Goraksha

National Daily

‘न्याय सम्पादनमा न्यायालय चुक्न हुँदैन’

गोरक्ष समाचारदाता
दाङ, ४ चैत । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले न्याय सम्पादनमा न्यायालय चुक्न नहुने बताएका छन् । भदौ २४ को जेन–जी आन्दोलनका क्रममा दाङ जिल्ला अदालतलाई आगलागी र तोडफोड गर्नबाट बचाउन भूमिका खेल्ने प्रहरी हवल्दार सङ्गीता अधिकारीलाई सम्मान तथा अदालतको निरीक्षणका क्रममा मङ्गलवार घोराही आएका प्रधान न्यायाधीश राउतले निष्पक्ष न्याय सम्पादनको काममा न्यायाधीश र कर्मचारी जिम्मेवार हुन जरुरी रहेको बताएका हुन् ।

त्यसका लागि पुरानो सोच र चिन्तनलाई छोडे निष्पक्ष र प्रभावकारी न्याय सम्पादनमा लाग्न जोड दिएका थिए । सेवाग्राहीलाई हिजोको भन्दा फरक तरिकाले व्यवहार गर्ने बेला आएको भन्दै प्रधान न्यायाधीश राउतले भने, ‘हिजोको दिनमा केही कमजोरी भएका रहेछन् भने पनि अब सुधार्दै अघि बढ्नुपर्छ । हिजोभन्दा अझ राम्रो काम गर्ने बेला आएको छ । हामीले आफैँभित्र निर्मम समीक्षा गर्दै अघि बढ्नुपर्छ ।’

समाजमा असल मानिस पनि छन् भन्ने सन्देश दिने गरी काम गर्न प्रधान न्यायाधीश राउतले न्यायाधीश र कर्मचारीलाई आग्रह गरेका थिए । ‘हिजोको अभ्यासलाई मात्र निरन्तरता दिने होइन, त्यसमा देखिएका कमजोरी सच्याउँदै नयाँ सोचका साथ अघि बढ्नु पर्ने समय आएको छ’, उनले भने । सेवा ग्रहण गर्ने नागरिकको अपेक्षा र बदलिँदो परिवेश अनुसार न्याय सम्पादन प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउनु पर्ने उनको जोड थियो ।

अदालतप्रतिको विश्वास बढाउन न्याय सम्पादनमा निष्पक्षता र प्रभावकारिता जरुरी रहेको बताए । न्यायालयले परम्परागत ढाँचाभन्दा फरक ढङ्गले सेवा प्रवाह गर्नु पर्ने आवश्यकता रहेको भन्दै भने, ‘हिजोको अभ्यासलाई मात्र निरन्तरता दिने होइन, त्यसमा देखिएका कमजोरी सच्याउँदै नयाँ सोचका साथ अघि बढ्नु पर्ने समय आएको छ ।’ उनले सेवा ग्रहण गर्ने नागरिकको अपेक्षा र बदलिँदो परिवेश अनुसार न्याय सम्पादन प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउनु पर्नेमा जोड दिए ।

प्रहरी हवल्दार अधिकारीलाई सम्मान

यसैबिच जेन–जी आन्दोलनका क्रममा दाङ जिल्ला अदालतलाई क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रहरी हवल्दार सङ्गीता अधिकारीलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रधान न्यायाधीश राउतले प्रहरी हवल्दार अधिकारीलाई नगद २५ हजार रुपैयाँसहित प्रशंसापत्रले सम्मान गरेका थिए ।

सामाजिक सञ्जालमार्फत् अधिकारीको योगदानबारे जानकारी पाएपछि प्रत्यक्ष भेटेर सम्मान गर्ने इच्छा पूरा भएको भन्दै प्रधान न्यायाधीश राउतले न्यायालयप्रति जनताको आस्था र विश्वास जोगाइराख्न सबै पक्षले जिम्मेवार भूमिका आवश्यक रहेको बताएका थिए ।

प्रधान न्यायाधीश राउतले अधिकारीले कठिन परिस्थितिमा पनि उच्च जिम्मेवारीबोधका साथ कर्तव्य निर्वाह गरेको बताए । उनले अधिकारीको साहस, कर्तव्यनिष्ठ र व्यावसायिक प्रतिबद्धताको प्रशंसा गरेका थिए । आन्दोलन जस्तो जटिल अवस्थामा पनि अदालतको सुरक्षा सुनिश्चितता गर्न सफल हुनु आफैँमा उदाहरणीय कार्य भएको उल्लेख गर्दै यस्ता कर्मले न्यायालयप्रतिको विश्वास अझ बलियो बनाउने उनको भनाइ छ ।

आन्दोलनको संवेदनशील अवस्थाका बिच उनले अदालतलाई सुरक्षित राख्न निर्णायक भूमिका खेलेको उल्लेख गर्दै उनले राज्यका संवेदनशील संरचनाको रक्षा गर्नु सबैको साझा दायित्व भएको धारणा व्यक्त गरे । उनका अनुसार अदालत केवल भवन मात्र नभई न्यायको मन्दिर र जनविश्वासको केन्द्र हो ।

भदौ २३ र २४ को आन्दोलनका क्रममा देशभरका २३ वटा अदालतमा क्षति पुगेको भन्दै क्षतिग्रस्त संरचनाको पुनःस्थापना गरेर न्याय सेवा दिने काम भइरहेको बताएका थिए । त्यसक्रममा उनले दाङ जिल्ला अदालत घोराहीसँगै उच्च अदालत तुलसीपुरको समेत निरीक्षण गरेका थिए । न्यायाधीश प्रकाशप्रसाद पण्डितको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अदालतका श्रेस्तेदार भुपाल भण्डारीले गरेका थिए ।