Goraksha

National Daily

नयाँ शक्तिको उदय : आक्रोश कि रूपान्तरण

भुवन पोख्रेल

परिवर्तनको यो लहरसँगै मुलुकको जिम्मेवारी युवाहरुको काँधमा आएको छ । निर्वाचनको परिणाम अनुमानभन्दा फरक आएको छ । अहिले देश नै रास्वपामय भएको छ । पुराना राजनीति दल प्रतिको वितृष्णा र निराशाको प्रतिशोध मतपेटीकामा नागरिकले रास्वपालाई घण्टीमा छाप लगाएर व्यक्त गरेका छन् । जनताले परिवर्तनको खातिर मत परिवर्तन गरेका छन् । यो परिवर्तनको लहरमा कतिपय अवाच्छित व्यक्ति पनि विजयी भएका छन् । कतिपय जित्नै पर्ने व्यक्तिले पनि हारेका छन् ।

नागरिकले युवाशक्ति बालेन र रवि प्रति देशको अभिभारा सुम्पेका छन् । जनताको भरोसा र विश्वासलाई रास्वपाले काँधमा लिएर अघि बढ्ने बेला आएको छ । जनआंक्षालाई सम्बोधन गर्न नसक्ने हो भने जनताले पटक–पटक विश्वास गर्दैनन् । पुराना पार्टीहरु वितृष्णा र जेन–जी आन्दोलनको जगबाट रास्वपाको लहर आएको हो । लोकतन्त्रमा जनमतलाई नै सवेत्तिम मानिन्छ । परिवर्तनको लहरले रवि र बालेनलाई केवल सत्तामा मात्र पु¥याएको छैन जिम्मेवारीको भारी पनि बोकाएको छ ।

जनमुखी, पारदर्शी, उत्तरदायी सरकार र शासन प्रणाली स्थापना गरी मुलुकलाई विकास र समृद्धिको यात्रामा अघि बढाउनु पर्ने देखिन्छ । जने–जी विद्रोह पछि २४ गते जलेका सिंहदबार, सर्वोच्च अदालत संसद भवन लगायतका प्रशासनिक भवनहरुको पुननिर्माण गर्नु पनि सरकारको दायित्व भित्र पर्दछ । देशको अर्थतन्त्र जर्जर छ यसलाई लयमा फर्काएर मुलुकमा वैदेशिक लगानी आकषिृत गर्न नयाँ बन्ने सरकार जागरुक भई अघि बढ्नु पर्छ ।

नयाँ बन्ने सरकारले जेन–जी आन्दोलनमा मारिएका कलिला बालबालिकाको हत्यारालाई कारबाहीका प्रक्रिया अगाडि बढाउनु पर्दछ । हालसम्म सत्ताको आँडमा भएका भ्रष्टाचारका दोषिहरुलाई कारबाही गर्नुपर्दछ । वर्षौदेखि नेपाली जनताले भोग्दै आएको नातावाद, कृपावाद, अराजकता र अन्यायलाई हटाउँदै जनमुखी र पारदर्शी सरकार बन्न सक्नुपर्दछ ।

विशेष परिस्थितिमा सम्पन्न भएको चुनावको निष्पक्षता, धाधलीरहित र स्वच्छ ढंगले अगाडि बढाएर नयाँ सरकारलाई अभिभारा सुम्पिन सफल भएको प्रधानमन्त्री सुशीला कार्कीको खुबीको यत्रतत्र चर्चा भएको । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले वृद्ध अवस्थामा कडा मेहनत गर्नुप¥यो । केही मन्त्रीहरु बिचैमा मन्त्री पदबाट राजिनामा दिएर चुनाव लड्न गए । जति बचेका मन्त्री थिए यिनकै साथ र सहयोगमा प्रधानमन्त्री सुशीला कार्की तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न सफल भइन । निष्पक्ष र धाधली रहित ढंगले चुनाव सम्पन्न गरेकी प्रधानमन्त्री बधाईकि पात्र बनिरहेकी छिन् ।

