मातृभूमि हाम्री आमा हुन् यिनको सुरक्षा हाम्रो जिम्मेवारी हो
नारायणप्रसाद श्रेष्ठ
शान्त र विशाल प्रकृतिको काखमा रहेको हाम्रो लौकिक संसार वास्तवमै सुन्दरताले भरिपूर्ण भएर रहेको छ । प्राकृतिक स्रोत साधनले सुसम्पन्न भई विशिष्ट पहिचान बोकेर मानव जीवनको गतिशीलतामा अहम भूमिका खेलेको हाम्रो मातृभूमिको बेग्लै अस्तित्व र पहिचान रहेको छ ।
पौराणिक सत्यभित्र रचिएको इतिहासको पानालाई पल्टाएर हेर्ने हो भने यो साँच्चिकै मन्दिरै मन्दिरको सहर, इतिहास र संस्कृति बोकेको सहर, प्रकृतिले वरदान दिएको सहरको रुपमा गणना गरिन्छ । यो एक घर मात्र होइन, सबैको मन्दिर पनि हो । यही मन्दिरले मानव धर्मलाई पाप र पुण्यको साँक्षी भएर यो अवस्थासम्म जीवन्त राखेको छ । यही घर स्वर्ग पनि हो र नरक पनि बनिरहेको छ ।
मानव जीवनको इतिहाससँगै उत्पत्ति हुने र नष्ट हुने प्रक्रियामा रहेको यो सुन्दर शान्त विशाल हृदय भएर रहेको हाम्रो घर मातृभूमि सबैको लागि बरदान सावित भएको छ । मानवीय आचरण र व्यवहारले तथा सोचको भिन्नताले यही भूमि पुण्य आत्माको मन्दिर तथा पाप आत्माको आशय पनि रहेको देखिन्छ ।
तसर्थ मन्दिर स्वरूप रहेको प्राकृतिक छटाले ओतप्रोत हिम श्रृङ्खलाले भरिपूर्ण सुन्दर शान्त र ममता बोकेको हाम्रो मातृभूमिलाई सजाउनु अहिले सबैको जिम्मेवारी रहेको छ । व्यवहारमा नम्रता र बोलीमा मधुरता झल्काई आफूले सवैलाई पहिचान गराउनु परेको छ । राम्रो होइन हाम्रो बनाउनु छ ।
मानिस विविधतामा एकता भएर बाँचेको प्राणी हो । ऊ चेतनशील पनि छ । विविधतामा एकता कायम गर्ने क्षमता उसभित्र प्रशस्त छ । एकतामा बाचेर पनि उसमा विचारको भिन्नताले काम कर्तव्य र अधिकारको बारेमा विविधता छ । प्रत्येक व्यक्ति समाजको हेराइमा र काम गर्ने तरिकामा फरकपन छ । तर, पनि मातृभूमिप्रतिको जिम्मेवारी सबैको लागि अनिवार्य मानिन्छ ।
सम्मान, प्रेम र सद्भाव मानव जीवनको स्वाभाविक जीवनचर्याभित्र पर्दछ । मानिस असहायको सहाय र बालापनको अभिभावक पनि हो । कार्य र व्यवहारमा फरक देखाए पनि उसको कर्म र सेवामा एकरुपता छ । उसको उद्देश्य सेवा र समर्पण हो । ऊ अरुलाई सहयोग गर्न पनि जान्दछ । र सहयोगी बनेर अरुबाट सहयोग लिन पनि जान्दछ । प्रेम र सद्भाव दर्साउनु मानवीय आदर्शता पनि हो ।
मित्र र मित्रता कायम गरी बाच र बचाउको मान्यता बोकी एकअर्काप्रति सद्भाव बाट्नु, प्रेम र प्रेमिका बनेर मित्रताको कसिलो डोरी बाँध्नु उसको जिम्मेवारी पनि हो । प्रेरणाको स्रोत बनेर प्रकृतिको रसश्वादन गर्दै जीवनलाई निस्चित गतिमा पु¥याउनु उसको जिम्मेवारी पनि मानिन्छ । जड तत्वमा रहेर पनि कर्मद्वारा आदर्शता प्रदर्शन गर्न सक्नु उसको विशेषता नै हो ।
