिए, मानौँ सबैले केही गम्भीर कुरा सुन्दै छन् । तर, अचानक वक्ता बिचमै रोकिए । उनको अनुहारमा एउटा अनौठो, रहस्यमय मुस्कान देखियो, जसले सबैको ध्यान एकैचोटि तान्यो । कसैले बुझ्न सकेन– अब के हुन गइरहेको छ ? ‘सबैले एउटा–एउटा गुब्बारा लिनुहोस्, र त्यसमा आफ्नो नाम लेख्नुहोस्,’ उनले शान्त तर स्पष्ट स्वरमा भने ।

केहीबेरमै रंगीन गुब्बाराहरूमा विभिन्न नामहरू चम्किन थाले । वातावरण सामान्य देखिए पनि सबैको मनमा एउटा कौतुहल बढ्दै थियो । त्यसपछि ती सबै गुब्बाराहरू अर्को कोठामा लगेर राखिए । अब त झन् सबैलाई लाग्न थाल्यो– यो साधारण अभ्यास होइन, यसमा केही न केही रहस्य लुकेको छ । अचानक अर्को निर्देशन आयो– ‘अब तपाईंहरू सबैले पाँच मिनेटभित्र आफ्नो नाम भएको गुब्बारा खोजेर ल्याउनुहोस् ।’

यत्ति सुन्नासाथ सबैजना हतार–हतार कोठाभित्र पसे । अनि त्यहाँ सुरु भयो एक प्रकारको अराजक दृश्य । कोही कुर्सीमुनि झुकेको थियो, कोही छतमा पुगेका गुब्बारा समात्न उफ्रिरहेको थियो, त कोही एक–अर्कासँग ठोक्किँदै आफ्नो गुब्बारा खोज्दै थियो । प्रत्येक हातमा गुब्बारा त पथ्र्यो, तर त्यो आफ्नै नामको भने हुन्थेन । समय बित्दै गयो, हतार बढ्दै गयो, तर सफलता भने कसैको हात लागेन ।

अन्ततः पाँच मिनेट सकियो । सबैजना थकित र निराश अनुहार लिएर बाहिर आए । कसैको हातमा आफ्नै नामको गुब्बारा थिएन । आँखामा असफलताको झल्को थियो, र मनमा प्रश्नहरू मात्र । वक्ता फेरि मुस्कुराए– तर यस पटक त्यो मुस्कान अझै गहिरो र अर्थपूर्ण थियो । उनले फेरि भने– ‘अब फेरि प्रयास गरौँ, तर यस पटक नियम फरक छ । जसको नाम भएको गुब्बारा भेट्नुहुन्छ, त्यो व्यक्तिलाई दिनुहोस् ।’

सबैजना फेरि कोठाभित्र पसे तर यस पटक दृश्य पूरै बदलिएको थियो । हतार थिएन, होहल्ला थिएन, न त कुनै ठोक्किनु नै । प्रत्येक व्यक्तिले एउटा गुब्बारा उठायो, त्यसमा लेखिएको नाम पढ्यो, र त्यो व्यक्तिलाई खोज्दै शान्त रूपमा हातमा दियो । केही क्षणमै गुब्बाराहरू सही व्यक्तिसम्म पुग्न थाले । अचम्मको कुरा के भने, केवल तीन मिनेटमै सबैजना आ–आफ्नो नामको गुब्बारा लिएर बाहिर निस्किए । अनुहारमा मुस्कान थियो, तर त्यो मुस्कान केवल सफलता होइन– एक गहिरो अनुभूतिको सङ्केत पनि थियो ।

वक्ताले गम्भीर स्वरमा सबैलाई सम्बोधन गर्दै भने– ‘ठीक यही कुरा हाम्रो जीवनमा पनि भइरहेको छ । हामी सबै आफ्नै खुसी खोज्दै पागलझैँ दौडिरहेका छौँ तर जति खोजे पनि त्यो भेटिँदैन, किनकि हामीले कहिल्यै अरूलाई कसरी खुसी दिन सकिन्छ भन्ने सोचेनौँ ।’ हल एक्कासि मौन भयो । उनका शब्दहरू सबैको मनमा गहिरो गरी बसिरहेका थिए । उनले फेरि थपे– ‘जब तपाईँ अरूको हातमा उनीहरूको खुसी दिन थाल्नुहुन्छ, त्यही क्षण तपाईंको खुसी आफैँ तपाईंको हातमा आइपुग्छ ।’

त्यो दिन सहभागीहरूले केवल एउटा सामान्य खेल खेलेका थिएनन्, उनीहरूले जीवनको एउटा गहिरो सत्य अनुभव गरेका थिए– खुसी खोज्ने वस्तु होइन, बाँड्ने अनुभूति रहेछ । जबसम्म मानिस आफ्नो मात्र चाहना र सुखको पछि दौडिरहन्छ, तबसम्म ऊ कहिल्यै सन्तुष्ट हुन सक्दैन । तर, जति नै अरूको अनुहारमा मुस्कान ल्याउने प्रयास गरिन्छ, त्यति नै आफ्नै मनमा शान्ति र आनन्द भरिँदै जान्छ ।

जीवनको वास्तविक सुन्दरता प्रतिस्पर्धामा होइन, सहकार्यमा लुकेको हुन्छ, केवल पाउने इच्छामा होइन, दिने क्षमतामा प्रकट हुन्छ । अरूको हात समातेर अघि बढ्दा मात्र यात्रा अर्थपूर्ण बन्छ । त्यो दिनको सानो अभ्यासले सबैलाई सम्झायो– हामी एक्लै खुसी हुन सक्दैनौँ, खुसी त तब पूर्ण हुन्छ जब त्यो बाँडिन्छ । वास्तवमा, अरूको जीवन उज्यालो बनाउने प्रयास नै आफ्नै जीवन उज्यालो बनाउने सबैभन्दा सजिलो र साँचो बाटो हो ।