विषम परिस्थितिमा मुलुकको बागडोर सम्हाल्न पुगेकी सुशीला कार्कीले चुनाव शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न गर्न सफल भई विजय यात्राको इतिहास रचेकी छन् । जनताले अहिलेको निर्वाचनको समयमा मतपत्रमार्फत् आफ्नो परिवर्तनको चाह व्यक्त गरेका छन् । जनताले बढडो उत्साह र उमंगका साथ परिवर्तनको घण्टी बजाएका छन् । अहिलेको चुनावको परिणामले मुलुकको राजनीतिक परिदृश्यलाई पुरै बदलिएको छ । नेपालमा प्रजातन्त्रको जग बसाल्ने नेपाली कांग्रेसको गौरवशाली इतिहास नै जोगाउन मुस्किल पर्ने गरी कांग्रेसलाई जनतालाई खुम्चाए ।

कांग्रेस जनताबाट सधैका लागि टाढिएको होइन केही समय जनताले कांग्रेसलाई पनि प्रतिपक्षमा बसेर जनताको तर्फबाट सरकारलाई खबरदारी गर्ने म्यान्डेड दिएका हुन् । सत्ता, पद र कुर्सी मोहका कारण कांग्रेसले आफूलाई जनताको नजरबाट ओझेल पारेको मात्र हो । जनताले गरेको अपार माया र विश्वास तथा भरोसा तोड्नको परिणाम कांग्रेसले भोग्नु परेको छ । पार्टीको जनमत खुम्चिएका कारण इमान्दार नेता तथा कार्यकर्ता निराश बन्न पुगेका छन् ।

कांग्रेस शीर्ष नेतृत्वमा देखिएको अहंकारले पार्टीको साख गिरेको हो । असामान्य परिस्थितिमा हुन लागेको चुनावको घोषणापछि महाधिवेशन गर्ने विन्दुमा सहमति खोजिएको भएर पार्टीभित्र आन्तरिम कलह नभएको भए कांग्रेसले यति ठुलो क्षति वा अपमान व्यहोर्नु पर्ने थिएन । सरकार प्रमुखका रुपमा केपी ओलीलाई समर्थन दिनु कांग्रेसको दुर्दशाको सुरुवात हो । कांग्रेसले कहिले माओवादीसँग कहिले एमालेसँग सत्ता साझेदारवारी पटक–पटक सरकारमा जाने लालसा देखाउनु नै कांग्रेस पतनको कारक हो । सत्ता हाँक्न आफू मात्र समर्थ रहेको धारणामा लिप्त कांग्रेसका पुराना र नयाँ नेताहरुको अनावश्यक अहंकार र सैद्धान्तिक विचलनले विपरित राजनीतिक ध्रुवका पार्टीसँग सिद्धान्त विपरितको गठबन्धनले पार्टीको साखमा धमिरा लाग्यो ।

सत्ता सुखको पछि लागेर पार्टी विचार र सिद्धान्तविहीन हुँदा वर्तमान परिस्थिति कांग्रेसले भोग्नु परेको छ । पार्टी विपक्षीसँग प्रतिस्पर्धा गर्नुको साटो कांग्रेसका नेताहरु आफै पार्टीभित्र प्रतिस्पर्धा गर्न थाले पार्टी संगठन र सुदृढीकरणतर्फ खासै ध्यान दिन सकेनन् । गगन थापाले पार्टीलाई सुद्दिकरण गर्न विशेष महाधिवेशन बोलाएर बदलियो कांग्रेस बदल्छौँ देश भन्दै चुनावी मैदानमा कांग्रेस सभापति गगनलाई मान्दै कांग्रेस होमियो । पार्टी भित्रैबाटै गगन नेतृत्वको कांग्रेसलाई बचाउनु पर्छ भन्ने चिन्ता कसैलाई भएन बरु चुनावको मुखमा किन विशेष महाधिवेशन आछान गर्नु परेको थियो भन्दै उल्टै गगनको टाउँकोमा दोषपरोपण गरियो । कांग्रेसजना आँखा देश बढ्दै गएको वेथिति, भ्रष्टाचार र अराजकतामा परेको छैन र नागरिकका अभाव र समस्यालाई पनि कांग्रेस मौन भइदियो । जन–जनमा र मन–मनमा कांग्रेस पुग्न सकेन । जनताले पटक–पटक कांग्रेसलाई जिताएर पठाए अभाव र गरिबीमा पिल्सिएका ग्रामीणस्तरका नागरिकलाई केवल भोट बैंकको रुपमा कांग्रेसले हेर्दा वर्तमान दुर्गती व्यहोर्नु परेको हो । जनताबिच पुराना राजनीतिक दलहरुमा विश्वासको संकट देखियो ।