ईश्वरको स्वरुप सरी रहेको मानवीय अन्तर्दृष्टिलाई बुझ्ने हो भने मानिस स्वयम्, यो धर्ती, यो आकासको साच्चिकै पुजनीय छ । कुन मन्दिरमा जान्छौँ यात्री कुन मन्दिरमा जाने हो भनी लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको शब्दलाई सापटी लिएर भन्ने हो भने सिङ्गो मानव जीवन नै ईश्वरको बरदान पनि हो ।
ऊ जहाँ रहन्छ बस्छ त्यो पवित्र मन्दिर पनि हो । तसर्थ आफूले आफैंलाई हेरी स्वर्गसरी आफ्नो मातृभूमि र घरलाई सम्हालेर मातृभूमिप्रतिको जिम्मेवारी बहन गर्नु सबैको दायित्व पनि हो । प्राचिन ऋषिमुनिले त्याग र तपस्याले सिङ्गारेको पुण्यभूमि, जसलाई स्वर्गको परीको रुपमा चित्रण गरिएको हुन्छ, त्यस्तो पुन्यभूमि जहाँ प्रत्येक पुन्य आत्माको बास छ त्यो भूमि धमिलिँदा कसको मन दुख्दैन, तसर्थ समय मै यसको गरिमालाई उच्च राख्न सबै गम्भीर हुन जरुरी छ । विदेशबाट आउने पाहुनाहरुको लागि यो क्षेत्र साच्चिकै सुन्दर भएको कुरा सर्वविदितै छ ।
मातृभूमि र हाम्रो घर हामी जहाँ बस्छौँ यो मन्दिर बनाउने वा नबनाउने कस्तो बनाउने कुन संस्कार विकास गरेर यो भूमिको पुण्यतालाई कायम गर्ने यो हाम्रै विवेकमा निर्भर रहेको पाइन्छ । जबसम्म हामी हाम्रो घर समाजलाई परिस्कृत गर्न सक्दैनौँ तबसम्म हाम्रो अस्तित्व विश्व सामु परिचित हुन सक्दैन । तसर्थ यसको लागि आफ्नो बानी व्यहोरा विचार र चालचलनलाई शुद्ध बनाई हाम्रो घर पवित्र मन्दिर हो भन्ने भावना सबैतिर जागृत गर्न सक्नु पर्दछ ।
भनिन्छ जहाँ सरस्वतीको बास हुन्छ त्यहाँ लक्ष्मी आफै आउँछिन् । सरस्वतीले जसरी जीवन र जगतको कल्याणका खातिर आफूलाई सर्वज्ञानी बनाउँछिन् त्यसरी नै प्रत्येक व्यक्तिले आफूलाई सर्वज्ञानी वनाउन सक्नुपर्दछ । प्रत्येक व्यक्तिले आफूलाई पवित्रताको बोध हुने आचरण गरी स्वयम्लाई सिद्ध गर्न सक्नुपर्दछ । सृष्टिको सर्वोत्कृष्ट रचनामा परेको हाम्रो अस्तित्वलाई गुण र संस्कारको माध्यम पवित्र बनाउनु पर्दछ । तब मात्र मातृभूमिले खोजेको ममता भेटिन्छ ।
तसर्थ यसतर्फ अहिलेको वर्तमान केन्द्रित हुन जरुरी छ । स्वर्गश्वरी घरलाई अपवित्र हुनबाट बचाउन हाम्रो चालचलन बानी व्यहोरामा सुधार गरी आशक्तिमा होइन सेवामा समर्पण रहने प्रतिज्ञा अहिलेको वर्तमानले खोजेको सतय पनि हो । त्यसैले घर टोल छिमेकमा आपसी मेल भाइचारा र सकारात्मक विश्वासको वातावरण बनाउनका लागि अब प्रत्येकले आफू स्वयम्लाई जागृत गर्नुपरेको छ ।
वर्तमान नै भविष्यको आधार हुन्छ भन्दै हाम्रो घर परिवार समाज र राष्ट्रलाई स्वयम् मन्दिर हो भन्ने भावनाको विकास गरी बाह्य आवरणमा सजाइएको मोह रुपी जालोलाई हटाउन सबै कटिबद्ध हुनुपरेको छ । भौतिक विलासितामा होइन यथार्थ सत्यको धरातलमा रही एकले अर्काको भावनालाई उच्च सम्मान दिँदै राष्ट्र हाम्रो धरोहर हो ।
जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी भनेर यसको पवित्रतालाई मन्दिरको रुपमा पूजा गर्ने भावना सबैमा जगाउन जरुरी छ । विचारमा निखारपन ल्याई हाम्रो घर हाम्रो पवित्र मन्दिर हो भन्ने भावना विकास गर्न जरुरी छ ।
