प्रिया स्मृती गजमेर
देउखुरी,४ चैत । लमहीमा ग्यास र पेट्रोल पम्पको अनुगमन गरिएको छ । इलाका प्रशासन कार्यालय लमही र लमही नगरपालिकाको संयुक्त पहलमा मङ्गलवार लमही क्षेत्रमा ग्यास उद्योग तथा पेट्रोल पम्पहरूको अनुगमन गरिएको हो ।
पछिल्लो समय बजारमा ग्यास तथा पेट्रोलियम पदार्थको अभाव बढेपछि वास्तविक अवस्था बुझ्न अनुगमन गरिएको हो । इलाका प्रशासन कार्यालय लमहीका प्रमुख शोभाराम रिजालका अनुसार अनुगमनका क्रममा बजारमा ग्यास तथा पेट्रोलियम पदार्थको अभाव देखिएको छैन ।
‘उपभोक्ताले आधा ग्यास भए पनि निरन्तर प्राप्त गरिरहेको अवस्था छ, पेट्रोल पम्पमा पनि सहज रूपमा इन्धन उपलब्ध भएको प्रत्यक्ष देखियो’, उनले भने । लमही नगरपालिका–८ स्थित राप्ती ग्यास उद्योगमा पनि निरीक्षण गरिएको थियो । उद्योगका प्रतिनिधिका अनुसार दैनिक दुई हजार पाँच सयदेखि दुई हजार आठ सयसम्म ग्यास सिलिन्डर बजारमा आपूर्ति भइरहेको कम्पनीले जानकारी दिएको छ ।
उक्त ग्यास दाङ, बाँके, बर्दिया, कैलाली, प्युठान र अर्घाखाँचीसम्म वितरण हुने गरेको जानकारी दिइएको छ । हाल बजारमा सात दशमलव एक किलो ग्यास सिलिन्डर उपभोक्ताले पाउने गरेका छन् । कम्पनीले प्रतिउपभोक्ता नौ सय २९ रुपैयाँ ४४ पैसामा बिक्री गर्दै आएको ग्यास डिलरमार्फत् नौ सय ५५ रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको छ ।
यसैगरी लमहीका श्रीराम डिजेल, प्रतिष्ठा आयल स्टोर, हुहिभा आयल स्टोर, छम्पाली डिजल, चन्द्र विनायक सप्लायर्स र न्यु श्रेष्ठ किराना पसलमा समेत अनुगमन गरिएको थियो । हाल दाङको बजारमा पेट्रोल प्रतिलिटर एक सय ७१ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर एक सय ५१ रुपैयाँमा बिक्री भइरहेको छ । लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख शिवराज न्यौपानेले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कडा कारबाही गरिने बताए । अनुगमन टोलीमा इलाका प्रशासन कार्यालयका प्रमुख शोभाराम रिजाल, लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख शिवराज न्यौपाने, वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरीक्षक डम्बर बुढाथोकी तथा पत्रकारलगायतको सहभागिता रहेको थियो ।