जेन–जी विद्रोह पछि युवा पुस्ताले राजनीतिमा हस्तक्षेपाकारी भूमिका खोज्यो जसको परिणाम स्वरुप रास्वपाले बहुमत प्राप्त गरेको छ र जनचाहना बमोजिम बोलन नेतृत्वको सरकार बन्दै छ । अहिले संसदमा अधिकांश नयाँ अनुहार देखिने छन् । लामो समयमा नेपालको संसद सत्ता चलखेलको केन्द्र भयो । संसदहरु भत्ता पचाउन र हाजिर गर्नका लागि मात्रै संसद जाने स्थिति देखियो । संसदहरु न कानुन बनाउने विषयमा चासो दिएको देखियो न जनचासोका विषय मल, खानेपानी, शिक्षा, स्वास्थ्य, बाटोघाटो, यातायात, पुलपुलेसा जस्ता विषयमा गम्भीर बहस नै गरेका े देखियो ।

संसद त केवल गणितीय खेल गर्ने सत्ता लुछाचुडीको रणभूमि बन्यो । यसबाट वाक्क दिक्क भएर नै जनताले यसपालि मत परिवर्तन गरी युवालाई जिताएका छन् । यस पटक प्रत्यक्ष निर्वाचनबाटै निर्वाचित सांसदको उमेर समूहमा आएको व्यापक फेरबहदलले संसदलाई बहुआयामिक बनाउने अपेक्षा गर्न सकिन्छ । संसद अब युवा जोस र परिपक्वताको साझा थलो बन्नु पर्दछ । नागरिकमा सांसद भनेको नागरिकको आवाज प्रतिनिधित्व गर्ने शक्तिशाली अंग हो भन्ने विश्वास र भरोसा नदिलाउन सक्नुपर्छ । संसद जनता र सरकारबिचको बलियो पुल बन्न सक्यो भने यसको प्रभावकारिता बढ्ने छ ।

नयाँ पुस्तासँग जनताले नयाँ आशा र नयाँ कार्यशैलीको अपेक्षा गरेका छन् । नयाँ दलहरुको उदयले परिवर्तनको आशा जगाए पनि ती आशा दीर्घकालीन परिणाममा रुपान्तरण गर्न नीति, क्षमता र पारदर्शीता अनिवार्य छ । बहुमतले शक्ति दिन्छ तर स्थायित्वको ग्यारेन्टी दिँदैन । पछिल्लो समयमा जनताले रास्वापालाई अत्यधिक मत दिएर विश्वास गरेको छ । जनता र देशलाई केन्द्रमा राखेर रास्वापाले सरकार चलाउन सक्नुपर्छ । नेपालमा नयाँ दलको उदय प्रायः आशाको लहरबाट हुन्छ तर त्यो लहर टिकाउने क्षमता परीक्षाको विषय बन्छ । त्यसर्थ नयाँ बन्ने सरकार सुशासन र जनपक्षीय काममा खरो ढंगले उत्रनु पर्दछ ।

