Goraksha

National Daily

विपुलको पुकार ‘हे भगवान’

देवेन्द्र बस्नेत

दाङ,६ चैत । पत्रकारीतासंगै साहित्य लेखनको भोक उस्तै । समाचार सम्पादकीयको भूमिका अलावा साहित्य मार्फत अन्तरमनका भाव व्यक्त गर्ने विपुलले घरी कवितामार्फत अव्यक्त भाव पोख्थे त घरी गीतमार्फत मनभित्रका ‘अन्तरकुन्तर’ खोल्थे ।

पत्रकारीताको यात्रा उकालिँदै गयो । पत्रकारीता क्षेत्रमा बर्षौँ देखिको उनको लगानी, परिश्रम र उँचो क्षेमताले विपुललाई नेपालको सिंगो पत्रकारीता क्षेत्रको नेतृत्व तहमा पुर्यायो अर्थात नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा आसिन बने उनि । पत्रकारीताको यात्राले उकालो बाटो तय गर्यो, साहित्य लेखनको यात्रा सुस्तायो, विस्तारै रोकियो ।

पत्रकारमहासंघको अध्यक्षको कार्यकाल पुरा गरेर फेरी सम्पादकीय भूमिकामा फर्किएका दाङका विपुल पोख्रेलले साहित्य लेखनको फेरोलाई पुनः जोडे । उसैगरि गीत, कविता, गजल लेखन मात्रै हैन, अभिनयको भूमिकासंग पनि आफूलाई परिक्षण गरिसकेका छन् । पत्रकारमहासंघको कार्यकाल पुरा गरेपश्चात दाङकै अर्का पत्रकार देवेन्द्र बस्नेतसंग उनि गीती सहकार्यमा जोडिए । बरिष्ठ संगितकार सन्तोष श्रेष्ठलाई आफ्‌नो गीत शब्दमा ‘लय’ हाल्ने जिम्मेवारी दिएका सन्तोषले विपुलको ‘बोल, मन खोल‘’ शब्दमा लय हाले, अनि पत्रकार देवेन्द्रले त्यहि लयमा स्वर भरे ।

विपुलको सांगितिक मोह यतिमै मेटिएन, बरु संगित प्रतिको हुटहुटी ब्यग्र बन्दै गयो । उनिद्धारा रचित झण्डै दुइ दशक अघिको गीतको भिडियो निर्माणमा उनि जुटे । माधव चौधरीले स्वर भरेको ‘ओदानोमा भाँडो बस्यो, चुल्हो बल्या छैन’ बोलको गीतमा उनि अभिभावकीय भूमिकामा छायांकन भए । लेखनलाई सर्वोपरी ठान्छन् उनि । गीत, गजल मात्रै हैन, राजनीतिक तथा सामाजिक बिश्लेषण सहितका गहन लेख उनको लेखनीका थप महत्वपूर्ण चिनारी वा परिचय हुन् । लामो समय देखि यस्ता बिश्लेषणमा कलम चलाउँदै आएका विपुलले आफ्‌ना लेखहरुको संग्रह समेत तयार पारे । विभिन्न सञ्चार माध्यममा प्रकाशित लेखहरुको संग्रह ‘संकल्पन’ केहि दिन अघि मात्रै काठमाडौँमा बिमोचन भयो । नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले विपुलको संकल्पनलाई विमोचन गरे ।

गीत, गजल, कविता संगै बिश्लेषण लेखनमा आफूलाई समर्पित बनाइरहेका विपुलले फेरी अर्को सांगितिक सृजना सार्वजनिक गरेका छन् । मूलतः आधुनिक गीत लेखनमा विपुल अभ्यस्त छन्, यस्ता गीत लेखनमा उनको रुची बढि देखिन्छ । तर यसपटक भने उनले भजन गीत सार्वजनिक गरेका छन् । मान्छे हरेक दुखमा भगवानको शरणमा पर्छ । दुखबाट मुक्ती खोज्ने मान्छेले भगवानसंग पुकार गर्छ । विपुलले यहाँनेर भगवान प्रति प्रश्न गर्छन् ‘हे भगवान तिमि शंकट मोचक बन्छौ र रु’ दुख पर्दा भगवानसंगको अपेक्षासहित दुख टारी दिनका लागि पुकार गरिएको भाव उतारेका विपुलको यो भजनमा संगितकार शरद सागरले संगित भरेका छन् ।

शरद लामो समय देखि संगितकर्ममा रहेका अब्बल संगितकार हुन् । गजल, आधुनिक गीतमा संगीत भर्न अब्बल संगितकार उनि अब्बल गायक समत हुन् । शास्त्रीय संगित अध्ययनमा लामो समय विताएका शरदले शास्त्रीय गायनमा समेत उत्तिकै दख्खल राख्छन् ।

विपुलको शब्द र शरद सागरको संगितमा रहेको यो भजनमा दाङका गायक शरद समिपले आवाज भरेका छन् । जिल्लामा रहेर लामो समय देखि संगित क्षेत्रमा सकृय शरद समिप आधुनिक गायक हुन् । ‘तिम्रो मायाँ मुटु रेट्ने खुकुरीको धार रैछ,’ बोल लगाएतका उनका गीतहरुलाई स्रोताहरुले रुचाएका छन् । शरद सागरको संगित,शरद समिपको स्वरमा रहेको यो भजन गीतकार विपुलले आफ्‌नो युट्युव च्यानल मार्फत दुइ दिन सार्वजनिक गरेका हुन् ।