वर्तमानमा हाम्रो आचरण र व्यवहारमा देखिएको विविधतालाई हेर्ने हो भने अहिले कताकता धमिलोपन देखा परेको छ । आफ्नो घरभन्दा पराईको घरलाई पवित्र ठान्ने मानसिकता यत्रतत्र देखिन थालेको छ । पद र प्रतिष्ठाको राजनीतिले मातृभूमि प्रतिको जिम्मेवारी कमजोर देखिने वातावरण बनेको आभाश देखा पर्दै छ । विचारको भिन्नताले आपसी विश्वास कमजोर छ ।
मै खाउ मै लाउ मै मोजमजा गरु भन्ने सोचको कारण जन्मभूमि प्रतिको जिम्मेवारी कमजोर देखिने अवस्थाले जनमानस दिग्भ्र्मित छ । म मेरो जिम्मेवारी केवल मपाइ भई राष्ट्र र राष्ट्रियताप्रति खासै चासो छैन, केवल कसरी आफ्नो स्वार्थ पूरा गर्नेतर्फ मात्र राजनैतिक सोच बढेको देखिन्छ । यस्तो अवस्थामा आफ्नो पवित्र मन्दिर कसरी सम्मानित हुन सक्ला ? गम्भीर चिन्ताको विषय बनेको छ । मानिस ठूलो दिलले हुन्छ जातले हँुदैन भनी देवकोटाले त्यसै भनेका रहेनछन् ।
राष्ट्र र राष्ट्रियता हाम्रो जननी हुन् हामी यिनकै सन्तान हौँ । यिनको संरक्षण र सम्वर्धन गर्दै विश्व रंगमञ्चमा नेपालको स्वाभिमान उच्च बनाउने संकल्प अहिलेको वर्तमानको खाँचो थियो । दुई छाक खानको लागि अरुको सहारा लिनु पर्ने बाध्यता हटाई सामाजिक आर्थिक तथा सांस्कृतिक विकास गरी योग्यता र क्षमताको आधारमा लाग्नु पर्ने वर्तमानको खाँचो थियो सदियौदेखि कायम भएको नेपालको गौरवमय इतिहासमा अहिले अर्को पाना थपिसक्नु पर्ने हो ।
अहिले राष्ट्रिय विकासमा प्रत्येक नेपालीको पौरख र पसिनाले सिंचित भई नयाँ नेपालको इतिहास कायम हुनु पर्ने समय हो । विदेशी मरभूमिको ४५ डिग्री तापमा सेकिएर बिहान बेलुकाको खाना, नाना र छाना बनाउन बाध्य नेपाली पौरख आफ्नै मातृभूमिमा पसिना बगाइ यस धर्तीको समुन्नतीमा जुट्नु पर्ने बेला हो तर सदियौँदेखि यसरी नै आशा र भरोसामा बसेका नेपाली मनमा नेतृत्वदायी भूमिकाले निर्वाह गरेको जिम्मेवारीले न त राष्ट्रप्रति जिम्मेवारी बोध हुने अवस्था सिर्जना ग¥यो न त मातृभूमि प्रतिको जिम्मेवारीमा गम्भीर बन्ने वातावरण नै बन्न बनायो ।
अहिले राष्ट्र र राष्ट्रियतालाई पराइ भूमिको सल्हा र सुझाव अनुसार ऋणको भारी बोकाइ सुनको थालीमा भिच्छा माग्ने परिस्थिति जन्माइएको छ । निहित स्वार्थपूर्तिको लागि राष्ट्रियता कमजोर बनाइँदै छ । मातृभुमि प्रतिको जिम्मेवारीभन्दा पराइ संस्कृति र धर्मप्रति विश्वास बढाउन अनर्थक प्रयास गरिदैँछ । तसर्थ हामी यति भन्छौँ दुध बढी उम्लियो भने आगोमा पर्छ यो सत्य सावित भएको देखिएको छ ।
त्यसैले सबैले बुझाँै, आफ्नो घर आँगन मातृभूमि हामी आफैले सिँगारौँ । बाह्य आवरणमा राम्रो र वाहवाह होइन सुन्दर शान्त विशाल हृदय भरी सजिएको हाम्रो बगैँचा हाम्रो बनाऔँ । समयले यही खोजिरहेछ । चेतना भया ।