राजनीति केवल आदर्श र नाराले चल्दैन । नेपाली समाजमा पुराना दलप्रति असन्तुष्टि तीव्र बढेको छ । भ्रष्टाचार, बेरोजगारी, विदेश पलायन, सुस्त प्रशासन र राजनीतिक अस्थिरताले जनतामा गहिरो निराशा पैदा गरेका छन् । यही असन्तुष्टिले नयाँ राजनीतिक विकल्पको रुपमा रास्वपाको उदय सम्भव भएको हो । मनस्थितिको स्पष्ट संकेत पनि हो । पुराना दलहरुबाट निराश जनताले नयाँ अनुहारहरुलाई परिवर्तनको प्रतिक ठानेर भोठ दिएका छन् । यी अनुहारले देश र जनताका पक्षमा खरो भई अघि बढ्न सकेनन् भने जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान चरित्रार्थ हुन्छ ।

रास्वपाले प्राप्त जनादेशलाई सुशासन, अािर्थक सुधार र समावेशी विकासमा रुपान्तरण गर्न सकियो भने यो नेपालको राजनीतिक, आर्थिक भविष्यका लागि नयाँ अध्याय बन्न सक्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अब नीतिगत सुधार, पारदर्शी शासन र दीर्घकालीन विकासका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने चुनौती पाएको छ । सही नीति, सक्षम नेतृत्व र निजी क्षेत्रसँगको सहकार्यले मात्र जनअपेक्षा पूरा गर्दै नेपालको आर्थिक तथा राजनीतिक भविष्यलाई नयाँ दिशा दिनसक्छ ।

अहिलेको जनादेशलाई हेर्दा नागरिकले अब केवल राजनीतिक परिवर्तन होइन शासनशैली, विकासको गति र आर्थिक अवसरमा पनि वास्तविक सुधारको अनुभूति गर्न चाहेका छन् । नेपाली जनताको अपेक्षा भनेको देशमा सुशासन स्थापना होस्, पारदर्शीता र जवाफदेहिता सुदृढ होस् र युवाहरु रोजगारीका लागि विदेश जान बाध्य नहुन् र आगामी पाँच वर्षसम्म स्थिर सरकारमार्फत् दीर्घकालीन विकासका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुने विश्वास नागरिकले गरेका छन् ।

नेपालमा नयाँ पुस्ताको राजनीतिक चेतना र बालेन शाह जस्ता नेतृत्वप्रति देखिएको समर्थनले नयाँ राजनीतिक संस्कृतिको खोजीलाई उजागर गरेको छ । तर, नयाँ नेपाल निर्माणको आधार कुनै एक व्यक्तिको लोकप्रियतामा होइन, सुदृढ प्रणाली र संस्थाहरुको विकासमा हुनुपर्दछ । फागुन २१ को निर्वाचनले नेपाली समाजमा चेतनाको वृद्धि, प्राविधिक विकास र युवापुस्ताको वर्चस्वसँगै परिवर्तनका लागि प्रलोभन, धाकधम्की र हिंसा आवश्यक छैन भन्ने सन्देश दिएको छ । जनताको सुशासन र समृद्धिको आकांक्षालाई सम्बोधन गर्दै नयाँ सरकारले सुधार र विकासका चाहना तथा जटिल अन्तर्राष्ट्रिय परिस्थितिबिच सकारात्मक परिणाम दिनु पर्ने अपेक्षा गरिएको छ ।

नयाँ निर्वाचित सरकारलाई कुटनीतिक सन्तुलन, विकेन्द्रित आर्थिक विकास, निजी क्षेत्रको मनोबल अभिवृद्धि, सुशासन, अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार जस्ता बहुआयामिक चुनौतीहरु भने नभएको होइनन् । वि.सं. २०१५ सालको आम चुनावमा नेपाली कांग्रेसले ल्याएको दुई तिहाई बहुमत पछि नेपालमा एउटै राजनीतिक दलले यत्रो ठुलो बहुमत ल्याएको यो पहिलो पटक हो । यो चुनावमा पटक–पटकको सरकार परिवर्तन र सत्तामा जान जुनसुकै हत्कण्डा अपनाउने प्रवृति विरुद्ध पनि नागरिकले ब्यालेटमा मतपत्रमार्फत् आक्रोश व्यक्त गरेका छन् ।

आगामी पाँच वर्ष नयाँ बन्ने सरकारको मात्र नभई नागरिक चेतना र सहभागिताको पनि परीक्षा हो । मतदानपछि नागरिक मौन होइन, नयाँ बन्ने सरकारलाई खबरदायी गर्नुपर्दछ । आफ्नो क्षेत्रको संसदलाई प्रश्न, खबरदारी र सतर्क बनाई आफ्ना वाचापत्र पूरा गरे नगरेको सवाल र बहस नागरिकले बारम्बार उठाउनु पर्दछ । सरकार बन्नु एक प्रक्रिया हो जसमा चुनिएर गएका सांसदको अंग गणितले भर पर्छ तर ती जनप्रतिनिधिलाई प्रश्न गरेर उत्तरदायित्व सुनिश्चित गर्नु आजको समयमा ठुलो लोकतान्त्रिक संस्कार हो ।

यो निर्वाचनले जेन–जी विद्रोहका आवाजलाई सम्मान गरेको छ । रास्वपालाई मुलुकको मुहार फेर्ने एक ऐतिहासिक अवसर दिएको छ । भ्रष्टाचार मुक्त र सुशासन युक्त देश बनाउने जनादेश प्राप्त गरेको छ । दण्डहीनतालाई जरैबाट उखेल्ने जनादेश दिएको छ । सानालाई ऐन ठुलालाई चैन भन्ने वेथिति अन्त्य गरी विभेद रहित समाजको परिकल्पना गरेको छ । संसदमा पाएको भारी मतभार थेग्न रास्वपालाई गम्भीर चुनौती पनि उत्तिकै छ तर विगतका पुराना पार्टीहरुबाट भएका गल्ती कमजोरीबाट पाठ सिकेर रास्वपाले आफूलाई देश निर्माणको नयाँ गतिमा नलैजाला भन्न पनि सकिँदैन ।

रास्वपामा बालेन र रवि बिचको जुन सम्झौता बनेको छ त्यो कायम गर्न नसक्ने हो भने पार्टी अन्तर कलहमा नफस्ला भन्न सकिँदैन त्यसर्थ चुुनावको मुखमा बालेन्द्रलाई रास्वपामा नल्याएको भए पार्टीको लोकप्रियता यसरी ह्वातै बढ्ने पनि थिएन र यति भारी बहुमतले रास्वपा अगाडि आउने पनि थिएन । काठमाडौँका पूर्वमेयर बालेन्द्र शाहसँगको सात बुँदे सहमति पछि मात्र रास्वपामा राजनीतिक तरंग आएको हो । भ्रष्टाचारको दाग नलागेका र मधेसका छोरा पहिचान बोका उनलाई प्रधानमन्त्री बनाउने घोषणाले घण्टी चिन्हप्रति जनआकर्षण बढेको हो ।

जनताले आफ्नो क्षेत्रको सांसद कस्तो छ सोधखोज नगरी सिधै मतपत्रमा घण्टी र बालेन प्रधानमन्त्री भन्दै छाप लगाए । यसको ज्वलन्त उदाहरण धनुषा वमा निर्वाचन आयोगले रास्वपाका किशोरी शाहको उम्मेदवारी खारेज गरे पनि सबैभन्दा बढी मत पाउनु हो । सामाजिक सञ्जालमार्फत् पनि बालेन र रविको क्रेज बढेको हो ।

सरकारको विश्वसनीयताको जग बलियो बनाएर जनतालाई सुशासन प्रत्याभूति दिलाउन बालेन सरकार कठोर भएर लाग्नुपर्छ । यति बेलैमा बालेनले सुझबुझ सहित युगान्तकारी परिवर्तनमा खुट्टा कमाए भने यही सामाजिक सञ्जालको झुण्ड उनीप्रति खनिन्छ । नागरिकले पुराना दल तथा नेतालाई बढारेका छन्, नयाँ शक्तिलाई दुई तिहाई नाजिक पु¥याएका छन् । अत्यधिक बहुमत पाएपछि जनताको आकांक्षा पूरा गर्ने दायित्व रवि र बालेनको काँधमा पुगेको छ । अब नयाँ दलले पुराना दलले गरेका गल्ती नदोह¥याउनु ।